श्रम बैंकमा आबद्ध हुन महानगरको अनुरोध

श्रम बैंकमा आबद्ध हुन महानगरको अनुरोध

काठमाडौं महानगरपालिकाले श्रम बैंकमा आबद्ध हुन आग्रह गरेको छ । महानगरपालिकाले नगर कार्यपालिकाको बैठकपछि श्रम बैंकमा आबद्ध हुन आग्रह गरेको हो । 

महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति छ । यसमा सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरलाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिने भनिएको छ । 

त्यस्तै, सूचीकृत जनशाक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतुको काम महानगरले गरेर बेरोजगार तथा रोजगारीमा रहेका श्रम शक्तिको रोजगारीमा पहुँच बढाउने, श्रम संस्कृतिको विकास गर्ने तथा हाल भइरहेको वैदेशिक रोजगारीमा श्रमशाक्तिको पलायनलाई रोक्नेसमेत लक्ष्य रहेको छ । 
सोहीअनुरुप महानगरक्षेत्रमा चालु आर्थिक वर्षको निम्ति श्रम गर्न इच्छुक व्यक्तिलाई तोकिएको फाराम भरी आफु बसेको वडा कार्यालय वा महानगरको रोजगार सेवा केन्द्रमा आवेदन पेश गर्न अनुरोध गरिएको छ । 

महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने गरी महानगरबासीलाई विशेष प्राथमिकतामा राखी श्रमशाक्तिको उपयोग गरिने जनाएको छ । 

अबदेखि महानगरले आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा सूचीमा सूचीकृतबमोजिम मात्र लिइने जानकारी गराइएको छ ।

टिप्पणीहरू