उहाँ फेरि विदेशतिर

उहाँ फेरि विदेशतिर

केपी ओली ‘व्यक्तिवादी, अहंकारी’ भएको भन्दै एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी गठन भयो । त्यही पार्टीमा पनि अध्यक्षको लगातार विदेश यात्राका काराण महत्वपूर्ण बैठक सर्ने भएपछि निकटस्थ नेताहरू भन्दै छन्, ‘यो त ठीक भएन !’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल न्युजिल्याण्ड, अष्ट्रेलियापछि श्रीलंका, इण्डोनेसिया हुँदै मलेसियाबाट भर्खरै फर्किनुभयो । एउटा समूहले उहाँलाई फेरि बेलायत सहित युरोप भ्रमणमा लैजाने गरी कार्यक्रम तय ग¥यो । टिकट काटिदियो । यस्तो हुँदा पार्टी अध्यक्षले आफ्ना कामहरुको तालिका हेरेर प्रायोजकलाई टुंगो दिनुपथ्र्यो । तर, उनीहरुलाई पहिल्यै जाने विषयको टुंगो दिएर पार्टी कामचाहिँ पछाडि धकेलिदिनुभयो । फलस्वरुप ‘कोर टिम’ का नेताहरु प्रमेश हमाल, घनश्याम भुसाल, डा.गंगालाल तुलाधर, डा.विजय पौडेलहरु अध्यक्षसँग पड्किए, ‘यस्तो पनि गर्ने हो ?’ यद्यपि, भ्रमण तालिकामा कुनै फेरबदल भएन, बरु पार्टी बैठकको तालिका भने फेरियो । पूर्वतालिकाअनुसार १५ गते आइतबार सचिवालय, १६ गते पोलिट्व्युरो र १७ गते स्थायी कमिटीको बैठक बसेपछि २० र २१ गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको थियो ।

तर, पुष्पलाल स्मारकस्थल कीर्तिपुर, चम्पादेवीमा बसेको सचिवालयको लामो बैठकलगत्तै ‘तयारी पूरा नभएको’ नाममा अर्को सूचना जारी नभएसम्म भन्दै बैठक सारिएको  छ । यस्तो हुनुको कारण हो, अध्यक्षको युरोप यात्रा । अतिनिकट (कोर) नेताले पनि अहिले नजानुस् भन्दा मान्नुभएन । अर्काथरि नेताहरुले केही जनसंगठनका कार्यकर्ता भेला पारेर यो कुराको खुलेर विरोध गर्नुप¥यो भन्न थाले । यस्तो सुइँको पाएपछि अध्यक्ष माधव र महासचिव घनश्यामको सचिवालयले बैठकको नयाँ तालिका सार्वजनिक गरेको छ । माधव २० गते लण्डन प्रस्थान गर्दै हुनुहुन्छ । त्यसैले २० गते नै बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भदौको ५ देखि ७ गतेसम्मका लागि तय गरिएको छ । नयाँ तालिकाअनुसार केन्द्रीय सचिवालयको बैठक साउनको १९, स्थायी कमिटी २० र २१, पोलिट्व्युरो ३ र ४ गते बस्ने भएको छ । यसअनुसार, अध्यक्ष नेपाल १९ को सचिवालय बैठकमा पूरै र २० गते बस्ने स्थायी कमिटी बैठकको पहिलो दिन उपस्थित भएर लण्डन उड्नुहुनेछ । त्यसपछि एकैचोटि ३ र ४ गते बस्ने पोलिट्व्युरो बैठक भ्याउने गरी फर्किने कार्यक्रम छ ।

