वैदेशिक रोजगारीको प्रलोभनमा ठग्ने क्रम रोकिएन

वैदेशिक रोजगारीको प्रलोभनमा ठग्ने क्रम रोकिएन

वैदेशिक रोजगारीमा दुबई र कम्बोडिया पठाइदिने नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएकी मुनादेवी कार्की र शेरबहादुर तामाङ प्रहरी नियन्त्रणमा पुगेका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

झापा घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्दै आएकी ४५ वर्षीया मुनाले वैदेशिक रोजगारीमा दुबई पठाइदिने र त्यहाँ पुगेपछि बाइक राइडरको काममा लगाइदिने प्रलोभनमा ठगेकी थिइन् । 

दुबई जान प्रतिव्यक्ति साढे चार लाख लाग्ने र मासिक एक लाख बढीको तलब हुने प्रलोभनमा पीडितबाट पटक पटक गरी साढे चार लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । 

सोलुखुम्बु घर भई र हाल काठमाडौंको स्वयम्भू बस्दै आएका ४६ वर्षीय शेरबहादुरले पनि वैदेशिक रोजगारीमा कम्बोडिया पठाइदिने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिने प्रलोभनमा ठगेको खुलेको छ ।

कम्बोडिया जान प्रतिव्यक्ति छ लाख रुपैयाँ लाग्ने र मासिक डेढ लाख बढी तलब हुने प्रलोभनमा पीडितबाट पटक पटक पाँच लाख रुपैयाँ उठाएपछि उनी फरार भएका थिए । 

आफुहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । सोही क्रममा पक्राउ परेका उनीहरुलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति प्रहरीले विभाग पठाएको छ ।

टिप्पणीहरू