नेपाली सेनाबारे नभनी नहुने कुरा
– निर्मल थापा
भर्खरै मात्र एमाले नेता तथा राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले नेपाली सेनाको अनावश्यक संख्याले अर्थतन्त्र क्षय भएको र छिमेकीसामु युद्ध गर्नै नसक्ने भनेर अपमानित किसिमले संसदमा टिप्पणी गरेपछि केन्द्रीय राजनीति र सुरक्षा क्षेत्रमा गम्भीर तरंग उत्पन्न भएको छ । नेदरल्याण्डको आइआइएसएसबाट विकास अध्ययनबारे प्राप्त विद्यावारिधि मण्डित भइकन पनि कसरी देशको सुरक्षाजस्तो गम्भीर विषयमा बिनाकुनै अध्ययन र तयारी, फितलो किसिमले प्रस्तुत गरिन् भन्ने यसबाट छर्लंग हुन्छ । पुग नपुग महिना दिन परराष्ट्रमन्त्रीको कुर्सीमा बसेकी विमलाको पृष्ठभूमि एक एनजिओकर्मी र आइएनजिओको हो । महिला तथा सज्जनवृन्दलाई देख्नेबित्तिकै नरम हुने विनयशील झापाली नेता खड्गप्रसाद ओलीमार्फत भूपू राष्ट्रपति भण्डारीको जोडबलमा उनी राष्ट्रिय सभामा उक्लेकी थिइन् । जुन सेनाको विरोधमा अभिव्यक्ति दिइन्, उसैको सुरक्षामा रहेर मन्त्रालय, निवास र भेटघाटका कार्यक्रममा सामेल भइन् । जसै जेनेभा भ्रमणको तयारीमा थिइन्, प्रधानमन्त्रीको हस्तक्षेपका कारण राजीनामा दिइन् ।
बेलायती संसदको लर्ड, ब्यारन वा ब्यारोनेसका क्षमताको नक्कल गरी नेपालमा अपनाइएको राष्ट्रिय सभामा चुनिनेहरूको पनि उस्तै योग्यता पाउनु दुर्लभ घटना हुनेछ । नेताको सदाशयता र समावेशी, समानुपातिकजस्ता अर्घेल्याइँ थप्ने आडम्बरी सञ्जालको भ¥याङ चढेर सभामा भर्ती हुने चलन छ । यसमा विमलाको सहभागिता कुनै आश्चर्यको कुरा थिएन । तर मन्त्री भएको गरिमा र हासिल गरेको योग्यतामाथि तब प्रश्न उठ्यो, जब उनले संसदमा सेनाजस्तो गरिमामय अंगबारे खेलाँची गरेर बोलिन् ।
करिब ३०० वर्षभन्दा लामो इतिहास बोकेको सेनाको सम्बन्ध नेपाल र नेपालीसँग यति घनिष्ठ छ कि, लोकतान्त्रिक व्यवस्थाको नारा दिएर चुनावी लडाइँमार्फत चुनिने मौसमी सांसद र चाकडीमार्फत वरियताक्रम मिचेर माथि उक्लने कर्मचारीको तुलनामा नेपाली सेनालाई कदापि राख्न सकिँदैन । नेपाल धर्तीको एकीकरणमा नेपाली सेनाको बहादुरी अकाट्य किसिमले जोडिएको छ, त्यसैगरी जनता र व्यवस्थासँग पनि प्रत्यक्ष सम्बन्ध राख्ने गर्छ । स्वार्थ लम्पट, द्रव्यपिशाचहरूको बिगबिगी संसारभरि फैलिरहेको हुन्छ तर देशकै विरोधमा लाग्नेहरूको नियति हेर्नलाई धेरै लामो समय कुरिरख्नु पर्दैैन । अहिले संसद वा सरकारमा छु, बोल्नलायक छु भनेर सेनाबारे अतिरञ्जित किसिमले बोल्दा बोलक्कडहरूले बुझ्नुपर्ने कुरा के हो भने उनीहरूको सुरक्षा पनि सेनाले नै गरिरहेको छ । क्रिश्चियन देशले विकासको नाममा नेपाली सेनालाई कमजोर बनाउने नीति धेरै पहिलेदेखि नै लिएका हुन् ।
