किसानकी छोरी

किसानकी छोरी

कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा पनि किसानकै छोरी हुनुहुँदोरहेछ । अहिले भर्खरै उहाँले आफ्नो पुख्र्यौली विवरण सार्वजनिक गर्नुभयो । किसानकी छोरी भएकाले कृषि समितिको सभापति बनें भन्नुभयो । किसानकी छोरी भएको नाताले कृषि समितिमाथि उहाँको वंशाणुगत अधिकार रहने नै भयो । या भनौं यो समितिलाई उहाँको बपौती नै भन्दा पनि फरक नपर्ला । नेपाल यस्तो देश थियो जहाँ राजाका सन्तान राजा नै हुन्थे, दरबारियाका सन्तान दरबारिया नै हुन्थे, किसानको सन्तान किसान नै हुन्थे । डा. आरजु पनि किसानकै सन्तान हुनुहुँदोरहेछ । त्यसैले संसदमा पनि उहाँले कृषि समिति नै रोज्नुभयो । 

अब प्रश्न आउँछ, डा. आरजु राणा किसानचाहिँ हो कि होइन ? उहाँले आफूलाई किसानकी छोरी त भन्नुभयो । तर उहाँको बुबा अथवा हजुरबुबा किसान हो त ? आमा त किसान होइन, राजदूत हो । बुबा बिनोदचाहिँ के हो ?

मलाई लाग्छ, उहाँको बुबा पनि किसानै हुनुहुन्थ्यो । अझ धेरै ठूलो किसान । यति ठूलो कि उहाँको सामु साँच्चैको किसान पनि किसान जस्तो लाग्दैन । किसान हुनलाई सबैभन्दा पहिला खेत चाहियो नि ! खेतै भएन भने केको किसान ? जोसँग जति धेरै खेत छ त्यो त्यति नै ठूलो किसान हुन्छ । त्यो हिसाबले डा. आरजुका बुबा नेपालकै सबैभन्दा ठूलो किसान हुनुपर्छ । अथवा ठुल्ठूला किसानमध्ये एक पर्नुहुन्छ । नेपालमा उहाँहरूको खेत नभएको जिल्ला कहाँ छ ?त्यो पनि दुई चार रोपनी हो र ? बिघा का बिघा । यति धेरै खेत भएपछि उहाँहरू किसान पनि ठूलै पर्नुभयो । ठूलो किसान भएको नाताले पनि कृषि समितिमा उहाँकै अधिकार कायम भएको देखिन्छ । कि कसो ?
 

टिप्पणीहरू