बेचन झा समातिएपछि शरणार्थी प्रकरणमा नयाँ ट्वीस्ट
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको अन्तिमतिर नयाँ पात्रको उदय भएको छ । प्रहरीले आफ्नो अनुसन्धान र छानबिन सकाएर पक्राउ परेका १६ जना र आरोपित अरु १७ जनालाई विभिन्न अभियोगमा मुद्दा चलाउनुपर्ने निश्कर्षसहितको राय सरकारी वकिलको कार्यालय, काठमाडौंलाई दिएको छ ।
प्रकरण छानबिनमा बेचन झा नामक नयाँ बिचौलियाको प्रवेश भएको छ । बिचौलियाको उपमा पाएका उनको ‘ब्याकग्राउण्ड’ बारे धेरै कुरा बाहिर नआइसकेको बताइन्छ । ‘काँग्रेसका एक जना वरिष्ठ नेतासँग जोडिएको भेउ पाइएको छ । राजनीतिक वृत्तमा प्रभावशाली भनिएको पनि पाइयो । भारतीय नेक्सस राम्रो भएकाले उतै बस्ने गरेको जानकारी पाइएको छ,’ गृह मन्त्रालय उच्च स्रोतको दाबी छ ।
प्रकरणमा संलग्न बेचनलाई कसैले तराईको भनेका छन् भने कसैले पारीको समेत भन्न भ्याएका छन् । तराईको भन्नेमध्ये पनि बेचनलाई कसैले पर्साको, कसैले सर्लाही र कसैले सप्तरीको भनेका छन् । तर उनको यकिन ठेगाना पत्ता लागि नसेकको प्रहरीको भनाइ छ । ‘बेचन स्वयमले आफ्नो पूर्वराष्ट्रपतिसँग सम्बन्ध भएको बताउने गरेका छन्, ससुराली नेपालमा भन्ने कुरो खुलेको छ,’ स्रोतले भन्यो ।
आखिर बेचन झाले गरे के ? कसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए ? अनुसन्धान तथा छानबिनमा संलग्न प्रहरी अधिकृतहरुमध्ये एक जनाने भने, ‘प्रकरण गिरोहका सदस्य सानु भण्डारीलगायतले ल्वाईंल्वाईं चेक काटेर उसको खातामा रकम हालेको देखिन्छ । अन्तिम समयमा मात्र उबारे खबर आएको हो । दुई दिनअघि समातिएको भए अहिले नै जेल जानेको संख्या १७ हुने रहेछ ।’ उनको हिमालय बैंकमा रहेको खातामा दुई करोड एकै पटक जम्मा गरेको देखिएको छ ।
उनीविरुद्ध भारतमामेत ठगीको आरोपमा मुद्दा दायर भएको छ । तर उताबाट भागेर नेपालमा बसोबास गर्दै आएका झा अहिले नेपालबाट पनि बेपत्ता भएका छन् ।
अकोतर्फ तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको पिएसओको खातामा समेत गिरोहको रकम प्राप्त भएको अनुसन्धानमा फेला परेको छ । पीएसओ स्वयम्ले आफ्नो नामबाट उठाएर एक करोड बढी खातामा राखेको पाइएको हो । यसबारे पिएसओले समेत सकारेको बताइन्छ । दुई तीन वटा बैंकमा पैसा राखे पनि केही रकम उनले कर्मचारी सञ्चयकोषमा लिएको पहिलेको ऋण तिर्न प्रयोग गरेका हुन् ।
सम्भवतः भोलिसम्ममा १६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर हुने प्रहरीको भनाइ छ । प्रहरीको रायमा सरकारी वकिलको कार्यालयले राय थपघट गर्नसक्ने सम्भावना उत्तिकै देखिन्छ । भोलि मुद्दा दायर हुने बताउँदै सरकारी वकिल कार्यालय स्रोतले भन्यो, ‘हुँदा खाने हैसियतको वकिलको काम सकिएपछि हुँदोखाँदोहरुको काम शुरु हुन्छ ।’
टिप्पणीहरू