कोही भ्रष्ट तारनहार निस्केला कि फेरि अदालतकै जग छेडेर ?

कोही भ्रष्ट तारनहार निस्केला कि फेरि अदालतकै जग छेडेर ?

सन्दर्भ – १ 

संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्षनेताहरूबीच प्रधानमन्त्री कार्यालय सिंहदरबार वा सम्बन्धित दलका नेताहरूको निवासस्थानमा छलफल भएको छ । त्यसभन्दा पहिले उहाँहरूबीच एक्लाएक्लै पनि छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर ... लगायत विषयमा छलफल गर्ने र राष्ट्रिय सहमति बनाउने प्रयास गर्नुभयो ।

केही महिनायता नेपाली सञ्चार माध्यमका नियमित समाचार हुन् यी । तर, डेढ–दुई दशकयताको राजनीतिक समस्या यही हो– केही दलका शीर्ष नेताहरूको सिण्डिकेट, सेटिङ वा निषेधको राजनीति । संविधान र कानुनले नचिनेको यही सिण्डिकेटले लामो समयदेखि देशलाई अनिर्णयको बन्दी बनाउने, विधि–पद्धति र विधानलाई कुल्चने, समस्या र प्राथमिकतालाई विषयान्तर गर्ने वा हलो अड्काएर गोरु चुट्ने काम गरिरहेको छ । केही नेताबीच हुने अपारदर्शी यस्ता आन्तरिक सहमतिलाई हामीले जबसम्म राष्ट्रिय सहमति, प्याकेजमा सहमति, सर्वदलीय समिति, विशेष छानबिन आयोग गठन, फास्ट ट्रयाक विधि आदिको लेपन लगाएर भजन गाइरहन्छौं तबसम्म प्राथमिकताहरूको विषयान्तर हुने क्रम रोकिन्न भने कुनै पनि समस्याबाट निकाश वा दीर्घकालीन समाधान पनि हुन सक्दैन ।

सबैलाई थाहा छ– हजुरबुबाबाट बुबाको भूमिका वा बुबाबाट हजुर बुबाको भूमिका निर्वाह हुनसक्दैन । यसलाई लैंगिक मैत्री बनाउने हो भने यसरी भन्दा पनि हुन्छ– हजुरआमाबाट आमाको भूमिका वा आमाबाट हजुर आमाको भूमिका निर्वाह हुन सक्दैन । आधुनिक अर्थात् यस शताब्दिको आठ दशक लामो इतिहासमा अहिले तेस्रो पुस्ताको सहभागिता र हस्तक्षेपपूर्ण भूमिका हुनुपर्ने हो तर यो शताब्दी लामो इतिहस एउटै पुस्ताको निगरानी र नियन्त्रणमा छ । दोस्रो पुस्ता पहिलो पुस्ताकै पद र पथ गामी बनेको छ । यो यसरी नियन्त्रणमा छ, जुन उज्यालो प्रकाशमा झुम्मिएका किरा त्यही प्रकाशको तापमा जलेर भुइँमा खसिरहेछन् । दोस्रो पुस्ता त्यसरी सिद्धिँदै छ भने तेस्रो पुस्ता अस्तित्वमै छैन वा पहिलो पुस्ताकै कठपुतली बनेर नाचेको छ । नेपाली राजनीतिको जालो लेखक शंकर लामिछानेको निबन्ध ‘एब्स्ट्रयाक्ट चिन्तनःप्याज’ जस्तै पत्रै पत्रले जेलिएको छ । लामिछानेको ५ दशक पुरानो निबन्धको एउटा प्रसंग यस्तो छ–

सबभन्दा ठूलो समस्या हो– म दशगजा जमिनमा उभिएको छु । एकातिरको सिमानामा पुर्खाको विश्वास छ, एकातिरको सिमानामा सन्तानको विश्वास ! म स्पुतनिकको उडानमा खुशी पनि हुन्छु, चन्द्रमाको धुलोमा रुसको हँसिया–हथौडा अंकित चिह्न उतारेको सुन्दा यस्तो गौरव अनुभव हुन्छ, मानौं हँसिया–हथौडा मेरै घरबाट ख्रुश्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रमामा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने पीर पनि मान्दछु– च्यामेपोडेलाई दान दिन्छु, मानौं महाराज मनु मेरा छामिछाने परिवारकै बाजे हुन्– एब्स्ट्र्याक्ट चिन्तन : प्याज, शङ्कर लामिछाने– २०३० ।

