शीतल निवासको रातो मसी, आममाफी र कानुनको कसी

शीतल निवासको रातो मसी, आममाफी र कानुनको कसी

हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा सरकारले छानिएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गर्ने गरेको छ । ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीबन्दीहरुलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिने चलन छ । 

तर, पछिल्लो समय आममाफीको नाममा न्यायको हत्या गर्ने क्रम बढेको आरोप लाग्न थालेको छ । विश्वव्यापी अभ्यास र मान्यतालाई कुल्चिएर मनलाग्दी ढंगले आममाफी दिन थालेपछि आम नागरिकले विरोध जनाउन थालेका हुन् । 

यस पटक १९ जनालाई आममाफी र चार सय ८२ जनाको कैद सजाय मिनाहा गरिएको छ । टीकापुरको नरसंहारमा दोषी ठहर भएपछि जन्मकैद भुक्तान गरिरहेका पूर्वसांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिनुभएको हो । 

यता, ललितपुरको नख्खुस्थित कारागार कार्यालयको सिफारिसमा यसपटक १४ जनाको कैद मिनाहा भएको छ । तीमध्ये छ जना ज्यान मार्ने उद्योग, पाँच जना चोरी डकैती, तीन जना सवारी ज्यान मुद्दा र एक जना हातहतियार खरखजानाका कसूरदार छुटेका छन् । 

चोरी डकैतीको कसूरमा सजाय भुक्तान गरिरहेका सोल्टी भन्ने भीमकुमार घर्तीमगर, मन्दिप विश्वकर्मा, रवि भट्ट, रणधीश पोदार, रुपेश छोटे भन्ने रुपबहादुर थापामगर छुटेका छन् । काठमाडौं जिल्ला अदालतले चोरी डकैतीको कसूरमा बाग्लुङका भीमकुमारलाई थुनामा पठाएको थियो । 

२०७६ सालदेखि कारागारमा रहेका धनुषाका मन्दिपलाई काठमाडौं जिल्ला अदालतले चोरीको कसूरमा कैद सजाय सुनाएको थियो । सोही कसूरका अर्का कसूरदार नुवाकोटका रविलाई पनि काठमाडौं जिल्ला अदालतले नै कैद सजाय गरेको हो । उनी २०७७ सालदेखि कैद सजाय भोगिरहेका थिए । 

भारतका रणधीर पोदार र रामेछापका रुपबहादुर थापामगर डकैती कसूरमा पाँच वर्षदेखि कैद सजाय भोगिरहेका थिए । उनीहरुले २०७६ सालदेखि जेलजीवन बिताएका हुन् । कारागार कार्यालयको सिफारिसमा उनीहरुको कैद सजाय मिनाहा गरिएको छ ।  

कारागार कार्यालयले ज्यान मार्ने उद्योगका कसूरदारलाई चोरी डकैतीको तोकिएको सजाय भुक्तान नगरेको अवस्थामा पनि बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको पाइएको छ । ज्यान मार्ने उद्योगजस्तो संगीन अपराधका कैदीबन्दीलाई सजाय काटेको दुई वर्ष नबित्दै कैद सजाय मिनाहा गरेर छाडिएको छ । 

२०७७–७८ का सवारी ज्यान र अंगभंग, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानलगायतका कसूरदारले सजायबाट उन्मुक्ति पाएका छन् । सिन्धुलीका चटपटे भन्ने प्रदीप विक ज्यान मार्ने उद्योग कसूरमा २०७७ देखि कैद सजाय बिताइरहेका थिए । उनले पनि  कैद छुट पाएका हुन् ।

त्यस्तै, सवारी ज्यान मुद्दामा २०७८ सालदेखि कैद सजाय भोगिरहेका दोलखाका सुधांशु श्रेष्ठ पनि थुनामुक्त भएका छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनलाई कैद सजायका निम्ति नख्खु कारागार पठाएको थियो । 

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग कसूरमा धादिङ्ग जिल्ला अदालतले मने भन्ने मनबहादुर तामाङ्गलाई २०७० सालमा नख्खु कारागार पठाएको थियो । उनी पनि गणतन्त्र दिवसको अवसरमा छुटिसकेका छन् । 

सिन्धुपाल्चोक जिल्ला अदालतबाट कैद सजायको फैसला भएका अनिल भन्ने रामबहादुर श्रेष्ठ पनि त्यस्तै माफी पाउनेमध्येका एक हुन् । सवारी ज्यान र अंगभंग मुद्दामा उनी २०७७ देखि कैद सजाय भोगिरहेका थिए । सवारी ज्यान मुद्दामा सजाय काटिरहेका ललितपुरका जय तामाङ्गको कैद सजाय पनि मिनाहा भएको छ । ललितपुर जिल्ला अदालतले सवारी ज्यान मुद्दामा उनलाई २०७८ सालमा थुनामा पठाएको थियो । 

ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका बाराका विकास सरापलाई दुई वर्ष नबित्दै उन्मुक्ति दिइएको छ । काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने फैसला गरेपछि जेलजीवन बिताइरहेका उनको पनि सजाय मिनाहा गरिएको हो । 

ललितपुरको रामगोपाल महर्जन कर्तव्य ज्यान मुद्दामा जेलमा थिए । २०७८ सालदेखि जेलमा रहेका उनलाई पनि छोडिएको छ । ज्यान मार्ने उद्योगका कसूरदार विशाल खत्रीले सजायमा छुट पाएका छन् । दोलखाका विशाल २०७७ सालदेखि थुनामा थिए ।

काठमाडौं जिल्ला अदालतको आदेशपछि थुनामा रहेका उनी अस्ति छुटेका हुन् । हातहतियार खरखजाना मुद्दामा सजाय भोगिरहेका वीरबहादुर बम्जन जेल बाहिर आएका छन् । ललितपुर जिल्ला अदालतको आदेशपछि २०७८ सालदेखि जेलमा रहेका उनलाई पनि कैदमाफी गरिएको हो ।

टिप्पणीहरू