चौरासीको पूर्वदर्शन र अर्को चुनावकै चिन्ता

चौरासीको पूर्वदर्शन र अर्को चुनावकै चिन्ता
सुन्नुहोस्

– श्याम रिमाल

एक राजनीतिकर्मीले आउँदो चुनावबारे मात्र सोच्छः एक राजनेताले आगामी पुस्ताबारे विचार गर्छ । –जेम्स फ्रिम्यान क्लार्क, अमेरिकी धर्मशास्त्रविद् एवं लेखक हिन्दू धर्ममा असी वर्षको उमेरपछि व्यक्ति पितृसरह मानिन्छ । भन्नलाई ८४ भनिए पनि अधिक माससमेत जोड्दा एकासी वर्ष चानचुन महिनामै उसले चन्द्रमा दर्शन गरिसक्छ र कुनै महिनाको पूर्णिमा तिथि पारेर चौरासी पूजा हुन्छ । सहस्र चन्द्र दर्शनका अवसरमा भए बूढाबूढीको, नभए बूढा वा बूढीको विशेष पूजा हुन्छ । सक्नेले तुला दान पनि गर्छन् जसमा तुलो अर्थात् तराजुमा बसेर आफ्नो तौल बराबरकै सिक्का पण्डित, पुरोहितलाई दान गरिन्छ । चौरासी पूजा गरिएकाहरूले बोलेको पुग्ने ठानिन्छ र उनीहरूलाई ढोगभेट गरी आशीर्वाद थापिन्छ । 

करिब एक वर्ष बिताएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा त्यसको अध्यक्षसहितले २० स्थान ल्याएपछि टिभी कार्यक्रम प्रस्तोताबाट नेता बनेका रवि लामिछाने शक्तिशाली उपप्रधानमन्त्री एवं गृहमन्त्री खान गए, अन्य केही सांसदले मन्त्री पद पाए । वास्तवमा २६५ मा २० सिट भनेको निकै ठूलो संख्या हो । तिनको जताततै हाई हाई भयो । सत्तामा केही दिनको स्वाद पाएपछि तिनको महत्त्वाकाङ्क्षा अति नै चुलियो । अब रास्वपा ‘मिसन ८४’ मा लागेको छ । लामिछानेले सोचेका पनि थिएनन् सांसद जितुँला र उपप्रम–गृहमन्त्री पाउँला भनेर । नागरिकता प्रमाणपत्र मुद्दामा अदालतबाट हारेका उनले चितवन–२ रिक्त भएपछि पुनः जिते, पहिलेभन्दा बढी मत ल्याएर । त्यसले तिनको फुर्ती निकै बढ्यो र ‘अब बहुमत ल्याएर प्रधानमन्त्री पड्काउने’ मनसुवा छ । पार्टीले अहिलेदेखि नै ‘मिसन ८४’ ल्याएर नयाँ राजनीतिक अभियान चलाइसकेको छ । 

यसपूर्व नै पुरानो दल नेकपा (एमाले) ले मिसन ग्रासरुट चलाइसकेको छ । तिनका अध्यक्ष भनिरहेछन्, अर्काे पालि हामी नै बहुमत ल्याएर शासन चलाउँछौँ । चुनावमा ५१ प्रतिशत ल्याएर एकल सरकार चलाउने एमालेको लक्ष्य छ । अनि यस्तै अभियान ल्याएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीले । नवीन राप्रपा उसको नारा हो । नेपाली कांग्रेस भर्खरको केन्द्रीय समिति बैठकपछि गाउँ गाउँमा जाने भनिरहेको छ । हालै यसमा मिसिन आइपुगेको छ नेकपा(माओवादी) । हरेक चुनावमा सिट खस्कँदै गरेको माओवादी केन्द्रलाई पनि कार्यकर्ता उचाल्नु छ, पलायन रोक्नु छ । अब ऊ पनि स्थानीय तहका वडा वडा पुग्ने भएको छ । नयाँ हुन् वा पुराना राजनीतिक दल–प्रतिनिधिसभा चुनाव आउन बाँकी चार वर्षमै यसरी अहिले नै चुनावको नारा बोकेर मिडियाबाजी गर्दै छन् र मिडियाले पनि तिनलाई साथ दिइरहेका छन् । राजनीतिक दलका क्रियाकलाप र तिनका नेताको भाषण सुन्नुभयो भने लाग्छ निर्वाचन सन्निकट छ र ती मतदातालाई फकाउन अनेक चकलेटरूपी आश्वासन बाँडिदैछ । 

