पूर्वराष्ट्रपति विद्या भण्डारीका घरधनीले हाले उजुरी

पूर्वराष्ट्रपति विद्या भण्डारीका घरधनीले हाले उजुरी

मुलुकको सर्वोच्च ओहोदामा बसिसकेकाहरूलाई सबैभन्दा धेरै पीडा दिने विषय के होला ? मुलुकको राजनीति कि आफ्नै भविष्यको चिन्ता ! यी विषय आफ्नै ठाउँमा होला तर योभन्दा बढी पिरोल्ने रहेछ, घरभाडाले । नयाँ राष्ट्रपतिलाई स्वागत गरेपछि सरकार र शीतलनिवासले पुरानालाई बिर्सिदिँदा पूर्वराष्ट्रपति रामवरण यादवलेजस्तै घरभाडाको लफडा झेल्दै हुनुहुन्छ प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले पनि । 

गत फागुनमा ७ वर्षे कार्यकाल सकाएर आरामसाथ बाँकी जीवन बिताउने योजनासहित बूढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित माथिल्लो भंगालको घरमा सर्नुभएकी भण्डारीलाई अहिले उस्तै तनाव छ । जस्तोः संविधान जारी गरिसकेर डा. रामवरण यादव भाडाको घरमा ललितपुरको नख्खु, बागडोलतिर सर्दा कचकच आइलागेको थियो घरधनीबाट । 

त्यतिखेर डा. यादवका नाममा पत्रिकामै पटकपटक सार्वजनिक सूचना मात्र प्रकाशन गरेनन् तत्कालीन घरधनी रविभक्त बिष्ट बहाल उठाउन अदालतसम्मै पुगेका थिए । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका घरबेटी पनि भाडा नपाएको भन्दै उजुरी बोकेर सिंहदरबारतिर धाइरहेका छन् । राष्ट्रपतिबाट बाहिरिएपछि भण्डारीले आवासीय सुविधा नलिने घोषणा गरे पनि सुरक्षाकर्मीको लागि भन्दै सरकारसँग मासिक एक लाख रूपैयाँ निकाशा मागेको शहरी विकास मन्त्रालय स्रोतले जनाएको छ । तर, अहिलेसम्म पनि पूर्वराष्ट्रपतिको विस्तृत सेवा–सुविधासम्बन्धी कानुन नबन्दा कर्मचारीहरू के गर्ने, कसो गर्ने भन्ने अप्ठ्यारोमा छन् । पूर्व राष्ट्रपतिबाट आएको पत्रले उनीहरूलाई झन् रनभुल्लमा पारेको छ । 

पूर्वराष्ट्रपतिको सेवा सुविधासम्बन्धी नियम खोज्दा उपत्यकामा घर भए मासिक १ लाख, नभए मासिक २ लाख दिनेसम्म प्रावधान छ तर सुरक्षाकर्मी बस्ने घरभाडाबारे भने केही उल्लेख छैन । कानुनमै अभाव देखेपछि शहरीका अधिकारीहरूले मन्त्रिपरिषद्को निर्णयबाट मात्र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सेवासुविधा उपलब्ध गराइएको भन्दै गृहतिर यो मामिला सारिदिएका छन् । यसअघि ०७४ मंसिर २४ गतेको क्याबिनेट बैठकमा पूर्वराष्ट्रपतिको सुविधाबारे गृहबाट प्रस्ताव पेश भएको थियो । सोही प्रस्तावउपर क्याबिनेटले पूर्वराष्ट्रपतिको घर भए मासिक १ लाख, नभए मासिक २ लाख दिने निर्णय गरेको हो ।

उसैगरी पूर्वराष्ट्रपति भण्डारीका सुरक्षाकर्मीलाई घरभाडा उपलब्ध गराउने विषयमा पनि क्याबिनेटबाटै नीतिगत निर्णय हुनुपर्ने अवस्था छ । फागुनदेखिको भाडा नपाएका सुवेदी थरका घरधनी भने भुक्तानी कहिले पाइन्छ भन्दै पीर पोखी हिँडेको शहरी विकास मन्त्रालय स्रोतले जनाएको छ । 

भण्डारीको सुरक्षार्थ नेपाली सेना बस्नका लागि ट्रष्ट निर्माण गर्ने भन्दै यसअघि शहरी विकासबाट २५ लाखभन्दा बढी रकम भुक्तानी भइसकेको छ । उता, रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत्त र श्रममन्त्री शरत्सिंह भण्डारी पुल्चोकस्थित क्वार्टरमा नबसी आफ्नै घरमा बसेका कारण मन्त्रिक्वार्टरको ए फोर ब्लक शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवलाई परेको छ । 

 

टिप्पणीहरू