सन्दर्भ– २

नेपालको राजनीतिमा प्रमुख समस्या पारदर्शिता, उतरदायित्व र पुस्तान्तरण नै हो । समकालिन नेपाली राजनीतिको वाम–प्रजातान्त्रिक आन्दोलनमा आधा शताब्दिभन्दा लामो समय सक्रिय निर्वाहका अनगिन्ती उतारचढाव भोगेका र तुलनात्मक रूपमा सबैभन्दा पाका राजनीतिक व्यक्तित्व पनि हुन्– राधाकृष्ण मैनाली । उनै मैनालीले गतहप्ता अनलाइन खबरका लागि सागर चन्दसँगको अन्तर्वार्तामा प्रश्न गरेका छन्– ‘एउटा मान्छे सधैं पोलिटिकल हुन सक्दैन । तर, यहाँ त मान्छेहरू चितामा पुग्ने बेलासम्म पनि राजनीतिको धनु तन्काएको तन्कायै गर्छन् । एउटा मान्छेले यो समाजको नेतृत्व कति वर्षसम्म गर्न सक्छ ?’ आजीवन राजनीतिमा सक्रिय ७६ वर्षीय मैनाली लामो समयसम्म कम्युनिष्ट पार्टीको नेतृत्वमा रहनुका अतिरिक्त संवैधानिक राजन्त्रका साथै सक्रिय राजतन्त्रमा समेत गरेर पटक–पटक मन्त्रीको भूमिकामा रहे । जीवनको सन्न्यास आश्रम व्यतित गरिरहेका उनी अहिले विदेशमा रोजगारी गरिरहेको छोराको कमाइमा खाइजीविका चलाइरहेको बताउँछन् । अहिले पनि सत्ता राजनीतिको केन्द्रमा रहेका आफ्ना समकालीनहरूप्रति कटाक्ष गर्दै सोही अन्तर्वार्तामा भनेका छन्– ‘सत्ताको नशाले उहाँहरूलाई झ्याप बनाएको छ ।’

बन्दकोठामा जुठोपुरो चाटाचाट नै गर, अंकमाल वा अंगमाल जे जे गर तर बाहिर आएर एक अर्कालाई गाली–गलौजजस्तो सस्तो नाटक नगर ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वार्षिकोत्सव मनाएको समाचार गत महिना सार्वजनिक भएको थियो । वि.सं. २००६ साल वैशाख ९ गते स्थापित कम्युनिष्ट पार्टीभन्दा पहिले नै बनेको नेपाली कांग्रेसले पनि स्थापना दिवस त मनाउँदो हो तर कम्युनिष्ट पार्टी स्थापना दिवसको तुलनामा कांग्रेस पार्टीको भने चर्चा वा समाचार यो पंक्तिकारको ‘नोटिस’मा नपरेको हुन सक्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेजस्तै समाजवाद वा जनवादको लक्ष्यमा पुग्ने उद्देश्य लिएका यी दुवै पार्टीहरूले नेपालको राजनीतिलाई ‘होल्ड’ गरेको ०४६ यताका ३५ वर्ष पुगिसकेको छ । अरू धेरै विषय तपशिलमा छोडेर नेपाली कांग्रेसका अर्थशास्त्रीद्वय अर्थात् महत दाजु भाइ अहिले पनि ‘भो पुग्यो, हामीले सकेनौं र जानेनौं’ भन्नुहुन्न । सन्न्यास आश्रमतिर जानुपर्ने जीवनको ढल्कँदो उमेरको त्रास बोकेर सुमेरू परिक्रमामा आलोपालो सत्तारोहणको दौडमा हुनुहुन्छ उहाँहरू । विश्व कम्युनिष्ट आन्दोलनको दीक्षा नेपाली जनतामा पु¥याउने ‘महान् अभिभारा’ आफ्नो दायित्व रहेको ठान्नु हुने माक्र्सवादी अध्येता घनश्याम भुसालले पनि मन्त्री हुँदाका बखत सबै नेपाली बालबालिकालाई पेटभरि दूध भात वा मासुभात खुवाउने उद्घोष गर्नुबाहेक उखु किसानलाई उखुको मूल्य चुक्ता गर्न वा किसानलाई मलको जोहो गरिदिन भ्याउनु भएन !

