सेनामा जागिर लगाइदिने भन्दै १५ लाख ठगी,आठ जना पक्राउ
-अमर खत्री
नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा ठग्दै हिँडेका आठ जनालाई प्रहरीले दार्चुलाबाट पक्राउ गरेको छ । उनीहरूले नेपाली सेनामा जागिर लगाई दिने शर्तमा सात जनासँग १४ लाख ९५ हजार रुपैयाँ ठगेका थिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले हिजो पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाको अवस्थाबारे जानकारी गराएको छ । दार्चुलाको महाकाली नगरपालिका ३, बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका ३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका ३ का ३४ वर्षीय शंकर भुल मिलेर सात जनासँग उक्त रकम असुलेको तथ्य खुल्न आएको छ ।
पक्राउ परेका नरेन्द्रसिंहले आफू सेनाको देवीदल गण अत्तरियामा कार्यरत रहेको बताउँदै सर्वसाधारणलाई प्रलोभनमा पारेका थिए । दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयका अनुसार उनीहरूले पीडित सातै जनालाई सेनामा सोझै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन दिलाउँदै उनीहरुले रकम आफ्नो बैंक खाता र इसेवामा हाल्न लगाएका थिए । पक्राउ परेका सबैको खाता नम्बर र इ–सेवामा रकम देखिएको प्रहरीको भनाई छ ।
उनीहरूमाथि ठगी मुद्दामा थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले बताए ।
टिप्पणीहरू