सेनामा दिन थालियो सजायँ

सेनामा दिन थालियो सजायँ

नेपाली सेनाले आर्थिक वर्ष २०७८–७९ मा विभिन्न दर्जाका ५९३ जनालाई सजायँ दिएकामा आर्थिक वर्ष २०७९–८० मा सो संख्या घटेर ५३८ पुगेको छ । कारबाहीमा पर्ने तल्लो दर्जाका सैनिकको संख्या घट्दा सेनानी, सहसेनानीलगायतको संख्यामा भने बृद्धि भएको पाइएको छ । 

यसक्रममा एक जना महासेनानीले समेत कारबाही भोगेका छन् । त्यसैगरी, कारबाहीमा पर्ने प्रमुख सेनानीको संख्या तीनबाट दुईमा झरेको छ । स्टाफ कलेज गर्न नसक्ने तर दण्ड पाउने मेजरको संख्या भने दोब्बरले वृद्धि भएको छ । उनीहरु चार जनाबाट बढेर आठ पुगेको बताइन्छ । ०७८–७९ मा कारबाहीमा पर्ने क्याप्टेनको संख्या तीन थियो । यो संख्या बढेर आठ पुगेको छ । दुवै आर्थिक वर्ष कारबाहीमा पर्ने उपसेनानीको संख्या एक–एक रहेको छ । सो अवधिमा एक जना प्रमुख सुबेदार पनि कारबाहीमा परेका छन् । दण्डित हुने सुबेदारको संख्या एकले थपिएको छ । ०७८–७९ मा ६ जना दण्डित भएकोमा बढेर सात पुगेको हो । कारबाहीमा पर्ने जमदारको संख्या १४ बाट १२ मा झरेको छ । 

गत आर्थिक वर्ष ४४ हुद्दा कारबाहीमा परेका छन् । जबकि त्यसअघिको आर्थिक वर्षमा उक्त संख्या ५८ थियो । सजायँ पाउने अमल्दारको संख्या ११० बाट घटेर ९७ पुगेको छ । तथ्याङ्कमा कारबाहीमा पर्ने प्यूठको संख्या घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष यस्ता १०२ जनालाई सजाय दिइएको थियो । 

त्यसअघि १०८ प्युठ कारबाहीमा परेका थिए । कारबाही भोग्ने सिपाहीको संख्याचाहिँ २३० बाट घटेर दुई सय पुगेको छ । सजाय पाउने ब.का.सि को संख्या दुवै आर्थिक वर्षमा बराबरी अर्थात् ४७–४७ रहेको छ । 

निलम्बनमा पर्ने सैनिक कति ? 

दण्डित हुने सैनिकको संख्या घटिरहँदा निलम्बनमा पर्नेको भने ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७८–७९ को तुलनामा २०७९–८० मा निलम्बित सैनिकको संख्या बढी छ । ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यानसम्बन्धी मुद्दा, करणी, मानव बेचबिखन तथा ओसारपसार, बहु विवाहलगायतका कसूरमा थुप्रै कारबाही भएको छ ।

जसअन्तर्गत ०७८–७९ मा कूल ९७ जना कारबाहीमा परेका थिए । गत आर्थिक वर्ष यो संख्या बढेर २०२ पुगेको थियो । ज्यानसम्बन्धी मुद्दामा ३६, सवारी ज्यानसम्बन्धी कसूरमा सात, मानव बेचबिखन तथा ओसारपसारमा एक, आखेटोपहार ओसारपसारमा सात, लागुऔषधसम्बन्धी मुद्दामा १०, बहुविवाहमा तीन, सरकारी छाप कीर्तेमा दुई, विद्युतीय कारोबारमा एक, चोरी तथा लुटपाटसम्बन्धी कसूरमा तीन जना निलम्बित भएका छन् । ०७८–७९ मा ज्यानसम्बन्धी मुद्दामा ३०, सवारी ज्यानसम्बन्धी कसूरमा ११, मानव बेचबिखन तथा ओसारपसारमा एक, आखेटोपहार ओसारपसारमा ९, लागुऔषधसम्बन्धी कसूरमा १०, बहुविवाहमा तीन, सरकारी छाप कीर्तेमा तीन, विद्युतीय कारोबारमा दुई, चोरी तथा लुटपाटमा तीन जनालाई निलम्बन गरिएको रक्षा प्रवक्ताले बताए । 

कति सैनिक परे दुर्घटनामा ? 

सेनाको काम नै जोखिमसंग खेल्नु हो । सेना राष्ट्रसेवक संस्था भएकाले आपतविपद् पर्दा खटिनुपर्छ । ड्युटीमा जाँदा–फर्किँदा, विपद् उद्धारमा खटिँदा, बाहिरी अभ्यासका क्रममा सैनिकहरु दुर्घटनामा पर्ने गरेका छन् । यसरी आर्थिक वर्ष २०७८–७९ मा ६१ जना सैनिक दुर्घटनामा परेका थिए । आर्थिक वर्ष २०७९–८० मा सो संख्या बढेर ८७ पुगेको छ । घरबिदामा जाँदा–फर्किँदा ५० जना दुर्घटनामा परेका छन् । आर्थिक वर्ष ०७८–७९ मा यो संख्या ४४ थियो । 

बाहिरी अभ्यासका क्रममा एक–एक जना घाइते भएको तथ्याङ्क छ । विपद् उद्धारका लागि खटिएका सैनिक आफैं घाइते भएका छन् । दुई आर्थिक वर्षमा क्रमशः दुई र तीन जना यस्ता दुर्घटनामा परेका छन् । साधारण ड्युटीका क्रममा २९ जना घाइते भएका छन् । जबकि त्यसअघिको आर्थिक वर्ष ड्युटीको क्रममा दुर्घटनामा पर्नेको संख्या आठ थियो ।  यता, आर्थिक वर्ष २०७८–७९ मा सेनाका ६१ सवारी साधन दुर्घटनामा परेको छ । तीमध्ये दुई पाङ्ग्रे ४५, चार पाङ्ग्रे पाँच र हेभी ११ वटा रहेका छन् ।
 

टिप्पणीहरू