प्रेमिकाको घाउले अदालतमा वकिल र कर्मचारी आमनेसामने,मुद्दा सुनुवाइमा अन्यौल

प्रेमिकाको घाउले अदालतमा वकिल र कर्मचारी आमनेसामने,मुद्दा सुनुवाइमा अन्यौल

आफ्ना माग पूरा गराउन अदालतका कर्मचारी र कानुन व्यवसायीहरुले अदालतको काम रोकाइदिन थालेका छन् । ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि कानुन व्यवसायीले कार्यकक्षभित्रै मुक्का हानेको भन्दै आज मुलुकभरका अदालतमा प्रशासनिक कार्य ठप्प भएको छ । 

नायव सुब्बा प्रेमिका तामाङको अनुहारमा अधिवक्ता अमिर लामिछानेले गत बुधबार दिउँसो मुक्का प्रहार गरेको भन्दै समस्या चर्किएको छ । त्यसैगरी पक्राउ परेका कानुन व्यवसायी रिहाइको माग गर्दै नेपाल बार एशोशिएसनले इजलास बहिष्कार गरेको छ । 

कानुन व्यवसायीहरुको छाता संगठन बारले सो घटनाको विरोधमा आज दिउँसोदेखि अर्को निर्णय नभएसम्मका लागि अदालती प्रक्रियामा सामेल नहुने र बहस–पैरवी नगर्ने निर्णय गरेको छ । सोहीअनुसार बारका विभिन्न जिल्ला समितिहरुले इजलास बहिष्कार गर्न थालेका छन् । 

भोलि भने सबै अदालतको इजलास बहिष्कार गर्ने निर्णय भर्खरै केन्द्रीय बारले गरेको छ । बारको उच्च अदालत जनकपुर अस्थायी इजलास समितिले विज्ञप्ति निकालेर केन्द्रीय निर्देशनमुताविक बहस पैरवीमा सहभागी नहुने प्रष्ट पारिसकेको छ । 

भक्तपुर जिल्ला बारले पनि बुधबारको घटनाको विरोधमा वक्तव्य निकालेको छ । नासु प्रेमिकामाथि हातपात गरेको आरोप लागेका कानुन व्यवसायी अमिर लामिछाने उल्टै पीडित भएको दाबी भक्तपुर बारको छ । 

बारको बारा जिल्ला समितिले पनि अर्को निर्णय नहुँदासम्म कानुन व्यवसायीहरु बेञ्चमा बहस गर्न नजाने प्रष्ट पारेको छ । ललितपुर बारले बेञ्च बहिष्कारको निर्णय सार्वजनिक गरिसकेको छ । 

ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायीलाई एकतर्फीरुपमा दोषी देखाउने काम भएको भन्दै आजको पेसी बहसमा उनीहरु सहभागी भएनन् ।

दुर्व्यवहारको आरोप लागेका कानून व्यवसायी अमिर लामिछाने प्रहरी हिरासतमा छन् । उनीमाथि कारवाहीको माग गर्दै देशभरका अदालती कर्मचारीहरु आन्दोलनमा उत्रिएर आज दिउँसो १ बजेसम्म सेवा ठप्प पारेका थिए ।

टिप्पणीहरू