एमालेको केन्द्रीय अध्यक्ष हुने इच्छा छ

एमालेको केन्द्रीय अध्यक्ष हुने इच्छा छ

०७९ सालको संघीय निर्वाचनमा नेकपा एमालेका सबैभन्दा कान्छो उम्मेदवार थिए २८ वर्षीय अब्दुस मियाँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र नम्बर २, गोर्खाबाट प्रचण्डसँग भिडेका उनले ७ हजार ३९३ मतसहित तेश्रो स्थानमा चित्त बुझाएका थिए । ०७४ सालबाट रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीमा आवद्ध भएर राजनीतिक यात्रा शुरु गरेका उनी सो पार्टीको संस्थापक ६ जनामध्येका एक हुन् । साझा र विवेकशील नेपाली दलको एकतापछि साझा विवेकशील पार्टी, युवा संगठनको अध्यक्षसम्म बने । कुनै समय युथ इनिसिएटिभको अध्यक्ष रहेका उनी मोटिभेटरसमेत हुन् । नेतृत्व विकाससम्बन्धमा उनका प्रवचन सुन्न टिकट काटेरै मान्छेहरूको लाइन लाग्छ, जसरी कन्सर्ट हेर्न दर्शक/श्रोता टिकट काटेर पुग्छन् । उनका अनुसार सातदोबाटोस्थित एउटाबाहेक देशैभरका अडिटोरियममा हलमा पुगेर कार्यक्रम गरिसकेका छन् । सात पटक पूर्व–पश्चिम नेपाल यात्रा गरेका छन् । जन्मथलो गोरखा भए पनि काठमाडौंलाई कर्मथलो बनाउँदै आएका उनले प्लस टुमा विज्ञान विषय पढे, त्यसपछि पब्लिक हेल्थतिर मोडिए । र, अहिले पब्लिक पोलिसीमा जोडिएका छन् । हालै मात्र केपी शर्मा ओलीले अन्यत्रबाट नवप्रवेशी १३ जनालाई केन्द्रीय सदस्य मनोनयन गर्दा अब्दुस मियाँ छुटे । स्रोतका अनुसार अब्दुसलाई केन्द्रीय सदस्य बन्नबाट रोक्न चार छुट्टाछुट्टै टोली बालकोट पुगेका थिए । 

– हरि गजुरेल

२९ वर्षकै उमेरमा तपाईंको पहिलो चुनावी प्रतिस्पर्धा नै प्रचण्डसँग भयो । कस्तो अनुभूति हुँदोरहेछ ? 

– ०७९ अघिको संघीय संसदमा ५० वर्ष कटेकाहरू मात्र देखिन्थे । नेपालको झण्डै आधा जनसंख्या युवाले ओगटेको छ तर संसदमा यो पुस्ताको प्रतिनिधित्व झण्डै शून्यझैं देखेपछि यही परिस्थितिलाई चिर्नुपर्छ/परिवर्तन गर्नुपर्छ भन्ने लाग्थ्यो । चुनाव लडेर प्रतिनिधि सभा सदस्य बन्ने प्रयास गर्नुपर्छ भन्नेसम्म त लाग्यो तर दुई पटक प्रधानमन्त्री बनिसकेका व्यक्तिसँग भिड्नुपर्ला भन्नेचाहिँ सोचेको थिइन । भनिन्छ, जीवन नियमले कम र संयोगले बढी चल्छ । रविन्द्र मिश्रको नेतृत्वमा एउटा वैकल्पिक शक्ति निर्माण गर्न सकिन्छ कि भन्ने लागेको थियो । त्यो अभियान टुंगियो । एमालेमा प्रवेश गरेपछि नेतृत्वले कहाँबाट चुनाव लड्ने भनेर सोधको थियो । काठमाडौंबाट लडेक सम्भवतः जित्छु तर जन्मथलो गोरखाकै नेता बन्न रहर छ भन्ने जवाफ दिएको थिएँ । संयोग, गोरखाबाट लड्ने अवसर मिल्यो पनि । 

झण्डै ५ वर्ष वैकल्पिक दलमा आबद्ध रहेपछि त्यताबाट पार लाग्दैन भन्ने बुझेरै हो वा केही बाध्यता आइलागेर एमाले बन्नुभएको ? 

