ताप्लेजुङ, यसले जे पनि गर्न सक्छ

ताप्लेजुङ, यसले जे पनि गर्न सक्छ

पछिल्लो जनगणना २०७८ अनुसार ताप्लेजुङ जिल्लाको जनसंख्या १ लाख २० हजार ५ सय ९० छ । तर, उसको सिमाना विश्वमै दुई विशाल जनसंख्या भएका देशहरू चीन र भारतसँग जोडिन्छ । नेपाल भारत र चीन बीचमा रहेको देश हो । तर, यहाँका सबै प्रदेश तीसँग जोडिएका छैनन् । ताप्लेजुङ मात्र एक त्यस्तो जिल्ला हो, जो भारत र चीन दुवैसँग सँधियारी भएर बसेको छ । कोशी प्रदेशको त अझ यस्तो दुर्लभ जिल्ला हो । ताप्लेजुङको भौगोलिक क्षेत्रफल ३ हजार ६४६ वर्गकिमी मात्रै हो ।

तर, पर्यटन क्षेत्रको कोणबाट कुरा गर्दा यसको भूराजनीतिक र भूआर्थिक क्षेत्रफल विशाल छ । रणनीतिक महत्व भव्य छ । ताप्लेजुङ हुँदै कोशी प्रदेशमा उत्तर दक्षिण जोड्ने तमोर करिडोरले भारत र चीन मात्रै जोड्दैन । यसले त झापा हुँदै आएको एशियाली राजमार्गसँग पनि जोडिन पाउँछ । भारत र चीन मात्रै होइन, बिबिआइनअन्तर्गत बंगलादेश र भुटानजस्ता देशसँग जोडिन पनि ताप्लेजुङलाई सडक सञ्जालले नै पायक बनाएको छ । ताप्लेजुङबाट काठमाडौँ पुग्ने सडक दूरीभन्दा छिटो समयमा भुटान र बंगलादेशको सिमाना पुग्न सकिन्छ । ताप्लेजुङको पर्यटनमा अहिले आएर मात्रै संभावना बनेको होइन । १७५ वर्षअगाडि नै विश्व मानचित्रमा आफ्नो स्थान बनाएको हो । 

चाल्र्स डार्बिनका साथीले १७५ वर्षअगाडि नै चिनाएको ठाउँ

विश्वका महान् वैज्ञानिक चाल्र्स डार्बिनका साथी थिए जोसेफ डाल्टन हुकर । डार्बिनका चियागफका साथी मात्रै थिएनन्, बरु डार्बिनको सिद्धान्त ‘थ्योरी अफ नेचुरल सेलेक्सन’ र ‘अन दि ओरिजिन अफ स्पेसिज’ नामक सिद्धान्तको कडा प्रतिरक्षा गर्ने प्राज्ञिक साथी थिए । उनै हुकर सन १८४८ को अक्टोबरदेखि तीन महिना पूर्वी नेपाल घुमेका थिए । जंगबहादुर बेलायत जाने क्रममा कोलकातामा भेट्दा हुकरले नेपाल यात्रा र अनुसन्धानको पुस्तक उपहार दिएका थिए । जंगबहादुरकी छोरीले लेखेको  बाबुको जीवनीमा यो प्रसंग समेटिएको छ । हुकरले तमोर नदी, खावा खोला दोभानदेखि ओलाङचुङगोलाजस्ता क्षेत्र घुमेर ताप्लेजुङलाई चिनाएका छन् । १७५ वर्षअगाडिको हुकरको पुस्तक हालसालै ‘कञ्चनजंघा जुहार’ नाममा आएको छ । पूर्वी नेपालको सबैभन्दा पुरानो खोज अनुसन्धान गरी लेखिएको २१० पेजको पुस्तक यही हो । जसमा ताप्लेजुङ जोडिन्छ । 

