प्रधानमन्त्री उड्नुअघि शीतल निवासमा प्रमाणीकरण, मुलुक बाहिरकाले पनि नागरिकता पाउने

प्रधानमन्त्री उड्नुअघि शीतल निवासमा प्रमाणीकरण, मुलुक बाहिरकाले पनि नागरिकता पाउने

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । उहाँ पौने २ बजे नेपाल वायुसेवा निगमको उडानमा जम्बो टोलीका साथ भारत जान लाग्नुभएको हो ।

यता राष्ट्रपति रामचन्द्र पौडेलले केही घण्टाअघि नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । सरकारले जेठ १२ गत राष्ट्रपति पौडेललाई विधेयक प्रमाणीकरणको निम्ति अनुरोध गरेको थियो । आज बिहान पनि प्रधानमन्त्री शीतल निवास पुगेर आधा घण्टा राष्ट्रपतिसँग परामर्श गर्नुभएको थियो । 

यसअघि उक्त विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः विचारका लागि आग्रह गर्दै रोक्नुभएको थियो । संसदबाट पारित विधेयक गत असोजदेखि शीतल निवासमा थन्किएको थियो । 

आज प्रमाणीकरण गरिएको विधेयकमा जन्मका आधारमा जन्मसिद्ध नागरिक भइसकेकाको सन्तानले अब नागरिकता पाउने छन् । त्यसैगरी आमाको नामबाट मात्र पनि नागरिकता पाइने छ । 

नेपालको नागरिक रहेको आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वःघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने उल्लेख छ ।

विधेयकले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेछन् । विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

टिप्पणीहरू