नाममा त्यस्तो के छ हजुर !

नाममा त्यस्तो के छ हजुर !

दिलकुमारी रावल थापा, पार्वती –यो नाम मिडियामा देखेपछि मलाई हाँसो उठ्छ र टिठ पनि लाग्छ । हाँसो यस अर्थमा कि राष्ट्रियसभा सदस्य दिलकुमारीको माइतीको थर रावल हो कि थापा ? राजकीय मामिलाहरूमा कसैको आधिकारिक (अफिसियल) नाम प्रयोग गर्ने हो तर राष्ट्रियसभाले नै नाममा पार्वती पनि झुण्ड्याइदिएपछि दिलकुमारी भनेर चिन्ने कि पार्वती ? टिठ लागेको चाहिँ मिडियाले आधिकारिक नाम प्रयोग गर्न छाडेर यस्तै घरमा बोलाइने, साथीहरूले बोलाउने नाम वा उपनाम राख्दै जाने हो र ? त्यसो भए बाबुराम भट्टराईको लालध्वज खै ? सिपी गजुरेलको गौरव कहाँ गयो ? हिसिला यमी हिमाली (?) र पम्फा भुसाल विद्युत् त एकार्कालाई जेनी र रोजा लक्जम्बर्ग नै भन्थे क्यार । बाबुराम र हिसिलाको कुरा गर्दा श्रेष्ठ (?) सँग विवाह गरेकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) को पनि प्रसङ्ग उठाउन मन लाग्छ । उनका सन्तानको थर के हुने होला अब ? – ( ) यमी भट्टराई श्रेष्ठ ? 

पूर्वउपसभामुख पुष्पा भुसाल अब संसद्मा राखिएको नामकै आधारमा पुष्पा भुसाल गौतम, डिला सङ्ग्रौला भनेर चिनिएकी नेपाली कांग्रेसकी नेत्री अब डिला सङ्ग्रौला पन्त रे ? आचार्यसँग विवाह गरिएकी कमला पन्तको चाहिँ माइतीकै थर मात्र अरे ? 

विद्या पाण्डेलाई पति मदन भण्डारी (आधिकारिक मदनकुमार भण्डारी) को थर प्यारो भएर विद्यादेवी भण्डारी राख्न मन लाग्ने, राधिका शाक्यलाई भने पति केपी शर्मा ओली (पार्टीमा शर्मा त्यति चल्दैन) को मन नपर्ने, माइतकै थर भए पुग्ने, यो पनि रमाइलो कुरा छ । पूर्वप्रधानमन्त्री माधव नेपाल (आधिकारिक माधवकुमार नेपाल) की धर्मपत्नी गायत्री आचार्य हो कि नेपाल पत्तो छैन, अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी भने रवि चित्रकार । डा. आरजू राणा कतै आरजू राणा देउवा, कतै आरजू देउवा राणा, कतै आरजू देउवा–भद्रगोल । गृहमन्त्री हुँदासम्म शेरबहादुर देउपा नै लेखिए, बोलिए । प्रधानमन्त्री हुनासाथ भइदिए देउवा । पञ्चायतकालमा फर्कने हो भने राष्ट्रिय पञ्चायतको अध्यक्ष हुञ्जेल मरिचमान सिंह, प्रधानमन्त्री भएपछि... सिंह श्रेष्ठ । राजाले नेवारलाई कहिल्यै प्रधानमन्त्री दिँदैन भन्थे जनता । आखिर दिए, उनैका पालामा पञ्चायत ढल्यो र अन्तिम प्रम भइछाडे । अपशकुन पो थियो कि ? 

नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड–कति कडा नाउँ ? अहिले सिके राउत चम्केका छन्, चन्द्रकान्त हत्पती चिनिँदैन । कि सिके लालका सक्कली नाउँको पत्तो नाइँ ।

साहित्यकार सुधा त्रिपाठी घरको थर भट्टराई कतै लेख्दिनन् । माया ठकुरी भने विद्यालय शिक्षिका हुँदा माया शर्मा, प्राज्ञका रूपमा माया ठकुरी नै । कुन्ता शर्मा ‘नेपाल’ भइनन्, कुन्दन शर्मा ‘पिँडाली’ भइनन् । विष्णुकुमारी वाइवा पारिजात बनिन्, गीताकेशरीको थर नै पत्तो पाइएन । 

तेस्रो राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले उहिल्यै म दार्जिलिङको घिसिङ सुवास होइन भन्दाभन्दै मिडियाले सधैँ उनलाई सुवासकै रूपमा लेख्न, भन्न चाह्यो । सुभाषचन्द्र नेम्वाङ नै सही हो भन्ने कुरा उनीसँग विवाद रहेको एक बैंकले नामै किटिदिएर लेखिदियो । तैपनि मिडियामा अझ उनका नाममा सुवास नै मग्गमाउँछ । 

