अदालतमा ‘चिया खर्च’ को निहुँबाट थालिएको आन्दोलन सिसिटिभी मर्मतमा टुंगियो

अदालतमा ‘चिया खर्च’ को निहुँबाट थालिएको आन्दोलन सिसिटिभी मर्मतमा टुंगियो

कानुन व्यवसायी र अदालतका कर्मचारीबीच असार १३ गतेदेखि भएको लफडा ७ बुँदे सहमतिपछि गत बिहीबारदेखि सामसुम भएको छ । बार–बेञ्च लफडा अन्त्य हुनु राम्रो विषय भएपनि जिल्ला अदालत ललितपुर र ललितपुर बार एशोसिएशनको रोहवरमा भएको भनिएको दुईपक्षीय सहमतिको ‘कागज’ भने उदेकलाग्दो छ । सहमतिमा न आन्दोलनको कारण खुलाइएको छ, न कुनै उपलब्धि ।

एक जना कानुनव्यवसायीले ललितपुर अदालतकी कर्मचारी प्रेमिका तामाङलाई कुटपिट गरेपछि अदालतका कर्मचारीले सर्वोच्चसहित मुलुकभरका अदालत ठप्प पारेका थिए । मुद्दाको सिलसिलामा अधिवक्ता अमिर लामिछानेले अदालतकी फाँटवाला तामाङको अनुहारमा मुड्कीले हिर्काएको भन्दै आन्दोलन एकाएक चर्काइएको थियो । 

लामिछानेको मुड्की प्रहारबाट महिला कर्मचारीको तल्लो भागका दुइवटा दाँत हल्लिएको र ओठमुख सुन्निएको बताइयो । उनले लगाएको सरकारी पोशाकको कमिजको बाउलासमेत च्यातिएको देखाइयो ।

त्यसपछि ललितपुरका कर्मचारी पेन डाउन गरेर सर्वोच्चमा अड्डा जमाउन पुगे । अर्कोतर्फ ललितपुर जिल्ला अदालत परिसरमा आयोजना गरिएको विरोधसभामा नेपाल बार एशोसिएशनका पदाधिकारी, पूर्व पदाधिकारीसहित वरिष्ठ अधिवक्ताहरूको लाइन लाग्यो । कर्मचारीलाई काउण्टर दिन ललितपुर अदालतमा उपत्यकाका वकिलको धर्नासहित देशैभरका अदालतमा बहस ठप्प पारे । नायव सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा लामिछानेलाई केही दिन प्रहरी हिरासतमा राखियो ।

जारी संयुक्त विज्ञप्तिमा उक्त घटनालाई लिएर अब उप्रान्त दुवै पक्षले द्वेषभाव नराखी विवाद अन्त्य गर्ने उल्लेख गरियो । वकिल–कर्मचारीले आ–आफ्नो क्षेत्रमा काम गर्ने सहमति गरेका छन् । ललितपुर बारका एक सदस्य अधिवक्ताले दिएको जानकारी अनुसार नासु तामाङले अधिवक्ता लामिछानेसँग मुद्दाको नक्कल माग्दा ‘खाजा खर्च’ को माग गरेपछि यत्रो लफडा शुरु भएको थियो । 

लामिछाने ललितपुर जिल्ला अदालतमा दायर भएको एउटा मुद्दाका वारेस समेत हुन् । मागेको चिया खर्च नदिएका लामिछानेले अपशब्द बोल्दै मुक्काले हानेको बारका ती सदस्यको भनाई छ । 

फाँटमा कार्यरत तामाङसँग मुद्दाको सक्कल मिसिल माग्दा खाजा खर्च मागेपछि आवेगमा आएका लामिछानेले ‘तैंले के गर्न सक्छेस् गर’ भन्दै हातपातमा उत्रिएको बताइएको थियो । उक्त प्रकरणमा अधिवक्ता लामिछानेविरुद्ध नासु तामाङले असार १३ गते जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाहीको माग गर्दै निवेदन दिइन् ।

प्रहरीमा कुटपिट र अभद्र व्यवहारमा जाहेरी पनि हालिन् । तर गम्भीर आरोप लगाएर शुरु भएको आन्दोलनको विषय केटाकेटीको भाँडाकुटी खेलका रुपमा सकिएको छ । उल्टै ‘अदालतमा सेवा लेनदेनका क्रममा भएको विषयलाई सामाजिक सञ्जालमार्फत विषयान्तर भएको महसुस गरिएको’ भनिएको छ । 

सहमतिको बुँदा नम्वर ७ मा आन्दोलनसँग कुनै साइनो नभएको एउटा अर्को सहमति पनि भएको देखिन्छ । ‘ललितपुर जिल्ला अदालतमा सिसिटिभीले काम नगरेको भनी यसअघि मर्मतका लागि सम्मानित सर्वोच्च अदालतमा पत्राचार भएकोमा हालसम्म मर्मत नभएकोले अविलम्ब मर्मत गरी सञ्चालन योग्य बनाउन अनुरोध गर्दछौं ।’

टिप्पणीहरू