जसले जे भने नि हुने ?

जसले जे भने नि हुने ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ४ गते नक्कली शरणार्थी प्रकरणबारे अहिलेसम्म बाहिर नआएका गोप्य तथ्य खोल्ने बताउनुभएको छ । उहाँले झण्डै पाँच सय जना यसअघि नै राष्ट्रसंघ, अमेरिका,नेपाल, भुटानलगायत सम्बन्धित मुलुकको सहमतिमा सम्पन्न शरणार्थी व्यवस्थापनक्रममा नक्कली शरणार्थी बनेर अमेरिकातिर गैसकेको जानकारी गराउने उल्लेख गर्नुभएको छ । 

उहाँको भनाइ छ, ‘कसको पालामा,कसले र कहिले,कति जनालाई गैरकानुनी ढंगले अमेरिका पुर्यायो त्यसबारे जानकारी गराउनेछु ।’ दुई पटक मुलुकको प्रधानमन्त्री बनिसक्नुभएका र प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारीमा रहेका नेताले दिएको उक्त जानकारीले अन्तर्राष्ट्रिय समुदायसमेत तरंगित भएको छ । 

यसवीच भूतपूर्व गृहमन्त्री, गृहसचिव,गृहमन्त्रीका सुरक्षा सल्लाकारलगायत १२ जना पक्राउ परेका छन् । पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै फरार छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक पनि बेपत्ता छन् । मुलुकको छवि नै धुमिल हुनेगरी बाहिर आएको नक्कली शरणार्थी प्रकरणमा भूतपूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डा. आरजू राणा र प्रहरी नियन्त्रणमा रहेका भूतपूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीमाथि पनि करोडौं बुझेको आरोप लागेको अडियो सार्वजनिक भइसकेको छ । 

एकातिर भ्रष्टाचार, अर्कोतिर मानव तस्करी, संगठित अपराध र देशद्रोही कार्यसँग सम्बन्धित यो घटनासँग जोडिएको तथ्य आफूसँग रहेको जानकारी गराउनुभएका ओलीले हालसम्म ती कुरा किन सार्वजनिक गर्नुभएन ? कानुनी रुपमा यो गम्भीर विषय बन्ने निश्चित छ ।

राज्यको उपल्लो तहको कार्यकारी जिम्मेवारीमा रहेर सूचनाको पहुँचमा रहेका पदाधिकारीले घटनामा आफ्नो पार्टी, नेता र कतिपय सचिवालयका कर्मचारीको नाम मुछिएपछि मात्रै तथ्य बाहिर ल्याउन खोज्नुमा राज्यविरुद्धको सूचना लुकाएको आरोप लाग्दैन भन्ने के आधार छ ?

अर्कोतर्फ मेडिकल माफियाको रुपमा परिचित दुर्गा प्रसाईं पछिल्लो समय नेपाली समाजलाई विश्रृंखलतातर्फ धकेल्न उद्दत देखिन्छन् । बैंकको कर्जा नतिर्न,राज्यलाई कर नबुझाउन र बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गर्न मान्छै उराल्दै हिँडेका उनीमाथि सरकारले राज्यविरुद्धको अपराधमा कारबाही गर्नसक्छ । तर, एमाले अध्यक्ष केपी शर्माका कुनै बेलाका भक्त उनै मार्सी अहिले अनेक कुतर्कमा सर्वसाधारणलाई भड्काउने खेलमा लागेको प्रष्ट हुन्छ । 

मार्सीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक दलका नेताहरुले मुलुक बेचेको गम्भीर आरोप लगाएका छन् । उनीहरुले मुलुक बेचेको रकम अवैध तवरले विदेश पुर्याएको बताउनुले विषयलाई थप संवेदनशील बनाएको छ । उनलाई कुन नेताले कसरी मुलुक बेचे भनेर राज्य प्रशासनले कानुनी उपचार गर्नुपर्छ कि पर्दैन ? प्रसाईंको भनाई सत्य हो भने ती नेतालाई कठघरामा उभ्याउन किन ढिलाई गर्ने ?

पत्रकार सम्मेलनमा मार्सीले भनेका छन्, ‘मुलुक बेचेको रकम नेताहरुले दुबईलगायत विभिन्न मुलुक र शहरमा पुर्याएका छन् । त्यसरी लगिएको रकम आफ्ना कर्मचारी र नातेदारको नाममा ट्रान्सफर गर्ने गरिएको छ । अब नेपालमा चाँडै नै अमेरिकी सेना परिचालन हुनेछ ।’ दुर्गा प्रसाईंले के आधारमा त्यसो भने ? कसरी रकम ट्रान्सफर भयो र अमेरिकी सेना परिचालन हुने सूचना उनले कहाँबाट पाए ? यसबारे राज्य संवेदनशील हुन पर्दैन ?

टिप्पणीहरू