गेरु रूपान्तरणको क्रान्तिकारिता
देशविदेशमा गेरु वस्त्रको चर्चा छ, रामनामीको परिचर्चा छ । साधु, जोगी, योगी, सन्न्यासी, वैरागी, महात्मा, स्वामी, पुजारी, पण्डित, पुरोहित, भिक्षुले ज्यादाजसो पूजाकर्म गर्दा र अन्य बेलामा पनि लगाउने परिधान गेरु, पीत वा रक्त वा श्वेत नै हुने गर्छ । माटो रङ र रातो रङ मिश्रित रङलाई गेरु रङ भनिन्छ जुन हल्का पहेँलो पनि हुन्छ । नेपाल र भारतमा यो रङ विशेषगरी गमला र रुखहरू रोपिने भाँडा तथा घरका भित्तामा लगाइन्छ ।
समाजलाई पथप्रदर्शन गर्दै धर्मको बाटो हिँडेर मोक्ष प्राप्त गर्न चाहने साधुहरू नै खासगरी गेरु वस्त्र लगाउँछन् । सांसारिक मोह त्यागेर हिन्दूधर्मका मार्गमा लाग्ने यिनीहरूमध्ये बाटो बिराएकाहरू कहिलेकाहीँ चर्तिकला देखाएर यौनलीला पनि मच्चाउँछन् । सिद्धान्तको रङ खैरो, जीवनको रङ हरियो । आजभोलि रातोपछि गेरु रङले किन चर्चा पायो, भारत भ्रमणमा निस्केका हाम्रा राजनेताहरूको वस्त्र धारण देखेर थाहा पाउनुहुन्छ ।
कालिदासको गृहनगरका महाकालेश्वर बाबाले दर्शनार्थी भक्तजन जसलाई पनि गेरु वस्त्रको प्रोटोकल लगाइदिएका रहेछन् । त्यहाँ जस्तै राज्य प्रमुख वा सरकार प्रमुख पनि गेरु वस्त्र धारण गर्न बाध्य हुन्छन् । तिनले आफूलाई प्रगतिशील वा वामपन्थी वा कम्युनिष्ट भनेर सुखै पाउँदैनन् । त्यहाँ कसैलाई छुवाएर वा नछुवाएर लगिएको रुद्राक्ष चढाउन मन गर्नेहरूले पनि मन नपरी नपरी अँध्यारै अनुहारमा गेरु वस्त्र धारण गरेर पूजाराधना गर्नुपर्छ र स्वदेश आएर कुनै नाथका मन्दिरमा रामनामी ओढी आरती उतार्नुपर्छ । नाथ धाममा “मलाई पूजा विधि गर्नै आउँदैन” भनेमा पुजारीले नै सिकाइदिन्छन् । गेरु वस्त्रधारी राजनेताले भित्र पुगेपछि “अध्यात्ममा पनि कुनै शक्ति हुन्छ र परेमा त्यसलाई जीवनभर ग्रहण गर्न सकिन्छ” भने होलान् । त्यहाँ हाम्रा अर्का राजनेता एक पटक रामनामी ओढेर सपत्नी पुगेका थिए क्यार । नाथको दर्शनले द्रवीभूत भएर जलहरीमा राख्न राज्यका तर्फबाट करोडौँ मूल्यको सुवर्ण उपहार पनि दिए । उनले उहिले रामको जन्मभूमि अयोध्या नेपालमै भएको बताएर देशविदेश हलचल मच्चाइदिए । पछि अयोध्याको गुरुयोजनामुताबिक राम, लक्ष्मण, सीता, हनुमानका मूर्ति ठूलो शोभायात्राका साथ बालुवाटारबाट अयोध्यापुरीमा पठाइदिए । माक्र्सवादीबाट रामपन्थी बनेको भनेर उनको ठूलो आलोचना भयो । अझ कतिसम्म भने त्यसताका नारायणहिटी दरबारैअघि हिन्दूराज्यको घोषणा गरिने भो भनेर सुन्न राजावादी, हिन्दूवादी झण्डै लाखौँको सङ्ख्यामा पुगेथे । अहिले किन हो उनी अयोध्याबारेको प्रसङ्गबाट टाढा छन् तैपनि अयोध्या नेपालमै रहेको उनको राष्ट्रवादी अडान कायमै छ भनी मान्नुपर्ला ।
