खेतीपातीको जिम्मा किसानको मात्रै हो ?

खेतीपातीको जिम्मा किसानको मात्रै हो ?

हरेक वर्ष खेतीपातीको मुख्य समय नजिकिँदै गर्दा किसानको एउटै समस्या हुन्छ ‘रासायनिक मल अभाव ।’ वर्षेनी रासायनिक मलको अभावका कारण किसानले सास्ती व्यहोर्दै आएका छन् । 

चैतमा मकै गोडेर मल हाल्ने समयमा पनि मल हुँदैन । यता वर्षे धानमा मल हाल्ने समय आउँदा पनि मल पाईंदैन । मल पाउन मुश्किल भएको अवस्थामा धानको बीऊ राखेका किसानहरु सबैभन्दा चर्को मर्कामा पर्ने गरेका छन् ।
 
समयमा मल नपाउँदा कृषि उत्पादनमा कमी आउने भएकाले सरकारलाई मतलब नभए पनि कृषकहरु चिन्तित हुने गर्छन् । तर, यो वर्ष विगत जस्तो मलको अभाव नहुने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार ८ गते सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा संसदमा बताउनुभएको थियो ।

उहाँले ७१ हजार मेट्रिक टन विभिन्न डिपोमा मौज्दात रहेको र भारतको कोलकाताबाट ४५ हजार मेट्रिक टन डिएपी मल यो महिनाभित्र नेपाल भित्रिने जानकारी दिनुभएको थियो ।

तर, दाङको घोराही उपमहानगरपालिकामा भने असार लागेसँगै रासायनिक मलको चरम अभाव देखिएको छ । थोरै मल किसानहरु बाँडिचुडी गर्न बाध्य भएका छन् । 

घोराही उपमहानगरपालिका ७ का वडाध्यक्ष खोपीराम चौधरी मल पर्याप्त नआएपछि बाँड्नुपरेको बताउँछन् । उनका अनुसार गत शुक्रबार १४ गाउँका किसानलाई मल बाँड्दा एउटा गाउँलाई सात÷सात बोरा मात्र भागमा परेको थियो । 

त्यसमध्ये कसैले पाउने र कसैले नपाउने स्थिति भएपछि किसानहरु आफैंले सल्लाह गरेर सात बोरा मललाई ६३ ठाउँमा खसी काटेर भाग लगाएझँै भागबण्ड लगाइएको उनको भनाई छ । ‘मल धेरै आएन । त्यसैले, थोरै थोरै भएपनि बाँड्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘यहाँ मात्रै होइन सबै जिल्लामा यस्तै छ ।’

उता रौतहटको गरुडा नगरपालिका २ का वडाध्यक्ष कृष्णनन्दन सहनी पनि मल अभाव भएको बताउँछन् । मल पर्याप्त नआएका कारण किसानहरु मर्कामा परेको उल्लेख गर्दै भने, ‘यो वर्षपनि मल अभाव छ । यसले धान रोपाईंमा असर परेको छ । किसानहरु चिन्तित छन् ।’

सरकारी गोदाममा कति छ मल ? 

हाल सरकारी गोदाममा ७३ हजार ६६ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । त्यस्तै, एक लाख २९ हजार पाँच सय मेट्रिकटन मल आयातकै क्रममा छ । 

यता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ड ट्रेडिङ कम्पनी लिमिटेडसँग समेत गरेर कुल ५९ हजार ४५१.३० मेट्रिकटन युरिया, १३ हजार ४९१.४८ मेट्रिकटन डीएपी र १२२.३५ मेट्रिकटन पोटास मौज्दात रहेको बताइएको छ । 

त्यसमध्ये कृषि सामग्रीसँग ४८ हजार १०९.४३ मेट्रिकटन मल रहँदा साल्ट ट्रेडिङसँग २४ हजार ९५६.७० मेट्रिकटन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार चालु आवको पछिल्लो अवधिसम्म तीन लाख तीन हजार मेट्रिकटन मल आयात भएकोमा दुई लाख ६० हजार मेट्रिकटन मल बिक्री भइसकेको छ । 

त्यस्तै, कृषि सामग्रीले आयात गर्ने भनिएको २० हजार मेट्रिकटन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट भर्खर नेपालतर्फ प्रस्थान ल्याइएको छ । त्यसमध्ये केही मल वीरगञ्ज आइसकेको छ । योसँगै कम्पनीकै पाँच हजार मेट्रिकटन पोटास पनि नेपालको लागि उताबाट पठाएको छ । २० हजार मेट्रिकटन युरिया र २५ हजार मेट्रिकटन डीएपी मल आयातका लागि खरिद सम्झौता भइसकेको मन्त्रालयले जानकारी दिएको छ । 

यता साल्ट ट्रेडिङले आयात गर्ने २७ हजार मेट्रिकटन युरिया भारतको कोलकाताबाट नेपालतर्फ पठाइएको छ । त्यसमध्ये केही मल नेपाल भित्रिसकेको कृषि तथा पशुपन्छी मन्त्रालयको दाबी छ । 

वर्षेनी कति मल चाहिन्छ ?

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार नेपालमा वर्षेनी नौ लाखभन्दा बढी मेट्रिकटन मलको माग हुने गर्छ । सरकारले जसोतसो साढे चार लाख मेट्रिकटन मात्रै अनुदान रकमबाट खरिद गर्ने गरेको कम्पनीले जनाएको छ । 

त्यस्तै, नेपालमा चारदेखि पाँच लाख मेट्रिकटन मल तस्करीबाट व्यापार हुने गरेको छ । समयमा मल नपाएपछि किसानहरु तस्करसँग मल किन्न भारत पुग्ने गरेका छन् । 

यसरी नेपालसँग जोडिएका सीमानाबाट ठूलो परिमाणमा मल अवैध बाटोबाट भित्रिने कृषि मन्त्रालयकै अध्ययनले देखाएको पाइएको छ ।

टिप्पणीहरू