फास्ट ट्र्याकमा सुनुवाइ सक्ने सुरसार

फास्ट ट्र्याकमा सुनुवाइ सक्ने सुरसार

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै डेढ घण्टा छलफल भएको छ ।

सर्वसाधारणलाई नक्कली शरणार्थीको आवरणमा अमेरिका पुर्याउने प्रकरणमा पार्टीका नेता तथा पूर्वमन्त्रीहरु मुछिँदै पक्राउ पर्न थालेपछि भएको भेटलाई अर्थपूर्ण भनिएको छ । तर,बालुवाटार स्रोतले भेटमा उक्त विषय अनौपचारिक रूपमा उठे पनि औपचारिक रुपमा संसदीय सुुनुवाई समितिको गठन, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको आगामी भारत भ्रमणमाथि कुरा भएको भएको दाबी गरेको छ ।

‘कायम मुकायम प्रधानन्यायाधीशलाई जतिसक्दो छिटो कन्फर्म गर्ने भन्ने बारेमा छलफल भएको छ,’ स्रोतले भन्यो । आजको भेटमा शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्तिको सिफारिसमा पर्नुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई प्रक्रियालाई यथासक्य छिटो अघि बढाउनेमा उहाँहरु सहमत हुनुभएको बताइन्छ । तर समितिमा रहने सांसदको नाम एमालेबाहेक अन्य दलको तर्फबाट हालसम्म प्राप्त भएको छैन । माओवादी र काँग्रेसले लेखेर दिनेबित्तिक्कै भोलिदेखि फास्ट ट्र्याकमा सुुनुवाई प्रक्रिया शुरु हुने बालुवाटारको भनाइ छ ।

सुनुवाईको क्रममा उहाँविरुध्दको उजुरी सुन्ने व्यवस्थालाई छोट्याएर बढीमा एक हप्ता वा १० दिनभित्र सुनुवाई गरिसक्ने मोडलमा आजको कुराकानी केन्द्रित भएको बताइन्छ । समितिले यसरी सिफारिस गरेमा आगामी जेठ १५ गतेअगावै हुने प्रधानमन्त्री दाहालको भारत भ्रमणभन्दा पहिले उहाँको नियुक्ति सम्भव देखिन्छ ।

यसवीच प्रधानमन्त्रीको भारत भ्रमणको आन्तरिक गृहकार्य भइरहेको छ । जेठ १५ गते सरकारले संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ । यीलगायत विषयमा आज बालुवाटारमा घनिभूत छलफल भएको दाबी छ । 

तर, नक्कली शरणार्थी प्रकरणले समग्र पक्षलाई तताइरहेको अवस्थामा शीर्ष नेताहरुबीच भएको भनिएका अन्य महत्वपूर्ण छलफल र सहमतिमा धेरैले पत्यार गर्न सक्ने अवस्था कमजोर बन्दै गएको छ ।
 

टिप्पणीहरू