विदेशी धनीमानीलाई कस्तरी मूर्ख बनाउँछन् विनोदले

विदेशी धनीमानीलाई कस्तरी मूर्ख बनाउँछन् विनोदले

गत साता चिनियाँ धनाढ्य ज्याक मा विवादास्पद व्यापारी विनोद चौधरीको रविभवनस्थित निवास पुगे । ज्याक पाकिस्तानको लाहौर पुगेपछि यता चौधरीका जेठा छोरा निर्वाणले उनीसँग भक्तपुर दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपामा खिचेको फोटो सार्वजनिक गरेर उक्त भ्रमणको स्वामित्व आफूले लिएको अनौपचारिक सन्देश दिएका थिए । बाउ चौधरीभन्दा छोरा चौधरीसँगको सम्बन्धका कारण ज्याक रविभवन गएको उच्चस्तरीय स्रोतले त्यतिबेलै बताएको थियो । 

निर्वाण र ज्याकबीच न्युयोर्कमा ६ वर्षअगाडि भएको भेटको सम्बन्धले गत साता चौधरी निवासमा चिनियाँ धनाढ्यको प्रवेश गराएको बुझिएको छ । चौधरीलाई घरमा गएर भेट्नु तर मुलुकका ठूला नेता र पदाधिकारीहरुसँग उनको भेट नहुनुलाई पनि पारिवारिक भेटघाटको रुपमा अथ्याईएको छ । कोरोना महामारीअघि ज्याककी श्रीमती पनि निजी विमानमा यसैगरी काठमाडौं आएकी थिइन् । बिल गेट्स एण्ड मेलिण्डा फाउण्डेसनको सन् २०१७ को सेप्टेम्बरमा न्युयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा चौधरीले ज्याक दम्पतीसँग भेट्ने अवसर पाएका थिए । राष्ट्र संघको ७२ औं महासभाका क्रममा भएको युएन वुमन कार्यक्रममा गेट्स दम्पती, ज्याक दम्पती, निर्वाण चौधरी दम्पतीलगायत उपस्थित थिए ।

त्यसपछि माकी श्रीमती चाङ यिङ कोरोना महामारीअघि फाउण्डेसनको कार्यक्रममा नेपाल आइन् । त्यतिबेला आभाष निरौलालाई चौधरीले उनको भ्रमणसम्बन्धी सबै तयारी र व्यवस्थापनको जिम्मेवारी दिएको स्रोतको दाबी छ । आभाष पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुवास निरौलाका छोरा हुन् । चौधरीको अनावश्यक हप्कीदप्कीपछि उनले सिजी ग्रुपको जागिर हापिसकेका छन् । चौधरी फाउण्डेसनको काममा राप्रपा नेता तथा सांसद दीपक बोहोराकी भाञ्जी पनि खटेकी थिइन् । उनले पनि त्यस्तै त्यस्तै अपमानका कारण जागिर छाडिसकिन् ।

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनसँग सम्झौता गरेर सिजी ग्रुपले विभिन्न नाममा करोडौं अनुदान ल्याएको छ । विशेषगरी संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्यको नाममा ग्रामीण भेगका असहाय र गरिब बालबालिकालाई पोषणयुक्त खानेकुरा खुवाउने भन्दै ल्याइएको ८ करोड ८२ लाख १८ हजार ९२८ रूपैयाँ बराबरको अनुदान आफ्नै वाइवाइ चाउचाउ बेचेर भुस बनाइएको छ । बालबालिकालाई पौष्टिक आहारा खुवाउने नाममा ल्याइएको उक्त सहयोग रकमलाई ‘बलियो नेपाल’ नाम दिएर खर्च गरिएको हो । कुपोषणविरुद्ध बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउन पोषणविद् डा. अरुणा उप्रेतीलाई संयोजक बनाइयो भने अहिलेका माननीय डा. स्वर्णिम वाग्लेसँग पनि औपचारिक सल्लाह लिने व्यवस्था गरिएको थियो । 

तर चाउचाउ कुपोषणविरुद्धको पौष्टिक आहारमा नपर्ने भन्दै यसलाई पत्रु खानाको संज्ञा दिँदै आएकी उप्रेतीले लगत्तै राजीनामा दिइन् । वाग्लेले पनि उक्त कार्यक्रम छाडिदिए । अर्थशास्त्री स्वर्णिम र पत्रकार कशिशदास श्रेष्ठले वाइवाइ चाउचाउ र पौष्टिक आहारसम्बन्धी विवादबारे त्यतिबेला प्रश्न उठाउँदा गेट्स फाउण्डेशनले ‘आफूहरुले चाउचाउलाई पौष्टिक आधारका रुपमा उत्थान गर्न नखोजेको र चौधरीहरुले यस्तो गरुन् भन्ने पनि नचाहेको’ स्पष्टीकरण दिएको थियो ।

यसबाट उताका डलर अर्बपतिले फाउण्डेसनको नाममा गरिबलाई बाँडेको रकम यताका डलर अर्बपतिले सोहोर्ने काम मात्रै गरेको प्रष्ट हुन्छ । आठ वर्षअघिको विनाशकारी भूकम्पपछि सोही फाउण्डेसनले भूकम्पपीडितहरुलाई घर बनाइदिने भन्दै करोडौं रुपैयाँ पठायो । भूकम्प प्रभावित विभिन्न पहाडी जिल्लामा १० हजार वटा बाँसको घर बनाउने घोषणासमेत गरियो । तर, १७ सय घर बनाएपछि काम छाडियो । यसमा पनि विदेशी लगानी थियो । तर, चौधरीले कहिल्यै यसमा अरुले सहयोग गरेको बताएका छैनन् । बरु आफैँले रिबन काट्दै भूकम्प पीडितको बासस्थान उद्घाटन गर्दै हिँडेको फोटो छ्याप्छ्याप्ती बनाइयो । राज्यलाई सबैभन्दा दुःख परेको बेला प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा चौधरीले एक कौडी पनि योगदान गरेनन् । यसबाट नेपालको अर्थतन्त्र मुलुकप्रति पटक्कै माया नभएका केही राजस्थानीहरुको हातमा रहेको पुष्टि भएको थियो । तर उनैका भाइ वसन्तले भने सरकारी कोषमा एक करोड रुपैयाँ जम्मा गरेर अरुभन्दा पृथक पहिचान बनाएका थिए ।

छिमेकी भारतमा केही वर्षअघि सरकारले आह्वान गर्नेबित्तिकै रतन टाटाले सरकारी राहत कोषमा एकै पटकमा १५ सय करोड, मुकेश अम्बानीले ५ सय करोड र कलाकार अक्षय कुमारले २५ करोड रुपैयाँ जम्मा गरेका थिए ।
 

टिप्पणीहरू