कामरेड विमलाले सेनाबारे बोलेको कुरालाई उनकै दलका वरिष्ठ नेता कामरेड वामदेव गौतमले कडारूपमा खण्डन गर्दै संख्या घटाउने होइन बरु थप दुई लाख थप्ने र तिनलाई देश निर्माणमा लगाउन सके नेपालले पाँच वर्षमा आत्मनिर्भरताको बाटो समाउने विश्वास दोहो¥याएका छन् । केही महिना पहिले रुसको भ्रमणमा कामरेड गौतमसँग म पनि सहभागी भएको थिएँ । रुसी इतिहासकारभन्दा विस्तृत रूपमा रुसबारे नेपाली सहभागीलाई बताउनसक्ने गौतमको विलक्षणता सेनाको विषयमा जसरी मुखरित भयो, त्यो वास्तविकता हो । राप्रपा नेता राजेन्द्र लिङदेनले पनि जसले नेपाली सेनाको गरिमालाई खलल पार्ने गरी बोल्छ, उसको पुख्र्यौली साइनो नेपाली माटोसँग छैन, अन्यथा त्यसरी बोल्नै नसक्ने प्रतिक्रिया दिएका थिए ।
बक्रदृष्टि र वास्तविकता
विमला राई पौड्यालको विवादास्पद भनाइ संसदमा मात्र सीमित रहेन, उनले पत्रिकामा मै ठीक हुँ भन्ने आशयले लामो आलेख नै तयार पारिन्, जसमा उनको तर्क थियो– ‘हिजोको जस्तो युद्धको परिवेश हाल नरहेको र संघीयतामा मुलुक प्रवेश गरेकोले संख्या पुनरवलोकन हुनुपर्छ भन्नु अपराध हो ?’ के शान्ति भनेको अर्को युद्धको तयारी होइन र ? के युद्ध साइरन बजाएर आउँछ ? विपद् र दुर्घटना संकेत दिएर घट्ने त पक्कै होइनन्, तसर्थ विगतमा माओवादीले उठाएको गृहयुद्धको जस्तो अवस्था होस् वा छिमेकीको सम्भावित आक्रमण वा भूकम्प वा कोभिडकालको जस्तो त्राहीमाम प्राकृतिक प्रकोपदेखि राष्ट्रिय संकटको सामना गर्ने अन्तिम आशा र भरोशाको केन्द्रविन्दु भनेकै नेपाली सेना हो । सेनाको आफ्नै संयन्त्र हुन्छ, त्यसको गोप्यता र सांगठानिक प्रारूपताबारे कतिपय नेतालाई थाहा नहुनु कुनै आश्चर्य होइन ।
जनताको पसिनाको करले संघीयताको नाममा कार्यकर्ता रिझाएर देशको ढुकुटी सक्ने संरचनामाथि सरकार र प्रतिपक्षमा रहेका दलहरूमाझ एकरुपता हुन नसकेको र संविधानमा हिन्दुराष्ट्रको घुमाउरो विषयलाई प्रवेश दिने व्यक्तिहरूको पनि खोजी भइरहेको बेला सेनाका विषयमा सतही टिप्पणी गर्ने छुट कसैलाई छैन । नेता कमजोर भयो भने कार्यकर्ताले कमिसन र घुस खान नपाउलान् र अनेकौं बहाना खोजेर देशलाई अस्थिरतातर्फ धकेल्न खोज्लान् तर सेना कमजोर हुनु भनेको खासमा देशको स्वाभिमानमािथ नै संकट आइलाग्नु हो ।
शाही सेनादेखि नेपाली सेनासम्म
नेपाली सेनालाई संयुक्त राष्ट्रसंघमा लामो समय योगदान दिएका र राजा महेन्द्रको एडिसीसमेत रहेका अवकाशप्राप्त रथी कृष्णनारायणसिंह थापाको आत्मकथा ‘समय सम्झना’ मा उल्लेखित केही महत्वपूर्ण बुँदा सान्दर्भिक भएकाले यहाँ उल्लेख गर्न चाहन्छु । उहाँ जतिबेला कप्तान पदमा हुनुहुन्थ्यो, वि.सं. २०२३ साल, फागुन ७ गतेको ‘रमझम’ पत्रिकामा लेख्नुभयो– कुनै पनि देशले आफ्नो सार्वभौमिकता र भौगोलिक अक्षुण्णतालाई कायम गर्न सेनाविहीन राज्यको कल्पनासमेत गर्न सक्दैन । सेना युद्धका समयमा देशको भूमि र जनताको रक्षाका लागि सक्रिय रहन्छ भने शान्तिकालीन अवस्थामा विकास, निर्माण कार्यमा हातेमालो गर्दछ । शाही सेनाका बारेमा लेखिएको ५६ वर्ष पुरानो आलेखको मर्म अहिले पनि सान्दर्भिक छ ।
अ.प्रा. उपरथी दीपकप्रसाद बास्तोलाले समेत छिमेकी देश भारत, श्रीलंकासँग दाँजेर सेनाको संख्या किन बढाइनुपर्ने तथ्यगत तर्क दिनुभएको छ । भ्रष्ट नेतालाई समय छँदै प्रष्ट सद्बुद्धि आओस्, श्री गोरखनाथ र जयकालीले देशको रक्षा गरिरहुन् ।
टिप्पणीहरू