एमालेमा विकास भएका गुट, उपगुट, व्यक्तिवादजस्ता गलत प्रवृत्तिविरुद्ध विद्रोह गरेका नेताहरुले अर्को पार्टी बनाएपछि त्यहाँ पनि एमालेमा जस्तै विसंगति नआओस् भन्नेमा चनाखो हुनुपर्ने हो । तर, एकीकृत समाजवादीमा माधव र झलनाथलाई भिडाएर आफ्नो फाइदा उठाउने एउटा तप्का अहिले निकै सक्रिय भएको र उक्त तप्काले पार्टी अफिसबाहिर विभिन्न भेला–बैठक राख्दै नयाँ गुटको विकास गरिरहेको बताइन्छ । त्यसक्रममा प्रयोग हुने गरेका ठाउँ हुन्, नयाँ बानेश्वरस्थित मदन भण्डारी स्कुल अफ माक्र्ससिज्मको कार्यालय र केन्द्रीय कार्यालयकै पारिपट्टी तीनकुने कोरिडोरमा अवस्थित जिल्ला कमिटीको कार्यालय । त्यही समूहले अध्यक्षको विदेश भ्रमण र पार्टी बैठकको विषयलाई सार्वजनिक गर्दै विभिन्न मिडिया र सामाजिक सञ्जालमा लेखाएको नेताहरुले बताएका छन् । 

तर, राजनीतिक र वैचारिक मामिलामा भने पार्टी नेताहरुको धारणामा एकरुपता आएको छ । चम्पादेवीमा बसेको एक हप्ता लामो सचिवालयको बैठकमा नेताहरुले समसामयिक राजनीतिक तथा वैचारिक विषयहरुमा मन्थन गरे । त्यसक्रममा मदन भण्डारीद्वारा अगाडि सारिएको जनताको बहुदलीय जनवादी कार्यक्रम (जबज) को सान्दर्भिकतालाई समाप्त भएको र नयाँ शिराबाट समाजवादी कार्यदिशा अबलम्बन गर्नुपर्ने निश्कर्ष निकालिएको छ । बैठकबारे बताउँदै एक नेताले भने, ‘जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा त्यसलाई सम्मान गर्दै अब जबजबाट चल्दैन भन्ने निश्कर्षमा पुग्यौं । जबज हामीले नै सिर्जना गरेको कार्यक्रम हो । त्यसले एउटा ऐतिहासिक कार्यभार पूरा ग¥यो । तसर्थ जबजलाई सम्मान गर्ने भन्नेमा सबैको मत मिलेको छ ।’ ती नेताका अनुसार, बहुदलीय प्रतिस्पर्धाको सन्दर्भमा जबजले स्थापित गरेको मूल्य मान्यता कायमै छ । त्यसैले पार्टीले समाजवादी कार्यक्रम अगाडि सार्दै कम्तीमा १० वर्षमा आधारभूत परिवर्तन गर्ने गरी जनताको घरघरमा जाने निश्कर्ष निकालिएको छ ।

उता, एमसिसीलाई उक्त पार्टीले ‘यथास्थितिमा पारित गर्न सकिँदैन’ भन्ने अडान लिएकै कारण व्याख्यात्मक टिप्पणीसहित पारित गरियो । तर, त्यसलाई अमेरिकी सरकारले स्वीकार गरेको छैन । जबकि, भदौदेखि एमसिसी लागु हुन्छ । त्यसैले व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले मान्नुपर्ने मान्यताका साथ संसदीय अनुगमन समिति बनाउनुपर्छ भन्ने निश्कर्षमा बैठक पुगेको छ । यसका लागि उपाध्यक्ष तथा धादिङका सांसद राजेन्द्र पाण्डेले संसदमै आवाज उठाउने हुनुभएको छ । किनभने, अहिलेको अवस्था पहिलाको जस्तो छैन । एमसिसी संसदमा पेश हुने बेला एकीकृत समाजवादी एक्लैले ‘यथास्थितिमा पारित गरिँदैन’ भनेको थियो । अहिले त उक्त दलसहित संसदका तीन र बाहिरको एक गरी चार दलीय समाजवादी मोर्चा गठन भएको छ । समाजवादी मोर्चा भएकै कारण मीटरव्याजविरुद्धको विधेयक पारित गर्नेमा उपेन्द्र यादव सहमत भएका हुन् । नत्र, उनी र उनको सिंगो पार्टी त्यसको विपक्षमा थियो ।

अर्कातिर, मन्त्री पदबाट बिदा भएपछि प्रेम आले र रामकुमारी झाँक्री पार्टी काममा फर्किएका छैनन् । 
 

टिप्पणीहरू