मिडियाले आधिकारिक नामचाहिँ खोजी खोजी लेखेको दमननाथ ढुङ्गाना, तारानाथ रानाभाट, विजयकुमार गच्छदार (कोही गच्छेदार लेख्छन्), मदनकुमार भण्डारी, माधवकुमार नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल हुन् नत्र ती नाथ, नाथ–राना, कुमार, शर्माविनाका हुन्थे, खड्ग ओली, जेएन नै कहलिन्थे । संसद्मा आएपछि, मन्त्री भएपछि प्रदीप नेपालले त सञ्जय थापा सदाका लागि आफैँले त्यागेको घोषणा गरिदिए । सामान्य प्रशासनमन्त्री हुँदा पनि आधिकारिक नाम प्रभाकर प्रधानाङ्गभन्दा पार्टी नाम रवीन्द्र श्रेष्ठ नै चल्यो जस्तो कि महिला तथा बालबालिकामन्त्री सीता खड्काभन्दा नीलम केसी । अनि पत्रकार रघु पन्त माननीय हुँदा त रघुजी पो भइदिए । 

प्रेमवियोगले हुनुपर्छ भक्त श्रेष्ठ सरुभक्त भए । हरिहर अधिकारी ‘श्यामल’ भइदिए कृष्णको चरित्र र सँवला रङ मन परेकाले । उपनाम नै परिवर्तन गर्नेमा पुष्पकमल दाहाल र रत्ननिधि रेग्मी प्रख्यात छन् । दाहालले सिपी गजुरेलसँग मागेर प्रचण्ड चलाएको फलिफाप नै भयो । गजुरेल भने गौरवमा नै अल्झिए । रेग्मी पूर्वीय दर्शनमा लागेर अङ्ग्रेजी गडस्मिथ छाडी दैत्यगुरु वा प्रथम कवि भनिएका शुक्राचार्यतिर लागे, अनि उनले अहिले वामपन्थबाट कांग्रेसपन्थ पनि रोजेका छन् । मोहन वैद्य राजनीतिमा किरण र साहित्यमा चैतन्य–रोचक छैन त ? अनि नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड–कति कडा नाउँ ?

एमपी, बिपी, जिपी कोइराला, एमबी सिंह, केपी भट्टराई भने दुवै नाममा प्रख्यात हुने भाग्यमानी मानिन्छन् । गणेशमान जिएम पनि भए क्यार कुनै बेला । केपी शर्मा ओली नाम मन नपर्नेहरू भने खड्गप्रसाद शर्मा ओली भनेर किन व्यङ्ग्य गर्छन्, थाहा छैन । खड्गको त्यत्रो शक्ति पनि चिन्न नसकेर पो हो कि ? ‘प्रसाद’ खाइएका त कति छन् कति–विष्णु पौडेल, सुरेन्द्र पाण्डे (पूर्वअर्थमन्त्री), गणेश तिमिल्सिना, राजेन्द्र पाण्डे । कुनै बेलाका राधाकृष्ण मैनाली आरके, चन्द्रप्रकाश मैनाली सिपी । अहिले सिके राउत चम्केका छन्, चन्द्रकान्त हत्पती चिनिँदैन । जस्तो कि सिके लालको पनि अखबारमा सक्कली नाउँको पत्तो नाइँ । खोजी गरौँ है–वै (लेखक बै लेख्छन् ) रागी काइँला तिलविक्रम नेम्बाङ, चित्तरञ्जन नेपाली नारायणप्रसाद श्रेष्ठ, रोचक घिमिरे घनानाथ घिमिरे, रोबिन शर्मा राजेन्द्र शर्मा, ... । 

राजा र राजपरिवार पनि चिनौँ, खोजौँ है तः मविवि शाह, रञ्जना शाह, वीरेन्द्र शाह, चाँदनी शाह, रवीन्द्र शाह, जी शाह, अजनबी शाह, सोफिया शाह । मन्त्री गणेश साह र असर्फी साह तथा कामपा पिता बालेन्द्र साहले भने शाह लेखेर पार्टी, राजा र केशव स्थापितप्रभृत्तिलाई झुक्याइदिए । अनि ज्ञानेन्द्र शाही भनिएका त ज्ञानबहादुर शाही पो रहेछन् । 

कम्युनिष्ट दस्तावेजमा पुष्पलाल पिएल, तुल्सीलाल अमात्य टिएल, केशरजङ्ग रायमाझी माझी मनग्य भेटिन्छ, भेटिन्थ्यो । डा. तुल्सी गिरी पनि तुलसी होइनन् । महिन्द्र राय यादव कहिले महेन्द्रप्रसाद यादव कहिले महिन्द्र राय नै । मधेश (पछिल्लो वर्णविन्यास नियमानुसार स) का पूर्वमुख्यमन्त्री लालबाबु राउतलाई मोहम्मद लालबाबु राउत गद्दी भनेर कसले चिन्ने ? भक्तपुरका कामरेड नारायणमान बिजुक्छे रोहित, एमाले नेता रामबहादुर थापा बादल... । कति छन् कति नाम, थर उपनामबारे अध्ययन, अनुसन्धान गर्न । यो चिकटो यसो रमाइलाको मात्र हो । सेक्सपियरले उहिल्यै यस्तो भावमा भनेकै थिए, ‘नाममा के छ र ? गुलाबलाई कुनै अर्काे नाम दिए पनि रङ र सुवास उही त हो ।’’ लिन्कन, ट्रम्प, बाइडेनले थरले मात्र चिनिएर राष्ट्रपति खाए, हामी भने अझै पनि दिलकुमारी रावल थापा पार्वती लेखिरहने, पढिरहने ? 
 

टिप्पणीहरू