मुलुक यतिखेर भुटानी शरणार्थी काण्ड, ललिता निवास प्रकरण र सुन तस्करीका घटनामा रुमल्लिइरहेको छ । सरकार, सदन र सडक– तिनै मैदान यसै प्रकणमा रिँगिरहेका बेला चुनावको कुरा कस्तो नसुहाएको ! तिनै काण्डमा जन्ती हिँडे झैँ जेल हिरासतमा हिँडेका राजनीतिक नेताहरूमाथि शङ्का गरिँदै, अनुसन्धान गरिँदै छ र ती जनताबाट त दोषी नै भइसकेका छन् । अहिले त अनुसन्धान मात्र हो, यी जल्दाबल्दा विषयको मुद्दाको छिनोफानो गर्न नै बाँकी छ भने चुनावको कुरा कुन जनताले कान थापेर सुन्ला ? अझ नामकरण मुद्दामा चरम विवाद झेलिरहेको कोशी प्रदेशमा त झण्डै झण्डै मध्यावधि अर्थात् अर्काे चुनाव नै हुन लाग्दै छ । 

चलचित्र क्षेत्रमा निखिल उप्रेती स्टन्टले चम्किए, राजनीतिका नाममा मालेवादीदेखि बालेनसम्ममा स्टन्ट मोह देखिँदै छ । पूर्वउपप्रम लामिछानेदेखि सिके राउतसम्म चमत्कृत कार्यकै खोजीमै देखिन्छन् । जादु, तन्त्रमन्त्र केके उपाय आउँछन्, तिनलाई सबै देखाउनु छ । ट्रम्पको कथित लोकप्रियताले आखिर अमेरिकामा उनी दोस्रो राष्ट्रपतिमा हारेको नतिजाबाट सिक्नै खोजेनन् हाम्रा राजनीतिज्ञहरूले । सत्ययुगका दैत्यगुरु शुक्राचार्य र देवताका गुरु बृहस्पतिका छोरा कचका सपनामा पसेर तिनबाट सञ्जीवनी विद्या पनि खोज्न जालान् जस्ता छन् यी । डेँगी, लम्पी स्किन र आँखा पाक्ने रोग, भारतीय चामल निर्यात बन्द, बाढीपहिरो, बाटो अवरोध, सहकारी–मीटरब्याजी पीडित कति छन् कति समस्या । तिनको ध्यान भने संसद्का समितिमा भागबण्डातिर । नेपाली जनता मरेका मर्‍यै । 

राजनीतिकर्मीहरू निर्वाचन जित्न वा शक्तिमा आउन जे पनि भन्छन् र गर्छन् । यिनीहरू क्षणिक रूपमा लोकप्रियता पाउन जे पनि बोल्छन् तथापि राजनेताले जनताको कल्याणका लागि जे पनि गर्नुपर्ने हो । राजनेता भनेको निकै सम्मानित स्थान हो जसको निष्ठा जनताप्रति सदैव हुन्छ । न्यायपूर्वक शासन कसरी चलाउने भन्ने विशेष ज्ञान भएका राजनेताहरू सदैव जनताका मुटुमा बस्न रुचाउने हुन्छन् । क्षणिक स्वार्थमा राजनीतिकर्मी हुन्छन् भने राजनेताहरू चुनाव हारे हारियोस्, सही कुरा बोल्छन् र दूरदर्शी निर्णय लिन्छन् । हामीकहाँ बिपी र पुष्पलाल नै सही राजनेतामा गनिन्छन् । संविधानमा समाजवाद लेखेर अहिलेका नेता भनाउँदा कोही भागे, कोही हराउँदै छन्, कोही पार्टीको नाममा मात्र लेखेर विज्ञापन गर्दै छन् । जनवाद कता गयो, साम्यवाद कहाँ छाडियो, पत्तो छैन । 

सानो इस्यु पायो कि संसद् अवरोध । एकले अर्कालाई आरोप –प्रत्यारोप लगायो अनि चित्त बुझेन कि बैठक अवरुद्ध । हालसम्म दुइटा मात्र विधेयक पारित । संसद्, न्यायपालिका, कार्यपालिका जताततै अविश्वास, आशङ्का, असहिष्णुता । अनि भन्न मिल्छ कि मिल्दैन– छोरो पाउनु कहिले कहिले कहिले भोटो सिउनु भनेजस्तै ८४ को चुनावको एकोहोरो नारा । हे भौवान् हाम्रा नेता, राजनीतिकर्मी(राजनेता त छँदै छैनन् ) लाई अहिले चुनावी मोहबाट बचाऊ । 

 

टिप्पणीहरू