हुन पनि हो, भैंसालोटनमा मात्र होइन, भक्तपुर हनुमानघाटमा वाल्मीकिको आश्रम नै छ । मोदनाथ प्रश्रितले वाल्मीकिले कुनै बेला ‘रामायण’ का केही अंश त्यही हनुमानघाटमै बसेर लेखेको हुन सक्ने पनि बताइदिइसकेका छन् । कुनै बेला सोही हनुमानघाटमा वीरा, भद्रा र तमसा नदीको सङ्गम त्रिवेणी किनारमा रहेको एक वृक्षको हाँडामा बसी राम, लक्ष्मण र हनुमानले सँगै एउटै पातमा राखेर दहीचिउरा खाएको र हनुमानले प्रत्येक पल्ट आफ्नो जुठो हात पखाल्न पुच्छर नदीमा डुबाउँदै गरेको रमाइलो कथा पनि वाल्मीकि जयन्तीका दिन त्यहाँ सुन्न पाइन्छ ।
गत वर्ष कालीगण्डकीबाट हाम्रै शिला भारतको अयोध्यामा मूर्ति बनाउन लगेको पनि देख्नुप¥यो जसले अयोध्या नेपालमै भएको भनिएको धारणालाई हेर्दा हेर्दै खण्डन गरिदियो । कालीगण्डकीको शिला नेपालकै अयोध्यामा लानुपथ्र्याे, यसमा हाम्रा सरकार र तिनका मन्त्रीहरूले हेक्कै राखेनन् ।
गेरु वस्त्र लगाएर रुद्राक्ष जप्दै बोलबम भजेर कमल थापाले कुनै बेला भनेका थिए, आउँदो चुनावपछि राजतन्त्र फर्किन्छ । गेरु परिधानले त्यस्तो भन्न सक्ने शक्ति पनि दिँदो रहेछ । यहाँ जनै नलगाएर पनि आफूलाई हिन्दूवादी भन्न सजिलो नै छ किनकि उनैले चतरा कुम्भमेलामा कोशी नदीमा स्नानका क्रमा यज्ञोपवितविहीन आफ्नो तन भक्तजनसामु प्रदर्शन गरिदिए ।
हेक्का रहोस्, एक पूर्वप्रधानमन्त्री पनि बेला बेला गुपचुप नाथ मन्दिर पुगेर प्रसाद लिन्छन् । उनकी पत्नी पनि नाथभक्त छिन् र प्रायः सोमबार, मङ्गलबार पुगेर श्रीखण्ड लिन्छिन् । अहिले राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन सरकार प्रमुख र क्रान्तिकारी पार्टीका नेताको गेरुवस्त्रको नयाँ अवतारपछि अति नै हौसिएका छन् र भन्दै छन्, “अब हिन्दूराज्यका लागि अग्निपरीक्षा शुरु हुन्छ ।” हालै पुरानो प्रजातान्त्रिक दलका सभापतिले राष्ट्रियसभालाई समानुपातिक बनाउन संविधान संशोधनको कुरा कोट्याए भने डा. बाबुराम भट्टराईको दल नेपाल समाजवादी पार्टीले राष्ट्रको समृद्धि, जनाकाङ्क्षाको परिपूर्ति र राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधनको माग गरेका अवस्थामा राप्रपा पनि हिन्दू राज्यका लागि उपयुक्त समयमा संसद्मा संविधान संशोधनको प्रस्ताव लिएर जाने दाउमा छ । जसपा–लोसपा प्रदेश सङ्ख्या वृद्धि र मधेसको अझ बढी हकका लागि संशोधनका पक्षमा छँदैछन् भने नेकपा (एमाले) ले सधैँ आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन भन्ने गरेकामा अब कति बेला त्यो उपयुक्त समय आउँछ, बोलेको छैन । ती सबै कुरा लेनदेनमै भर पर्छ ।
गेरु वस्त्रको शक्ति र प्रभाव अब मुलुकभर पुग्छ र नेपाली जनता यही राष्ट्रिय परिधानमा मुलुकमा देखा पर्ने सम्भावना छ । पहिले खेमराज केशवशरणको प्रवचनबाट अभिभूत हुने नेपाली जनता पछि खप्तड बाबा, श्यामचेतन बाबा, कृपालुजी महाराज, प्रेम रावत, हरिदासजस्ता अनेक स्वामी र सन्तबाट दीक्षित हुँदै छन् । नेपाल तपोभूमि, ज्ञानभूमि, शान्तिभूमि, बुद्धभूमि नै हो । तन्त्र, मन्त्र, साधनाले नेपाललाई धानकै बालाले झुलाएर अझ पहेँलपुर वा गेरु वर्णमय बनाउन नेपाली जनताले साथ दिनु जरुरी छ । यो एक आध्यात्मिक पुनर्जागरणको युग पनि हो ।
टिप्पणीहरू