सन्दर्भ–३

गणतन्त्र नेपालको तेस्रो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दौडमा होमिएको ६ दशकपछि देशको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ‘रहर’ प्राप्त गर्नुभएको छ । राजनीतिमा ‘रहर’ कि आफ्नै हुनुपर्छ अथवा आफ्नैको भए पनि हुनुपर्छ, यस्ता उदाहरण देखे–भोगेका उहाँका अन्य समकालीनमा पनि यस्ता ‘रहर’ हुनु गणतन्त्रको गुण नै हो । गणतन्त्रको गुणमा वंश परम्पराका आधारमा राजा हुने नभएर जनताको छोरा–छोरी जनताबाटै निर्वाचित भएर राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधानमन्त्री हुनु हो । तर, ५ पटक प्रधानमन्त्री भइसक्नुभएका कांग्रेस सभापतिको ‘भाग्य’ नै ७ पटक पो हो त उहाँले प्रधानमन्त्री हुनुपर्ने भनेर ज्योतिषीले घोषणा गरेपछि विश्वकै सबैभन्दा पुरानो ज्योतिष विधा जसले यो ब्राह्माण्डको समेत सही हिसाब किताब राख्न सक्छ भने यति सानो देशको एउटा प्रधानमन्त्री हुने कुरा ‘फेल’ खान दिनेगरी पछाडि हट्न पनि मिल्दैन उहाँ अर्थात् नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले । देशले आवश्यक ठाने वा पार्टीले मौका दिए मात्र होइन कथाले मागे पूर्वप्रधानमन्त्रीहरू अरू पनि लाइनमा हुनुहुन्छ आ–आफ्ना भूमिकामा अभिनय गर्न । उहाँहरू कसैलाई पनि पदको कुनै मोह त छैन तर चाहना यति मात्र हो कथामा आफ्नो भूमिका चाँडै आओस् । कथा परिकल्पनाकार पालो मिच्न भएन !

पदको भारी टाउकोमा बोकेर कथाले मागेको भूमिका खोज्दै कथा परिकल्पनाकारको खोजीमा झुकेका गणतन्त्रका नेताहरूबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले एउटा कटुसत्य टिप्पणी गरेका रहेछन्– ‘ठूला पार्टीहरू राजा जस्तै आउने, राजाजस्तै जाने नै हो भनेचाहिँ यो संसद्को गरिमा त्यतिसाह्रो रहन्छ जस्तो हामीलाई लागेको छैन ।’ आखिर किन यस्तो अप्रिय आशंकाको बादल मडारिरहेको छ ? यो सबै परिघटनाको कारण केही वा सीमित पुराना राजनीतिक पार्टीका नेताहरूको ‘सेटिङ’ र ‘कार्टेलिङ’ मा हुने गरेको राज्य संयन्त्रको सौदाबाजी हो ।

सन्दर्भ–४

जनमतमा एक दर्जन ठूला साना पार्टी छन् । तीमध्ये नेकपा (एमाले) वा अरू १–२ वटा पार्टीलाई छाडेर ९–१० पार्टीको गठबन्धन सरकार छ । तर, तीन ठूला दलका तीन नेता त्यसमा सत्ता गठबन्धनमा पनि नभएका नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीका अतिरिक्त सत्ता गठबन्धनमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड मात्र बसेर के छलफल गर्छन् । त्यो नितान्त अपारदर्शी छलफल आपसी लेनदेनको सौदावाजी मात्र हो । शीर्ष नेताहरूका नाममा हुने कुनै पनि भेटघाट बन्द कोठाहरूमा हुनुहुन्न । सम्बन्धित राजनीतिक पार्टीका पदाधिकारी, सचिवालयका कर्मचारी र जनमतप्राप्त प्रतिनिधिसभामा सहभागी ठूला–साना सबैको समानुपातिक (जनमतका आधारमा) सहभागितामा मात्र सहमति निर्धारण गरिनुपर्छ । सम्बन्धित पार्टीका नेता, संसदमा प्रतिनिधित्व गर्ने दलका र स्वतन्त्र सांसदहरूले यो अहिले भइरहेको शीर्ष नेताहरूको यो सेटिङ निःशर्त नतोडे हामीले अहिलेको अन्योलबाट तत्काल निकासको आशा नगरे हुन्छ । शीर्ष भनिएका सबै नेता बाटो छोड, युवाहरूको बाटो नछेक । गतिरोध नबढाऊ, निकास देऊ । बन्दकोठामा जुठोपुरो चाटाचाट नै गर, अंकमाल वा अंगमाल जे जे गर तर बाहिर आएर एक अर्कालाई गाली–गलौजजस्तो सस्तो नाटक नगर । जनतामा निराशा र भ्रम नबढाऊ । वैमनश्यतापूर्ण समाज र निराश जनताले तिमीहरूको सत्ताको भूगोल थामिरहन सक्दैनन् भनेर बुझ ।

अन्त्यमा यो पनि– साहित्यकार कृष्ण धरावासीले केही दिनपहिले फेसबुक स्टाटसमा लेख्नुभएको छ– भीष्मले भनेका थिए– ‘मेरो पेटमा दुर्योधनको अन्न परेकाले मैले सत्यको पक्षलाई साथ दिन सकिन ।’ हाम्रा नेता र तिनका सन्तानको पेटमा पनि अनेकौँ काण्ड गरी कमाएको सम्पत्तिको नुन परेकाले उनीहरूको इतिहासको भारी बोकेर जनसागरमा हेलिँदै गरेको टाइटानिक जहाज जनताको आँशु र घृणाको थुकले भरिएर डुब्न लागेको छ । कोही भ्रष्ट तारनहार निस्केला कि फेरि अदालतकै जग छेडेर !
 

टिप्पणीहरू