भाग्ने र मर्ने सेनाका हाकिमहरूको भरमार

भाग्ने र मर्ने सेनाका हाकिमहरूको भरमार

नेपाली सेनामा हाकिमहरू हराउने, भाग्ने, लुक्नेजस्ता काम पहिल्यैदेखि हुँदै आएको हो । त्यसैले अहिले डोल्पाका गुल्मपति हराएको घटना नयाँ हैन । मेजर विमला पण्डित कहाँ छन् ? यो प्रश्नको जवाफ न जंगी अड्डासँग छ, न त उनका परिवारसँगै । सेनाका हाकिमदेखि काठमाडौं ब्रम्हखेलस्थित उनका गाउँलेसम्मको एउटै ठहर छ, ‘झिल्केमिल्के स्वभाव थियो, केटीकै कारण केही तनाव पनि झल्किन्थ्यो । कोही महिलाको साथमा कतै बिन्दास भएर बसेका होलान् !’

हराउनु अघिल्लो दिन नन्दबक्स गणअन्तर्गतको गुल्मका सिपाहीहरूसँग भन्दै थिए, ‘माथि डाँडाबाट ड्रोनले रेकी गरेको छ, कुन दिन दुश्मनले व्यारेक हान्छ !’ यसो भनेको भोलिपल्टबाट बेखबर छन् । बाहिरबाट स्थानीय जडिबुटी र फलफूलले तयार पारिएका मदिरा व्यारेकमै ल्याउने, पिउने आदत थियो । अबदेखि रक्सी छाड्छु भन्दै सिगरेट पिउने लत बसालेका उनी भदौ १० गते आइतबार व्यारेकबाट नुहाई–धुवाई गरी मेकअपमा निस्किएका थिए । टाउकोमा तेल हाले, शरिरमा अत्तर छर्किए र त्यो अत्तर खल्तीमै हाले । डेटिङ हिँडेजस्तो शैलीमा निस्किएका उनी हराइरहेको योबेलासम्म विभागदेखि परिवारसम्मको अनुमान छ, ‘कतै न कतै रमाइलो गरेर बसिरहेको होला ।’

किनभने, उनको स्वभाव नै त्यस्तो थियो । उनलाई खोज्न खटाइएका विभिन्न टोलीलाई सेना प्रहरीले विस्तारै फर्काउने तरखर भैरहेको छ । नन्दबक्स र रामबाणसहित विभिन्न पल्टनबाट टोली परिचालित हुँदै आएको छ । यस काममा मानसिक रोग (डिप्रेसन) को औषधी सेवन गर्थे भनिन्छ । उनी भेटिएका छैनन्, तर खोज्न हिँडेको टोलीले एकजना महिलाको शव भेट्टाएको छ । एटिएमबाट पैसा निकालेर गाडी रिजर्भ गरेको हुँदा मर्न हिँडेका हुन् भन्ने कुरा कसैले पत्याउँदैनन् र जीवित नै रहेको अनुमान छ । पत्नीसँग दुई वर्षदेखि अलग्गै बस्दै आएको र ट्रयाक रेकर्ड हेर्दा पहिला पनि ड्युटीबाट भागेको भेटिएको छ । अत्यधिक मदिरा सेवन आदतजस्तै थियो । ४९ बेसिकका अधिकृत हुन् । यही बेसिकका एकजना खरिपाटीको स्विमिङ पुलमा डुबेर मरे । अर्काले पाकिस्तानको तालिममा आत्महत्या गरे । अर्का एकजना नेपालमै झुण्डिए । 

त्यसो त सेनाभित्र पदिक होस् वा सकल दर्जा नै किन नहुन्, भाग्ने, हराउने, लुक्ने घटना पुरानै हो । सशस्त्र द्वन्द्वकालमा गणपति अमिर बस्नेत बुटवलबाट भागेर भारत छिरी जोगी बने । पछि सेनाकै टोलीले समातेर ल्यायो । सशस्त्र द्वन्द्वकालमा गुल्मपति सञ्जोगसमशेर राणाको किस्सा रमाइलो छ ।सल्यानस्थित नरसिंह दलका मेजर थिए । अपरेशनका लागि भैरवनाथ गणका आधा, त्यहाँको आधा टोली भेला भएको थियो । माओवादीको हतियारधारी जत्था अनुमानभन्दा ठूलो संख्यामा आयो, उपियाँजस्तो । भैरवनाथका ३५ केजी बोकेर हिँड्ने चिप्ले किराजस्ता जवानको फूर्तिफार्ती फरक हुने नै भयो । साँझ शरिरको सामान र हतियारमात्रै लिएर रोलकाल चलिरहेको बेला डाँडातिरबाट ‘भटटट’ आवाज आउन थाल्यो । एकजना सिपाही सञ्जोगकै छेउमा ढले । स्कूलमा बस्ने टोलीसँग हतियारको अवस्था राम्रो हुँदा लडाइँ राम्रो भयो । तर, लड्नमाचाहिँ भैरवनाथ एक्लै पर्‍यो, सञ्जोगको टोली त्यहीँबाट तितरबितर भयो । 

अहिलेका युद्ध कार्य महानिर्देशक ताराध्वज पाण्डे पनि बर्दियामा गणपति हुँदा टोली एकातिर राखेर उछिट्टिएका थिए । पछि आफन्त पवन पाँडे सैनिक सचिव हुँदा रेकर्डबाट त्यो घटना हटाए । मेजर देवकोटा पनि फिल्ड छोडेर भागेकै हुन् । त्यसबेला ‘कालिमाटी काल्चे’ नामक अप्रेसनका निम्ति बर्दियाको हात्ती दमारमा सेनाको ६ वटा कम्पनी खटिएको थियो । ती कम्पनीलाई अप्रेसनका क्रममा हेलिकोप्टरले ठाउँ ठाउँमा छोडेको थियो । त्यसमध्ये सबुज दलका कर्णेल भट्ट राम्रोसँग लडे । उनलाई सल्यान नजिकै छाडिएको थियो । तर, हात्ती दमारमा छाडिएका ताराध्वजचाहिँ कता पुगे कुन्नि, भेटिएनन् । 

टिप्पणीहरू