– वैचारिक रूपमा ‘सेन्ट्रल लेफ्ट’ राजनीति गर्ने सोचसहित नयाँ दल बनाउँदा २३ वर्षको थिएँ । पाँच वर्षसम्म इमान्दार प्रयास गरियो । विविध कारणले पार्टी निर्माण हुन सकेन र विघटन भयो । पार्टी विघटन हुँदैमा राजनीतिमा पूर्णविराम लाग्ने कुरा भएन । दुईवटा विकल्प थिए– कि त अर्काे नयाँ वामपन्थी दल खोल्ने वा कुनै दलमा आबद्ध हुने । तत्काल अर्काे वामपन्थी दल खोल्ने सम्भावना नभएपछि दोस्रो विकल्प रोजेको हुँ । 

मूलधारको राजनीतिलाई वैकल्पिक शक्ति र स्वतन्त्रहरूले चुनौती दिइरहेका बेला स्वतन्त्र पार्टी छाडेर एमाले बन्नुपर्ने बाध्यताचाहिँ के थियो नि ? 

– मान्छेहरूलाई कन्फ्युजन छ, यो किन स्वतन्त्र पार्टी छोडेर एमालेको पछि लाग्यो र चुनाव हार्‍यो भन्ने । म स्वतन्त्र पार्टीमा कहिल्यै गएको थिइनँ । मतको आधारमा भन्ने हो भने एमाले नै पहिलो पार्टी हो र स्वतन्त्रको पोजिसन चौथो । आजसम्म पनि वैचारिक रूपमा स्वतन्त्र पार्टीले आफ्नो लाइन क्लियर गर्न सकेको छैन । हामीले जुन दल खोल्यौं त्यो विघटन हुनुको प्रमुख कारण नै वैचारिक अस्पष्टता थियो । यस्तै एउटै पार्टीमा भएका दुई समूह (सेन्टर राइट र सेन्टर लेफ्ट) बीच लुछाचुँडी अर्काे कारण भैदियो । स्वतन्त्र पार्टीमा समाहित नहुनुको कारण उसको वैचारिक अस्पष्टता नै हो । कालान्तरमा वैचारिक ध्रुविकरण हुने, पार्टी ध्वस्त भएर दोश्रो प्रयास पनि बिफल हुनुभन्दा वैचारिक रूपमा जहाँ उभिन्छु त्यही पार्टीमा लाग्नु श्रेयष्कर र दीर्घकालसम्म जाने हुँदा एमालेमा समाहित भएको हुँ । 

सुनिएअनुसार तपाईंलाई चुनाव लड्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले २५ लाख र आमाले १० लाख रूपैयाँ दिनुभएको थियो । पहिलो निर्वाचनमै प्रचण्डसँग होमिनुभयो अर्थात् आगोमा हामफाल्नुभयो, ‘हट केक’को रूपमा चर्चामा छाउनुभयो तर अहिले निष्क्रिय देखिनुहुन्छ, किन यस्तो ?

– पटके प्रधानमन्त्रीसँग भिड्दा सरसहयोगका लागि साथीसर्कलसँग सार्वजनिक आह्वान गरेँ । नेपालभरका निर्वाचन क्षेत्रमध्ये टप थ्रीमा मेरो चुनावी चर्चा भयो । परिणाम आइसकेपछि उतिसाह्रो अन्तर्वार्ता नदिएका कारण यो मान्छे हरायो, निष्क्रिय भयो कि भन्ने लागेको हुनसक्छ यद्यपि निर्वाचनपछाडि मेरो राजनीतिक सक्रियता घटेको छैन, झनै बढेर गएको छ । अहिले पार्टीलाई बुझ्ने, दस्तावेज एवं रणनीति अध्ययन गर्ने, नेताहरूसँग चिनजान गर्ने, सुखी नेपाली, समृद्ध नेपालको भिजनलाई कसरी व्यवहारमा उतार्न सकिएला भन्ने विषयमा गहन ढंगले अध्ययनमा लागेका कारण मिडियामा उतिसाह्रो देखिएको छैन ।

अरू राउण्ड वान, टु, थ्री हुँदै खेल्छन् । म सिधै ग्राण्ड फिनालेमा परें । एमसिसी प्रोजेक्टका उग्र आलोचक र त्यसको मुख्य योजनाकार अटाएको पार्टी कस्तो होला ? सामाजिक सञ्जालमा खासै फलोअर्स नभए पनि एमालेले लोकप्रिय मत किन ल्यायो त ?

