मुख्यमन्त्री आवास

मुख्यमन्त्री आवास
सुन्नुहोस्

सातै प्रदेशका मुख्यमन्त्रीहरूको लागि सरकारले काठमाडौंमा आवास निर्माण गरिदिएको छ । त्यो पनि भव्य । आलिशान । यति ठूलो र भव्य आवास त स्वयम् प्रदेशको राजधानीमै पनि छैन होला ।

यसबाट हाम्रा मुख्यमन्त्रीज्यूहरूले अब प्रदेशको राजधानीमा बसेर होइन केन्द्रको राजधानीमा बसेर पनि शासन गर्न पाउने हुनुभयो । प्रदेश चलाउन प्रदेशमै जानुपर्छ भन्ने रहेन । त्यसो त प्रदेश चलाउन प्रदेशमै बस्नुपर्छ भन्ने बाध्यता त अहिले पनि छैन । केन्द्रमै बसेर पनि प्रदेश चलाउन सकिन्छ । चलाइरहेकै छ । प्रदेशको मुख्यमन्त्री भनेको त केन्द्रले खटाएको हाकिम मात्रै हो । (बडाहाकिम होइन नि फेरि । ऊबेला बडा हाकिमलाई बरु आफ्नो क्षेत्रमा आफूखुशी शासन गर्ने अधिकार हुन्थ्यो ।) प्रदेश भनेको अहिले केन्द्रको विभागीय कार्यालय मात्रै हो ।

मुख्यमन्त्रीचाहिँ त्यो विभागको हाकिम । अहिले नेपालको संघीय व्यवस्था यही हाकिमीय प्रणालीमा चलिरहेको छ । अब काठमाडौंमै हाकिमहरूको आवाससमेत निर्माण भएपछि यो प्रणाली अझै मजबूत हुने भयो । मुख्यमन्त्रीहरूको आवास त भइहाल्यो । अब उहाँहरूको सचिवालय पनि यतै खोल्ने व्यवस्था भए मुख्यमन्त्रीज्यूहरूलाई अझै सजिलो हुने थियो कि ?
 

टिप्पणीहरू