ओलीको दावीमा नेपालको आपत्ति

ओलीको दावीमा नेपालको आपत्ति

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा उत्कृष्ट काम भएको दाबी गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालसम्म भएका सबै प्रधानमन्त्रीको कार्यकालको वस्तुनिष्ठ समीक्षा गर्न माग गर्नुभएको छ। 

आजको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयवारे संसदमा छलफल गर्न चुनौती दिनुभएको हो । त्यसक्रममा उहाँले आफू त्यसमा सहमत रहेको पनि बताउनुभयो । 

तीन पटक प्रधानमन्त्री हुनुभएका ओलीले हिजो प्रतिनिधिसभा बैठकमा आफ्नो पालामा भए गरेका कामबारे घन्टौं लामो चर्चा गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न समय लिएर संसदमा बोल्नुभएका उहाँले एमाले नेतृत्वको सरकारले असाध्यै राम्रो काम गरेको दाबी पनि गर्नुभएको थियो । आफू नेतृत्वको सरकार हटेपछि मुलुक निरन्तर ओरालो लागेको उहाँको भनाई थियो । 

झण्डै दुई घण्टाको सम्बोधनमा ओलीले आफ्नो पालामा 'राम राज्य' नै कायम भएको जसरी भाषण गरेपछि आज अध्यक्ष नेपालले जवाफ फर्काउँदै सबै पूर्वप्रधानमन्त्रीको कार्यकाल समीक्षा गर्न चुनौती दिनुभएको हो ।

टिप्पणीहरू