हामीलाई जिउँदै खाएर सिध्याउन खोजियो - एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चारैतिरबाट हमला भैरहेको र जिउँदै खाएर सिद्याउन खोजिएको गुनासो गर्नुभएको छ ।
आज काठमाडौँमा आयोजित जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै उहाँले दुई वर्षदेखि एमालेमाथि निरन्तर आक्रमण भैरहेको र जिउँदै खाएर सिद्याउन खोजिएको दावा गर्नुभएको हो । कसले आक्रमण गरेको प्रष्ट नखुलाउनु भएका ओलीले हुँडारको बथानले जसरी एकैसाथ झम्टिएर सखाप पार्न खोजिएको गुनासो गर्नुभयो ।
‘हामीले यो दुई वर्षमा धेरै भयानक हमला, चारै दिशाबाट मात्रै हैन दसै दिशाबाट हामीमाथि तीव्र हमला भयो । हामीलाई सिध्याउन दशैँ दिशाबाट हमला भयो । तलमाथि, वरपर, पूर्व-पश्चिम, उत्तर-दक्षिण कुनाकुना कतै बाँकी नराखेर चौतर्फी हमाल भयो । हुँडारको बथान जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ, कसैले टाउकोतिर टोक्छ । हीही गरेर कराएर झम्टिए । जिउँदै खाएर सिद्याउन खोजियो ।’
त्यसक्रममा उहाँले त्यस्तो प्रतिकूल अवस्थाबाट जोगाउँदै पार्टीलाई पुनर्जीवित गराएको पनि कार्यकर्तालाई सुनाउनुभयो ।
टिप्पणीहरू