वामदेवका यी तीन रूप

वामदेवका यी तीन रूप

वि.सं. २०५० को दशकसम्म चट्टानी अडान राख्ने वामपन्थी नेताको छवि बनाएका वामदेव गौतमलाई पटक–पटक व्यक्त अस्थीर धारणाको कारण दुई दशकपछि नेकपाभित्र ‘पिँध नभएको लोटा’ भन्न थालिएको छ । तत्कालीन माओवादीले सरकारसँग दोस्रो चरणको वार्ताका निम्ति बाबुराम भट्टराई नेतृत्वमा टोली खटाएको थियो । त्यही क्रममा गौतम कस्सिँदै गौशाला पुगेर भट्टराईलाई भनिदिए ‘ल कमरेड, आजदेखि म माओवादी प्रवेश’ गरेँ । एकछिन पछि गौतम निस्केर हिँडे र भट्टराईले माओवादी वार्ता टोलीका सदस्यलाई ‘वामदेव आउने भए’ भनेर संक्षिप्त प्रतिक्रिया दिए । तर,  गौतम कहिल्यै माओवादीमा प्रवेश गरेनन् ।

त्यसैगरी, माओवादी र तत्कालीन संसद्वादी दलहरू (एमाले तथा नेपाली कांग्रेस) बीच बाह्रबुँदे सम्झौताको प्रारम्भिक सहमति भयो । त्यसलाई अन्तिम रूप दिनुअघि रोल्पामा माओवादीसँग बसेर सात बुँदा तय गरियो । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला स्वास्थ्य र सुरक्षाको कारण जान नसक्ने भएपछि एमाले नेता गौतम र युवराज ज्ञवाली रोल्पा गएका थिए । उनीहरूलाई त्यहाँ जनमुक्ति सेनाले सलामी दियो । सलामीलगत्तै जनमुक्ति सेनालाई संबोधन गर्दै गौतमले भनिदिए ‘तपाईंहरू नेपाल आमाका सच्चा सपुत हुनुहुन्छ । तपाईंका सपना खेर जाने छैनन् ।’ २०५९ सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा वामदेव गौतम गृहमन्त्री भए । उनकै अग्रसरतामा माओवादीलाई ठीक पार्न आतंककारी कानुन जारी गरियो ।

अहिले नेकपाभित्र चर्को मतभेद भइरहँदा समस्या समाधानको नाममा ‘नयाँ प्रस्ताव’ फ्याँकिएको छ । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीको चाहनामा ल्याइएको उक्त प्रस्तावलाई ‘वामेदवको प्रस्ताव’ भनिएको छ । ६ बुँदेको त्यो छर्रापछि बालुवाटारले खुमलटारलाई ‘वामदेवको प्रस्ताव पनि अस्वीकार गर्ने ?’ भन्दै अत्तो थाप्न थालेको छ । स्रोतका अनुसार खुमलटार निकटलाई कर्नरमा पु¥याउन ‘वामदेवको प्रस्ताव’ भन्दै गत मंसिरमा प्रधानमन्त्रीले अघि सारेको प्रस्तावलाई नै अघि बढाइएको हो ।

बालुवाटारले उनलाई मोहराको रूपमा सधँै प्रयोग गरिरहेको छ । गत वर्ष जेठमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा प्रधानमन्त्रीको कार्यकाल आधा–आधा हुने भन्ने थियो । तर, मंसिर पुग्दा नुपग्दै अध्यक्ष तथा प्रधानमन्त्रीले जेठको प्रस्ताव तुहाएर कार्यकारी अध्यक्षको नयाँ पासा फ्याँक्नुभयो । अहिले प्रचण्डले पार्टीभित्रको समस्या समाधान गर्ने हो भने गत वर्ष जेठको प्रस्तावमा फर्किऔं भनेपछि बालुवाटारले गत मंसिरको प्रस्तावलाई नै वामदेवको प्रस्तावको जलप लगाएर प्रस्तुत गरेको बताइन्छ ।

– विश्वदीप पाण्डे, गोरखा

टिप्पणीहरू