लामखुट्टेको धुपले घर भष्म, चार जना जले

लामखुट्टेको धुपले घर भष्म, चार जना जले

लामखुट्टे भगाउन बालिएको घुपबाट सल्किएको आगोले पूरै घरै जलाउँदा बारामा ठूलो परिमाणमा धन सम्पति क्षति भएको छ । आदर्श कोतवाल गाउँपालिका-१ च्युटाहास्थित एक घरमा हिजो राती आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीमा परि परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पती-पत्नी र दुई छोरा रहेका छन् । घरधनी ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको वीरग़न्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेका छन् । प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको छ ।


 

टिप्पणीहरू