बालेनको गाडी
मेयर बालेन साह चढ्ने सरकारी गाडी कतै जाँदै थियो । ट्राफिकले रोक्यो । चेकजाँच चल्दै थियो । ट्राफिकले सोध्यो, ‘कता हो हजुर ? गाडी त सरकारी हो । शनिवार चलाउने पास छ कि छैन ?’
चालकले भन्यो, ‘यो पास लिने होइन, दिने मान्छेको गाडी हो । त्यसैले हामीलाई पास चाहिँदैन ।’
‘हँ ?!’, ट्राफिक झस्कियो, ‘कसको गाडी यो ?’
‘बालेन साहको गाडी हो ।’
‘पारस साह रे ? पारस साह त आजभोलि बाइक चलाउनुहुन्छ । अनि उहाँ को नि ? हिमानी हो ?’
‘पारस साह होइन, बालेन बालेन । बालेन साह । बालेन साहको गाडी हो ।’
‘ए, बालेन साह पो ! अनि बालेन साहचाहिँ खोइ त ?’
‘मलाई के थाहा । कहिल्यै भेटेको भए पो ।’
‘बालेन साहको ड्राइभर भएपछि ड्राइभरले पनि भेटेको छैन भन्न मिल्छ ?’
‘मेरो के कुरा सर, ऊ... उहाँ म्यामले त भेट्न पाउनुहुन्न । बिचरा एक्लै हस्पिटल गएर आउनुभएको छ । उहाँलाई श्रीमतीले त भेट्न पाउनुहुन्न भने ड्राइभरको के कुरा ?’
‘तर हस्पिटल नै जाने भए पनि बिदाको दिन सरकारी गाडी चलाउन त पास चाहिन्छ । थाहा छ होला नि !’
‘हेर्नोस्, हामीलाई नियम नसम्झाउनुस् । काठमाडौं महानगरपालिका भनेको आफैँ नियम बनाउने निकाय हो । आवश्यक प¥यो भने भोलिदेखि पासै नचाहिने नियम बन्नसक्छ फेरि । बुझ्नुभयो ?’
‘गजबको मान्छे हुनुहुँदोरहेछ तपाईं । ड्राइभर भएर पनि ट्राफिकसँग यसरी मुखामुख गर्ने हो ?’
‘ड्राइभर भए पनि सानोतिनो ड्राइभर होइन नि ट्राफिक भाइ । बालेन साहको ड्राइभर हुँ । त्यस्तै पर्यो भने तपाईंले मेरो होइन म तपाईंको चिट काटिदिन सक्छु । बुझ्नुभयो ?’
‘यस्तो धम्की नदेखाऊ भाइ । लौ आजलाई छोडेँ । भोलिदेखि पास लिएर हिँड्ने ।’
‘ए...धम्की दिएको बालेनको ड्राइभरलाई ? ड्राइभरलाई धम्की दिएको बालेनले सहन सक्दैन । अबको एक घण्टापछि हेर् के हुन्छ ।’
टिप्पणीहरू