केपी शर्मा ओलीले हालै मात्र १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभयो । निर्वाचन पराजयपछि सान्त्वनास्वरूप तपाईंलाई पनि मनोनयन गर्ने वचन दिइएको कुरा कत्तिको सत्य हो ? 

– म एमालेमा निशर्त प्रवेश गरेको हुँ । त्यसअघि कुनै पनि शीर्षस्थ नेतासँग भेट गरेको थिइनँ । पार्टीबाटै निर्णय गरेर गोरखामा उठाउनुभयो । प्रश्न उठ्ला, केन्द्रीय सदस्य बन्ने अब्दुस मियाँको इच्छा नै छैन त ? छ, स्वभाविक रूपमा । केन्द्रीय सदस्य मात्र होइन, अध्यक्ष नै बन्ने इच्छा छ । मनोनयन गरिएको भए कान्छो केन्द्रीय सदस्य हुन्थें । पुराना भनिएका दलमा ४० वर्ष ननाघेका कोही पनि केन्द्रीय सदस्य छैनन् । यदि, मलाई यो जिम्मेवारि दिइएको भए रेकर्ड ब्रेक हुन्थ्यो । मनोनीत गरिएको भए गज्जब हुन्थ्यो, नभए पनि अर्काे महाअधिवेशनमा उठ्नेछु । 

एमाले पार्टीमा बसेर के गर्ने लक्ष्य छ ? 

– आफैँ वामपन्थी विचारधाराको भएको र डे वानदेखि नै कल्याणकारी राज्य बनाउनुपर्छ भन्दै आएकोले पार्टीको घोषणापत्रमा समेत २१ ग्यारेन्टीसहित नेपाललाई कल्याणकारी राज्य बनाउनुपर्छ भन्ने भिजन र सुखी नेपाली, समृद्ध नेपाल भन्ने नाराबाट आकर्षित भएको हो । केपी ओलीका भिजनलाई कार्यान्वयनमा लैजानका लागि मजस्ता हजारौं युवा नेता चाहिएको छ । यसनिम्ति बेष्ट लिडर हुनसक्छु भन्ने लागेको छ । 

यही भेल ०८४ सम्म रह्यो भने ठूला दलको हविगत के होला ? त्यतिखेर तपाईं निर्वाचन लड्नुहुन्छ कि हुन्न ?

– यस पटकको निर्वाचनमा प्रशस्त अनुभव बटुलेको छु । अरू राउण्ड वान, टु, थ्री हुँदै खेल्छन् । म सिधै ग्राण्ड फिनालेमा परें । यो पछाडि मैले लड्ने निर्वाचन सम्भवतः सहज हुनेछ । ०८४ को निर्वाचन गोरखाबाटै लड्छु, जित्नेगरी । 

भीडको बलमा उदाएकाहरूको आयु कतिञ्जेल हुन्छ ? 

– त्यहाँ उग्रवामपन्थी र उग्र दक्षिणपन्थीहरू पनि देखेको छु । सबै किसिमका राजनीतिक सिद्धान्त बोक्ने मान्छेहरू बसेका कारण जुन दिन राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वैचारिक कित्ता स्पष्ट पार्छ त्यो दिन फेरि विवेकशील साझाकै स्थिति नआउला भन्न सकिन्न । 

कतिपय राजनीतिक विश्लेषक राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘भाइकांग्रेस’हो भन्दै छन् । कतिपय अमेरिकी एजेण्डाको समूह हो भन्छन्, तपाईंलाई कस्तो लाग्छ ? 

