भन्सारमा नक्कली प्रज्ञापन पत्र, डाइपरको पोकोमा सक्कली पेस्तोल !

भन्सारमा नक्कली प्रज्ञापन पत्र, डाइपरको पोकोमा सक्कली पेस्तोल !

‘भन्सार बुझी नसक्नुको संसार’ भन्ने कथन यतिबेला सार्थक भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेल राजस्व नउठेको जतिबेला पनि भुटभुटाइरहेका हुन्छन् । तर, उनकै कार्यालय प्राङ्गणमा नक्कली प्रत्रापन पत्र, नक्कली राजस्व बुझाएको भौचर तयार पारिदा पनि उनले चाल पाउँदैन । 

भन्सारको सुरक्षाको लागि अन्नपूर्ण टर्मिनल्स प्रालिलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ । सोही कम्पनीले कार्यालय वरपर सिसिटिभी जडान गरेको छ । त्यस्तै, गेटगेटमा सुरक्षा गार्ड, भित्र पार्किङ्ग स्थल र गोदामको चारैतिर सुरक्षा सतर्कता अपनाएको दाबी कम्पनीले गर्दै आएको छ । यद्यपि, मूलगेटबाट नक्कली प्रज्ञापनपत्र बनाएको गाडी बाहिरिँदा समेत अन्नपूर्ण टर्मिनल्स बेखबर छ ।

गत शनिबार युपी ५३ एफ.टि ५४५२ नम्बरको भारतीय गाडी ‘आयसर मिनिट्रक’ भैरहवा भन्सारबाट बाहिरिएको थियो । त्यसलाई न चेक गरियो न त्यसको कागजात नै खोजियो । करिब सात सय मीटर पर पुगेपछि मात्र उक्त गाडीले बनाएको कागजात नक्कली हो भन्ने रहस्य खुल्यो । 
स्रोतका अनुसार सोही गाडीले नक्कली कागजात बनाएको सूचनाका आधारमा तीनकुने बाईपासमा रहेको सेक्युरिटी चेकजाँचको टोलीले गाडीलाई रोकर पुनः भन्सार पठाएपछि भन्सारमा हल्लिखल्ली नै मच्चिएको थियो । उक्त सेक्युरिटी चेकजाँचमा भन्सार र सशस्त्र प्रहरी बलको टीम संयुक्त रुपमा बस्दै आएको छ ।

सबै कागजात देखाएर भन्सारबाट निस्किएको गाडीको डकुमेन्ट नक्कली भएको आरोपमा पुनः पक्राउ गरिएपछि तहल्का मच्चिनु स्वाभाविकै हो । यसबारे सोधपुछ गर्दा कार्यालय प्रमुख पौडेलले सो गाडीलाई नियन्त्रणमा लिएर बरामद माछा नष्ट गरिएको जानकारी दिए । 

३७५ नम्बरको अधिकारी क्लिरियन्स नामक भन्सार एजेन्टले पास गरेको ३ हजार आठ सय किलोग्राम माछासहित गाडी नियन्त्रणमा लिइएको उनको भनाइ छ । चालक, आयातकर्ता, एजेन्ट, बैंकका कर्मचारी र भैरहवा भन्सारको सुरक्षा हेर्ने अन्नपूर्णका तीन जना कर्मचारी गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताउँदै उनले यसबारेमा आफूले धेरै बोल्न नमिल्ने प्रतिक्रिया दिए ।  

कृष्ण फिडले काठमाडौं पठाउन उक्त माछा आयात गरेको खुलेको छ । क्वारेन्टाइनबाट माछाको स्वास्थ्य परीक्षणसमेत गराइएको छ । भन्सारमै कार्यरत कर्मचारीहरुको नक्कली हस्ताक्षरबाट राजस्व बुझाएको भनि नक्कली प्रज्ञापन पत्र बनाएर उक्त गाडी त्यहाँबाट निस्किएको स्रोतको दाबी छ ।

सरकारी कागजात कीर्ते गरी भन्सारको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै ट्रक बाहिरिनु गम्भीर विषय हो । तर, भैरहवा भन्सारको हकमा भन्ने हो भने यौ नौलो घटना होइन । 

वि.सं. २०७६ जेठ ६ गते जिजे एजेट ६३५१ नम्बरको ट्रक पनि यसैगरी बिना चेकजाँच भैरहवा भन्सारबाट बाहिरिएको थियो । उक्त ट्रकबाट प्रज्ञापनपत्र नभएको तीन सय ८८ कार्टुन डाइपर र सेनेटरी प्याडसँगै एक थान बेबले ३२ लेखिएको पेस्तोल बरामद भएको थियो ।

त्यसैगरी, २०७८ भदौको पहिलो हप्ता सशस्त्र प्रहरी बलले भैरहवा भन्सारको पार्किङ्गबाट निस्किएको लु.२.च.२५० नम्बरको गाडी पक्राउ गरेको थियो । उक्त गाडीबाट नक्कली स्टिकर बरामद भएको थियो । 

आन्तरिक राजस्व विभागको नाम लेखिएको उक्त स्टिकर भारतमा छापेर ल्याइएको प्रष्ट हुन्छ । २०७४ साउन २६ गते ना.६ ख.५६३५ र ना.४.ख.४१२६ नम्बरको ट्रकको एउटै प्रज्ञापन पत्र फेला परेको थियो, त्यो पनि भन्सारबाट बाहिर निस्किएर चेकजाँच गर्ने क्रममा । 

एकै प्रज्ञापन पत्रमा फरकफरक मालवस्तु लेखेको बाहिरिएपछि ठूलै हंगामा भएको प्रत्यक्षदर्शीहरुले बताउने गरेका छन् । २०७९ मंसिर २२ गते भन्सारले ‘जिप्सन ग्रायानुअल्स’ भनि पास गरेका सामान पनि प्रहरी नियन्त्रणमा परेको थियो । यी केही उदाहरण मात्र हुन् । विगतमा पनि भैरहवा भन्सारमा धेरै अवैध कार्य हुँदै आएको खबर बाहिरिएको थियो ।

त्यहाँका अधिकृत मानबहादुर विश्वकर्मा गलत धन्दाकै कारण निलम्बनमा परेका थिए । त्यस्तै, धेरैजना एजेन्टको लाइसेन्स खारेज भइसकेको छ । कतिपय एजेन्ट निलम्बनमा परे । तरपनि त्यहाँ कुनै सुधार भएको देखिँदैन । भन्सारमा उही पूरानै कर्मचारीहरुको राज छ ।

मन्त्री र सचिवको सोर्सफोर्स लगाउँदै भन्सारमा आउन कर्मचारीहरु मरिहत्ते गर्छन् । सामान्य कार्यालय सहयोगीले समेत भन्सारमा बसेर वार्षिक लाखौं रुपैयाँ अतिरिक्त आम्दानी गर्ने चर्चा चल्दै आएको छ । 

भन्सारमा अवैध आर्जन कति हुन्छ ? भन्ने कुराको पुष्टि मानबहादुर विश्वकर्माको सम्पत्तिले नै गर्छ । उनको समेत संलग्नता रहेको घटनालाई छानबिन गर्न भन्सार विभागका निर्देशक दिव्यराज पोखरेलको नेतृत्वमा छानबिन समितिसमेत गठन भएको थियो । 

भैरहवा भन्सारमार्फत् हुने आयात निर्यातमा यतिबेला व्यापार घाटा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा एक खर्ब ६८ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । एकातिर व्यापार घाटा बढ्नु अर्कोतिर आयातित मालवस्तु भन्सार कार्यालयको प्राङ्गणबाट राजस्व नबुझाई छुट्नु उदेकलाग्दो विषय हो ।

टिप्पणीहरू