एक पेग लेखाइ

एक पेग लेखाइ
सुन्नुहोस्

शनिबार बेलुका नगरपिता श्री बालेन साहको स्टाटस आएपछि नगर जल्न थालेको छ । उहाँको स्टाटस आउँदा अलि ढिलै भइसकेको थियो । त्यसो त बालेन साहको आगो बाल्ने स्टाटसहरू शुक्रबार र आइतबारबीच अलि बेलुकै आउने चलन छ । उहाँ आगो अक्सर बेलुकै मात्र बाल्नुहुन्छ । दिउँसो बाल्नुहुन्न । 

बालेन साहका कुनै एक पिएलाई मैले सोधेको थिएँ, ‘मेयर साब अक्सर बेलुकै मात्र यस्तो लेख्नुहुन्छ । किन हँ ? उहाँको बिचार अलि बेलुका बेलुकातिर मात्रै फुर्ने हो कि ?’

पिएले भने, ‘होइन । त्यस्तो खासै त केही होइन । शनिवार भयो कि बेलुका यसो एक दुई पेग लेखिहाल्ने बानी छ उहाँको ।’

‘के रे ? एक दुई पेग लेख्ने रे ? लेख्ने पनि पेगमा हुन्छ ?’ मैले नबुझेझैं गरी सोधेँ ।

‘हुन्छ, ’ पिएले भने, ‘अरुको त था’ छैन । मेयर साबको चाहिँ हुन्छ । उहाँ जति पनि लेख्नुहुन्छ, पेगमै लेख्नुहुन्छ ।’

‘उसोभए अस्ति सिंहदरवार जलाउनेवाला स्टाटस जो छ नि, त्यो कति पेगमा लेख्नुभएको रहेछ ?’

‘त्यो अलि लार्ज पेग प¥या जस्तो छ,’ पिएले भने, ‘तर पेग लार्ज–स्मल जे–जस्तो भए पनि त्यो लेखाइचाहिँ राम्रो हुनुपर्छ ।’ उनले कुरा टुंग्याए ।
 

टिप्पणीहरू