करोडौँ पोको पारेर भागेका मेयरलाई विदेश जान बन्देज

करोडौँ पोको पारेर भागेका मेयरलाई विदेश जान बन्देज

बचतकर्ताको करोडौं निक्षेप हिनामिना गरेर बेपत्ता भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीमाथि विदेश यात्रा प्रतिवन्ध लगाइएको छ । 

इमेज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षसमेत रहेका उनले बचतकर्ताहरुको करोडौं निक्षेप हिनामिना गरेर भागेको खबर बाहिरिएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाउँदै यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको छ । पत्रमा मेयर नेपालीसहित सहकारीका अन्य ६ जना सञ्चालकको पनि यात्रा अनुमति रद्द गर्न विभागलाई भनिएको छ । 

गृह मन्त्रालयअन्तर्गत सीमा तथा अध्यागमन शाखाका अधिकृत पशुराम पोखरेलका अनुसार मेयर नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाहीको पनि यात्रा अनुमति रद्द गर्न निर्देशन दिइएको हो । 

पत्रमा भनिएको छ, ‘बागलुङ जिल्ला बागलुङ नगरपालिका वडानं. २ र ढोरपाटन नगरपालिका वडानं. १ बुर्तिवाङ सल्यालनमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुको रकम हिनामिना गरी सम्पर्कविहीन भएका देहाय बमोजिमका पदाधिकारीहरुलाई यात्रा अनुमति रद्द गर्ने व्यवस्थाका लागि आवश्यक कार्य हुन प्राप्त कागजात यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा आदेश अनुसार अनुरोध छ ।’

गत स्थानीय चुनावमा एमालेबाट मेयर जितेका नेपालीविरुद्ध सहकारीको करोडौं रुपैयाँ अपचलन गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय,बागलुङमा उजुरी हालेका छन् । त्यसपछि उनी फरार भएका हुन् ।
 

टिप्पणीहरू