आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा ठग्दै हिँडेकी पार्वती प्रहरी खोरमा
वैदेशिक रोजगारीको क्रममा स्वीटजरल्याण्ड पठाइदिने भन्दै ठग्दै आएकी एक महिला पक्राउ परेकी छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठगेको आरोपमा पार्वती थापा समातिएकी हुन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज काठमाडौँको गोंगबुबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । काभ्रेपलाञ्चोक घर भई हाल बाँकेको कोहलपुर बस्दै आएकी ४६ वर्षीया पार्वतीले वैदेशिक रोजगारीमा स्वीट्जरल्याण्ड पठाइदिने र त्यहाँको सुपरमार्केटमा काम लगाइदिने प्रलोभनमा ठगेकी थिइन् ।
त्यहाँ पुग्न सात लाख २० हजार रुपैयाँ लाग्ने र मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितबाट पटक पटक गरी सात लाख २० हजार रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भइन् । आफु ठगिएको थाहा पाएपछि पीडितले वैदेशिक रोजगार विभाग गुहारे ।
विभागको अनुरोधमा प्रहरीले खोजतलास अघि बढायो । सोही क्रममा आज पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू