रास्ट्रको ढुकुटीमाथि चर्काचर्की
राष्ट्र बैंकका दुईजना डेपुटी गभर्नरको म्याद आगामी फागुन तेस्रो साता सकिँदैछ ।डेढ दर्जन विशिष्ट कर्मचारीमध्येबाट सरकारले नियुक्त गर्ने डेपुटी बन्न अहिलेदेखि बाघचालको सिद्धान्तमा टेकेर चलखेल शुरु भएको छ । सामान्यतयाः कोर फन्कन्सन (गतिला विभाग) मा बसेर काम गरेमा डेपुटीको लागि सबैभन्दा गतिलो आधार तय हुने मान्यता राख्ने गरिन्छ । तर, राजनीतिक पहुँच विना ती सबै प्रयास व्यर्थ हुने विगतका नियुक्तिबाटै पुष्टि भइसकेको छ ।
त्यहि मेसो मिलाउन केही दिनअघि राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक निलम ढुङ्गानातिम्सिनाले गभर्नरको कार्यकक्षमा दुईजना डेपुटी समेत भएको माहौलमा मुख खोलिन् । गभर्नर र डेपुटीहरूको कार्यकक्ष रहेको भवनको मुनि बैंकको केन्द्रीय ढुकुटी छ । त्यहि ढुकुटीको टुप्पोमा बसेर तिम्सिनाले ठूलै स्वरमा हाकिमहरूको ध्यानाकर्षण गराउँदै ‘सरहरूले म जत्तिको क्षमता भएको व्यक्तिलाई सँधै लो प्रोफाइलको विभागमा राख्न भएन । अष्ट्रेलियाबाट मास्टर्स गरेको छु । खुल्ला विश्वविद्यालय भएपनि भारतबाट पीएचडी सकाएँ । तरपनि गतिलो विभागको नेतृत्व गर्नबाट वञ्चित गराउनु भएको छ । बैंक नेतृत्वले मलाई पनि पुरुषको चस्माबाट हेर्नुपर्यो’ भनिन् ।
एकाएक महिला कार्यकारी निर्देशकको मुखबाट आगोरूपी असन्तुष्टि पोखिएपछि एकजना डेपुटीले थपे ‘तपाईं जत्तिको आँटिली र कडा स्वभावकी हाकिम त जनशक्ति व्यवस्थापन विभागमा पो बस्नुपर्यो । तपाईं त्यहाँ बसे कर्मचारीलाई ठेगान लगाउन हामीलाई पनि सजिलो हुन्थ्यो ।’ गभर्नर र अर्का डेपुटी चुपचाप सुनिरहेका बेला तिम्सिना भने झन् चर्को स्वरमा बोल्न थालिन् ‘जनशक्ति, सनशक्ति होइन सर, मेरो पहिलो रोजाई अनुसन्धान हो । त्यसपछि बैंक तथा वित्तीय संस्था नियमन, तेस्रो रोजाईमा विदेशी विनिमय र अन्तिममा बैंक सुपरीवेक्षण विभाग हो ।’
आगामी साता विभागीय प्रमुखहरूको सरुवा हुने चाल पाएपछि जमेर मुख खोलेकी तिम्सिनालाई गभर्नरले चाँहि ‘हुन्छ, हेरौंला’ भनेर टारिदिएको स्रोतको दाबी छ । यता, छिट्टै हुने विभागीय प्रमुखहरूको सेटिङ्गलाई आगामी डेपुटीको नियुक्तीसँग जोडेर हेरिएकाले अन्य कार्यकारी निर्देशकहरू बिलखवन्दको अवस्थामा छन् ।
तिम्सिना तिनै हुन्, जसलाई तत्कालीन गभर्नर युवराज खतिवडाले वाशिङ्गटन डिसीस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषमा बैंकको प्रतिनिधि बनाएर नपठाउन रातारात अनुसन्धानबाट बैंक सुपरीवेक्षण विभागमा सरुवा गरिदिएका थिए । तिम्सिनाभन्दा एक तह मुनिका कनिष्ठ छोरी ज्वाईं उपनिर्देशक रामशरण खरेललाई दुई वर्षमा दुई करोड कमाउन अमेरिका पठाएपछि ‘सुपरीवेक्षण विभागको लागि असक्षम निर्देशकको’ पगरी गुथाएर उनलाई पुनः अनुसन्धान विभागमै लगेका थिए ।
सुरक्षाकर्मीले गलहत्यायो
कोरोना महामारीको सन्त्रासमा पनि बढुवाको एजेण्डा लिएर गएका युनियनका पदाधिकारी र बैंकका एकजना डेपुटीबिच शुक्रबार निकै चर्काचर्की परेको छ । सरकार र लोकसेवा आयोगले समेत कोरोनाको असरबाट खर्च जोगाउन सरकारी, अर्धसरकारी तथा संस्थानहरूलाई यसअघि नै निर्देशन दिएको थियो । निर्देशनमा प्रशासनिक खर्च घटाउनेदेखि, कायम मुकायम प्रदान नगर्ने र नयाँ दरबन्दी नथप्नेसम्मका विषय समेटिएका छन् । तर, काँग्रेस निकट वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीहरूले जसरी पनि अधिकृत द्वितीयको दरबन्दी बढाउनुपर्ने माग राख्दै डेपुटीसँग सीमा नाघेर विवाद गरेको बताइएको छ ।
स्रोतका अनुसार डेपुटीले ‘अहिलेको महामारीमा पनि बढुवाको माग लिएर आउन लाज लाग्दैन ? के काम गर्नुहुन्छ तपाईंहरू ?’ भन्ने बित्तिक्कै युनियनका एकजना पदाधिकारी जाइलाग्दै ‘तपाईंले चाँहि के काम गर्नुभएको छ ?’ भनेर प्रतिवाद गरेका थिए । प्रतिवाद छिनाझम्टीमा परिणत हुने देखेपछि डेपुटीको ढोका बाहिर रहेका सुरक्षाकर्मीले ती कर्मचारीलाई बाहिर निकालेको बताइन्छ ।
टिप्पणीहरू