मदन भण्डारीको हत्यामा काँग्रेसको संलग्नता रहेको ओलीको आशंका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्यामा नेपाली कांग्रेसका नेताको संलग्नता आशंका गर्नुभएको छ । पुराना कांग्रेसी नेता उमेश गिरीले उक्त तथ्य खुलासा गरेको भन्दै ओलीले त्यस्तो आशंका गर्नुभएको हो ।
बल्खुमा आयोजित ३० औं मदन-आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विराटनगरका गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको बताउनुभयो ।
‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँ (मदन–आश्रित) हरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो,’ ओलीले भन्नुभयो, ‘नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर, यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’
काँग्रेसका पुराना नेतासमेत रहेका विराटनगरका ‘डन’ गिरी हालै जेलमुक्त भएका छन् । उनीसँग मदन भण्डारीको हत्याको योजनाका बारेमा आएको प्रस्तावको खोजी गरेमा अपराधी नजिकसम्म पुग्न सकिने ओलीको दाबी छ ।
महान सपना बोकेर पनि तीनलाई पूरा गर्न नपाउँदै हत्या गरिएका मदन भण्डारी आदर्श व्यक्ति भएको ओलीको ठहर छ । उहाँले मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद (जबज)ले विश्व कम्युनिष्ट आन्दोलनलाई नै सही बाटो देखाउन सफल भएको पनि उल्लेख गर्नुभयो ।
टिप्पणीहरू