– एमसिसी प्रोजेक्टका उग्र आलोचक रवि लामिछाने र त्यसको मुख्य योजनाकार स्वर्णिम वाग्ले दुवै जना अटाएको पार्टी कस्तो होला ? रवि लामिछानेले टेलिभिजनमा कराउँदा कम्तिमा २० वटा टेपमा एमसिसी राष्ट्रका लागि घातक हो भन्नुभएको छ । राजनीति गर्नुअघि एउटा विचार र पार्टी खोलेपछि अर्काे विचार हुने भए त भन्न सकिन्न । तर, उग्र आलोचक र मुख्य योजनाकार नै एउटै पार्टीमा अटाउनुले संशय पैदा गरेको छ । 

तपाईंलाई रवि लामिछानेदेखि राप्रपाले पनि महामन्त्री अफर गरेको चर्चा थियो, वास्तविकता के हो ? 

– विवकेशील साझामा हुँदा रवीन्द्र मिश्रसँग अत्यन्त नजिक थिएँ, अर्थात् उहाँको दाहिने हातजस्तै भएर पाँच वर्ष बिताएँ । त्यही कारण उहाँले अत्यन्त सदाशयतासाथ राप्रपा पार्टीमा ज्वाइन होऊ भन्नुभएको थियो । उहाँहरूले प्रेम देखाउनुभयो, त्यसप्रति सम्मान गर्छु । मलाई एमालेबाहेक सबै पार्टीबाट अफर थियो । तर, रोचक पक्ष जुन पार्टीले अफर ग¥यो त्यो पार्टीमा गइन, जुन पार्टीले अफर नै गरेन सैद्धान्तिक र भिजनका हिसाबले मन परेका कारण चुपचाप प्रवेश गरेँ । 

केही दिनअघि एमाले उपमहासचिव विष्णु रिमालले कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आयो भने पार्टीले बहुमत ल्याउने र त्यसबाहेक टाउको दुखाउनै नपर्ने अभिव्यक्ति दिए । तपाईंकै सामाजिक सञ्जाल नियाल्दा ५२ हजार फलोअर्स देखिन्छ । त्यही फलोअर्स देखेर ओलीले तपाईंलाई एमालेमा भित्र्याएको भन्नेहरू पनि छन्, कुरा ठ्याक्कै यही हो ? 

– संगठनबिना कुनै पनि विचार लामो समयसम्म जान्छ भन्ने लाग्दैन । नेपालमा सिद्धार्थ बुद्धभन्दा अगाडि अरू पनि बुद्ध थिए । सबै बुद्धको ज्ञान बराबरै होला तर सिद्धार्थ गौतम बुद्धको ज्ञानमात्र संसारभर किन व्यवस्थित रूपमा बाँडियो ? त्यसको कारक संगठन हो । संगठनबिनै कुनै विचार, सिद्धान्तलाई लामो समयसम्म टिकाइराख्छु भनेर सोचिन्छ भने त्यो अल्पकालीन योजना मात्र हो । नियालेर रास्वपाका नेताहरूको सामाजिक सञ्जाल हेर्ने हो भने, उनीहरू संगठन निर्माणमै सक्रिय छन् । उनीहरू एमालेजत्तिकै संगठन निर्माण गर्न सकिन्छ कि भन्ने प्रयासमा जुटिरहेका छन् । सामाजिक सञ्जालमा खासै फलोअर्स नभए पनि एमालेले लोकप्रिय मत किन ल्यायो त ? त्यो पनि संगठनकै कारण हो । संगठनको आवश्यकता सँगसँगै न्यू मिडिया (सामाजिक सञ्जाल)को भूमिकालाई इन्कार गर्न मिल्दैन । संगठनभन्दा चाँडो रिजल्टचाहिँ सामाजिक सञ्जालले दिइरहेको छ । र, एमाले टेक्नोलोजी र न्यू मिडियाको प्रयोगमा पछाडि छ भन्ने मलाई लाग्दैन । हाम्रो आइडी एडभाइजर असगर अली हुनुहुन्छ । विष्णु रिमालको भाषा जे भए पनि नयाँ मिडियालाई प्रयोग गर्नुहोस्, अण्डर माइन्ड नगर्नुहोस् है भन्न खोज्नुभएको हुन सक्छ । 
 

टिप्पणीहरू