हिमाल आरोहण, पदयात्रा र जलयात्राको कम्बो 

ताप्लेजुङस्थित ८५८६ मीटर अग्लो शिखर कञ्चनजंघा झण्डै सात वर्ष विश्वको अग्लो चुचुरोको रूपमा रह्यो । सन १८४८देखि विश्वकै अग्लो चुचुरोको रूपमा औपचारिक हिमाल कञ्चनजंघा थियो । सगरमाथालाई पन्ध्रौँ चुलीको रूपमा सन् १८५६ मा मान्यता दिइएपछि भने कञ्चनजंघाले आफ्ने महत्व गुमायो । तर, सन १९५५ मे २५ मा भएको कञ्चनजंघाको प्रथम आरोहण सफलतापछि फेरि यसले भव्य चर्चा पायो । जो ब्राउन र जर्ज ब्याण्डले पहिलोपटक पाइला चुमेको कञ्चनजंघाले चर्चा पाउनुपर्ने मूल कारण तीन थिए । एक, सन १९५३ मा बेलायती टोलीले सगरमाथा आरोहणमा सफलता पाउनु । तर, चुचुरोमा पाइला राख्ने ती दुई नै बेलायती थिएनन् । नेपालका तेञ्जिङ नोर्गे र न्युजिल्याण्डका एडमण्ड हिलारी थिए । यसमा बेलायतीलाई इख थियो । त्यसैले उनीहरूले बेलायती मात्रै चुचुरोमा पुग्ने गरी दुई वर्षपछि कञ्चनजंघा आरोहण गरेका थिए । विश्वको तेस्रो शिखर भए पनि बेलायतीहरूले चढेको आठ हजार माथिका १४ चुचुरामा पहिलो चुचुरो भएकाले यसले धेरै चर्चा पायो । बेलायतीले धेरै चर्चा गरे । आज पनि बेलायतमा कञ्चनजंघाको प्रथम आरोहणबारे बेलाबेला चर्चा, छलफल र बहस हुने गरेका छन् । जो ब्राउन र जर्ज ब्याण्डले आफ्ना कथामा ताप्लेजुङको बखान गरेका छन् । खासगरी खेबाङ गाउँको तारिफ धेरै छ । ताप्लेजुङले पाएको ऐतिहासिक महत्व यो पनि हो । 

हिमाल आरोहण मात्रै होइन, जलयात्राका कारण पनि ताप्लेजुङको पर्यटकीय चित्र विश्वस्तरको छ । पिटर नल्स र दरेन क्लार्कसन कि¨ले संयुक्त रूपमा एक पुस्तक लेखेका छन् । पुस्तकको नाम ‘ह्वाइट वाटर नेपाल’ छ । पुस्तकले नेपालमा जलयात्रा गर्नुपर्ने अनिवार्य गन्तव्यको रूपमा तमोर जलबिहारलाई समेटेको छ । किताबमा लेखिएअनुसार दोभानदेखि चतरासम्मको १३१ किमि तमोर जलयात्रा सुन्दर अनुभव हुने लेखिएको छ । अक्टोबर, नोभेम्बर र अप्रिलमा जलबिहार अनुभव भव्य हुने पुस्तकले सिफारिस गरेको छ । ‘क्यास फोर प्लस’ श्रेणीको वर्गीकरण गरिएको तमोर जलबिहार ताप्लेजुङको विश्वस्तरीय पर्यटन खुराक हो । अझ रोचक कुरा कञ्चनजंघा आरोहण वा पदयात्रा गरेर आउँदा बाटैबाट तमोर जलबिहार गर्न सकिने जिल्ला हो ताप्लेजुङ । हिमालदेखि जलसम्मका साहसिक पर्यटन प्याकेजको सुन्दर उदाहरण ताप्लेजुङ जिल्लामा छ । नेपालमा रहेका सबै हिमाली पदयात्रामा यस्ता सुविधा पाइन्न । केही सीमित क्षेत्रमा पाइन्छ । त्यही सीमित अवसरमा एक हो ताप्लेजुङ । 

अरु गन्तव्य : टिएमजे, फुङफुङ्गेदेखि पाथीभरासम्म 

स्थानीय गन्तव्य त ताप्लेजुङमा कत्ति छन् कत्ति । प्रादेशिक गन्तव्यको सूची लामै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आगन्तुकलाई तान्न सकिने गन्तव्यहरू पनि  धेरै छन् । गुराँसको राजधानी भनेर चिनिएको टिएमजे अर्थात् तीनजुरे मिल्के जलजलेमध्ये जलजले ताप्लेजुङमा छ । टिएमजेमा गुराँस अनुसन्धानकर्मीदेखि रेड पाण्डा अनुसन्धान गर्ने र घुमन्ते देशी÷विदेशी पाहुना आउँछन् । यो विश्वस्तरीय गन्तव्य हो । कोशी प्रदेशको दोस्रो अग्लो ३०० मीटरको फङफङ्देन अर्थात् फुङ्फुङे झरना पानीको आयतनको हिसाबमा प्रदेशको सबैभन्दा सुन्दर झरना हो । यहाँ क्यानोनिङ प्याकेज वा प्रतिस्पर्धा गरेर विश्वस्तरीय पर्यटक तान्न सकिन्छ ।

