गुडविल सहकारीका पीडितहरु अदालत पुगे

गुडविल सहकारीका पीडितहरु अदालत पुगे

ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका पीडितहरु ललितपुर जिल्ला अदालत पुगेका छन् । जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले आज पीडितहरुको नाम प्रमाणित गरी सूचना टाँस गरेपछि उनीहरु सहकारीविरुध्द दर्ता भएको अभियोगपत्रमा बकपत्र गर्न अदालत पुगेका हुन् । 

सहकारीका सञ्चालक सयौं बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेर फरार भएपछि पीडितहरुले यसअघि अभियोगपत्र दायर गरेका थिए । अदालतले बचतकर्ताको रकम प्रमाणित गर्नुपर्ने भन्दै सरकारी वकिल कार्यालय पठाएको थियो । 

कार्यालयले सो अभियोगपत्र प्रमाणित गरेसङ्गै पाँच दर्जनको टोली कानुनी प्रक्रियाअगाडि बढाउनुपर्ने मागसहित अदालत गएको छ । आफूसहित ४४ जनाको १० करोड चार लाख ७५ हजार ३९८ रुपैयाँ हिनामिना गरेको खुलेको पीडित सुमन खड्गीले बताए । सरकारी वकिल कार्यालयले ५५३ पीडितहरुको नाम र बिगो रकमसहितको विवरण टाँसेपछि कानुनी प्रक्रियामा जान सहज भएको उनको भनाइ छ । 

हाल अदालतले उक्त अभियोगपत्रमा बकपत्र गर्न नामावली संकलन गरिरहेको छ । भोलिदेखि प्रत्येक दिन १० जनाको दरले बकपत्र गरिने छ । सार्वजनिक बिदाको दिनबाहेक बिहान ११ बजेबाट बकपत्र शुरु हुने अदालतले जानकारी दिएको छ । 

बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ प्रहरी हिरासतमा छन् । गत फागुन ९ गते सहकारी बन्द गरेर फरार भएका उनलाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो । उनी एक्लैले ६० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको बचतकर्ताहरुको आरोप छ ।

टिप्पणीहरू