शरणार्थी प्रकरणमा देउवाका कानुनी सहयोगीसमेत बदनाम

शरणार्थी प्रकरणमा देउवाका कानुनी सहयोगीसमेत बदनाम

नक्कली भुटानी शरणार्थी प्रकरणको लहरोले पहरो तान्न थालेको छ । केशव दुलाल र सानु भण्डारीमाथि अमेरिका पठाउन रकम असुलेको आरोपमा थालिएको अनुसन्धानको क्रममा थुप्रै भिआइपीको संलग्नता भेटिएको छ । प्रहरीले यसबीच १४ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना भने अझै फरार छन् । 

अन्य केहीमाथि आशंका र निगरानी बढाइएको स्रोतको दाबी छ । हालसम्म पूर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सल्लाहकारलगायत १४ जना प्रहरी खोरमा छन् । उनीहरुमाथि अनुसन्धान र छानबिन जारी छ ।

यसैबीच काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका कानुनी सल्लाहकार अधिवक्ता केशवराज जोशीसमेत प्रकरणमा मुछिएको आरोप लागेको छ । जोशीमाथि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग बिचौलियालाई बारम्बार भेट गराइदिएको, भेटघाटलगायत कार्यमा सहजीकरण गरेको आरोप लागेको छ । उनी नामुद बिचौलिया रहेको प्रहरी नियन्त्रणमा रहेकाहरुले बताएका छन् । आर्थिक मामिला र लेनदेनमा निकै अग्रसर हुने गरेका जोशी देउवापत्नी आरजु राणाकासमेत विश्वासपात्र रहेको स्रोतको भनाइ छ ।

वैदेशिक रोजगारको नाममा जोशीले विभिन्न मेनपावर कम्पनीमा दलालीको भूमिका निभाएको तथ्य पनि खुलेको छ । उनले निःशुल्क भिसामा पठाइएका प्रायः सबैजसोसँग रकम असुलेको विवरण प्राप्त भएको प्रहरी स्रोतलाई उद्धृत गरिएको छ । यसअघि तत्कालीन श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा मन्त्रालयको कानूनी सल्लाहकार बनेपछि उनले मन्त्रालयमै बिचौलियालाई सहजीकरणको भूमिका निर्वाह गरेको त्यसबेलाका कर्मचारीको अनुभव छ ।

उनी सभापति देउवाको सिफारिसमा श्रम मन्त्रालयको कानूनी सल्लाहकार बनेका थिए । उनले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने ल्याबमध्ये मापदण्डमा नपरेकालाई पनि आर्थिक चलखेलका आधारमा सूचीकृत गराएको आरोप लागेको थियो । मन्त्रालयका सचिव, सहसचिवलाई दबाब दिएर उक्त काम फत्ते गराएको र विदेश जाने कामदारलाई दिइने तालिम ओरिएन्टेसनसम्बन्धी संस्था दर्तामा पनि विशेष चासो दिएको केहीले पोल लगाएका छन् ।

उनलाई देउवा प्रधानमन्त्री हुँदाका प्रमुख स्वकीय सचिव कर्ण मल्लको समेत आशिर्वाद भएको बताइन्छ । टेकबहादुरले मन्त्रीको हैसियतले गरेका कतिपय निर्णय तत्काल बाहिर जान थालेपछि त्यतिबेला सचिव र सहसचिवहरुले  मन्त्रीसँग राम्रैसँग गुनासो गरेका थिए । कर्ण मल्लले भनेअनुसारको निर्णय नगरेपछि हालका सचिव तथा तत्कालीन वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्कर कर्णमाथि मन्त्रालयमै हातपात भएको थियो । मन्त्रालयमा सचिव सुरेश श्रेष्ठ र मन्त्री गुरुङबीच बैठक चलिरहेको बेला कर्णले मन्त्रीकै कार्यकक्षमा पुष्करलाई डाकेर हातपात गरेका थिए । लगत्तै बिचौलियाले मन्त्रालय चलाएको आरोप लगाउँदै सचिव श्रेष्ठ सरुवा मागेर अन्यत्र गए ।

कालान्तरमा जोशी र मल्लबीच असुली रकम बाँडफाँडमा कुरो नमिलेपछि शीतयुध्द चल्यो । सुशील कोइराला नेतृत्वको सरकार हटेर केपी ओली नेतृत्वको सरकार गठन पश्चात् मल्ल र जोशीबीच थप वाकयुध्द भएको बूढानीलकण्ठ निकटस्थहरुको भनाइ छ ।

देउवाका मुख्य स्वकीय सचिव भानु देउवासमेत बेलाबखत विभिन्न नाममा मुछिने गरेको बताइन्छ । जोशी अहिले पनि काँग्रेस सभापति देउवाका निजी कानुनी सल्लाहकारको भूमिकामा छन् ।

टिप्पणीहरू