नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । चाइना–साउथ एसिया बिजनेस फोरमको तर्फबाट युन्नान प्रान्तको खुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियलको अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् । 

प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजारको पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको उनको भनाई छ । अध्यक्ष ढकालले युन्नान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीयस्थललगायत समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरेका छन् ।

 

अध्यक्ष ढकालले खुनमिङ र पोखराबीच भगिनी सहरको सम्बन्ध रहेको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकास सहकार्यलाई प्रवद्र्धन गर्दै उक्त सम्बन्धलाई थप उपयोग गर्न सुझाव दिएका छन् । हालै पोखरामा भएको चिनियाँ ड्रागन बोट फेस्टिभलमा सिचुआन एयरलाइन्सले पोखरामा गरेको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन पर्वद्धनमा सहयोग पुगेको बताए । 

‘ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषि जस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसर छन्,’ उल्लेख गर्दै उनले भने, ‘नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाएका छन् । भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्नसक्ने अवस्था छ ।’

उनले चाइना–साउथ एसिया एक्स्पोमा राखिएको नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणासमेत गरेका छन् । उक्त कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली मुलुकका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

टिप्पणीहरू