नेपाल पर्यटन बोर्डले भारत कोलकाताको काली मन्दिरसँग जोडेर पाथीभरालाई देवी सर्किट बनाउने तयारी गरेको छ । देवी सर्किट बने पनि नबने पनि पाथीभरा विश्वस्तरीय गन्तव्य हो । यो ताप्लेजुङको अमूल्य निधि हो । पाथीभरासँगै जोडिएको ०६३ बाट शुरु भएको पाथीभरा अथवा ताप्लेजुङ म्याराथन जिल्लाको अर्को सुन्दर अन्तर्राष्ट्रिय पर्यटकीय चुम्बक हो । लिम्बुङ पोखरीदेखि सोदु पोखरी तथा ताप्केगोलादेखि ओलाङचुङगोला आदि पनि जिल्लाका विश्वस्तरीय पर्यटकीय आकर्षण हुन् । यीबाहेकका साँझ पोखरीदेखि थुप्रै गन्तव्यलाई चलचित्र छायांकनदेखि विन्टर टुरिजम प्याकेजमा बिक्री गर्न सकिने विश्वस्तरीय गन्तव्यहरूले भरिभराउ छ ताप्लेजुङ । 

पूर्वाधार, जनशक्ति र प्रचार 

पर्यटनका स्थानीय, प्रादेशिकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यहरूले झकिझकाउ ताप्लेजुङको पर्यटन विकासको आधार तीन कुरा छन् । एक, पूर्वाधार । अहिले ताप्लेजुङको सँधियारी भएर पनि सिक्किम तथा तिब्बतसँग जोड्ने मोटरेबल सडक छैनन् । अन्तर्राष्ट्रिय सञ्जाल मात्रै होइन राष्ट्रिय रूपमा तमोर करिडोर कालोपत्रे हुन बाँकी छ । पाथीभरादेखि फुङफुङे झरना पुग्ने कालोपत्रे सडक छैन । सुकेटार विमानस्थल अलवेदर चल्न सकेको छैन । सबै पर्यटन गन्तव्यमा सहज सवारी साधन चल्न सकेको छैन । पदयात्रा व्यवस्थित छैनन् । साइकल लेनहरूदेखि फुटटे«ेलमा काम हुन बाँकी छन् । पालिकाहरूमा डोजर आतंक त छ । तर, आवश्यक पर्यटकीय पूर्वाधारका कामलाई प्राथमिकतै दिइएको छैन । यसमा व्यापक सुधार आवश्यक छ । 

दुई, जनशक्ति । तमोरमा जलबिहार गराउनेदेखि कञ्चनजंघामा पदयात्रा गराउने अन्तर्राष्ट्रिय स्तरका जनशक्ति अभाव छ । स्तरीय होटल र ट्राभल एजेन्सीको जिल्लामा खडेरी छ । क्यानोनिङ प्याकेज जिल्लामै गराउने स्थानीय जनशक्ति छैनन् । यस पक्षमा धेरै सुधार आवश्यक छ । होटल, पर्यटन यात्रादेखि विभिन्न गाइड क्षेत्रका जनशक्तिको टड्कारो आवश्यक छ । पर्यटन छात्रवृत्ति दिएर यस्ता जनशक्ति उत्पादन गर्न सकिन्छ । 

तीन, प्रचार । ताप्लेजुङले दुई छिमेकी देश त परै जाओस् देशभरका क्षेत्रमा आफ्नो प्रचार गर्न सकेको छैन । नेपाली, हिन्दी, बंगाली तथा अंग्रेजीका सामग्रीमार्फत प्रचार गर्न सकिन्छ ।  यसमा धेरै ध्यान दिन आवश्यक छ । पर्यटनमन्त्रीदेखि विभिन्न प्रदेश तथा संघका मन्त्री पाएको र विश्वभर नाम राख्न सफल ताप्लेजुङका नागरिकले जिल्लाको पर्यटन विकासको आधार, पूर्वाधार जनशक्ति र प्रचारमा ध्यान दिन आवश्यक छ । अहिलेको समयको माग यही हो । पर्यटनको माग यही हो । पब्लिकको माग यही हो । 
 

टिप्पणीहरू