यसरी शिला खोजेर के हुन्छ ?

यसरी शिला खोजेर के हुन्छ ?
सुन्नुहोस्

एउटा भनाइ छ, मान्छे लोभी हुञ्जेलसम्म ठगहरूले ठगिरहन्छन् ।  लोभले लाभ, लाभले विलाप भनेजस्तै लोभी जमातले ठगको संगत गर्छ र ठगले लोभ देखाइरहन्छ । 

नेकपा विभाजन भएपछि तीनथरीका कम्युनिष्ट पार्टी भए । अहिले ती पार्टी कोही सत्तामा छन् त कोही सडकमा । एकमनाको सरकार सनकमा गिराएपछिको यो परिणाम आज भोगिरहेका तीनै थरी पार्टी आ–आफ्ना डम्फू बजाउन व्यस्त छन्, जनताका नाममा । त्यसमध्ये नेकपा एमाले रानो हराएको माहुरीझैँ रन्थनिएको प्रतीत हुन्छ । उसले भर्खरै सिरहा पुगेर मदन भण्डारीलाई सम्झन भ्यायो । सर्रे अम्बासमा पुगेर भएभरका एमाले नेताहरूले सायद ती दिन सम्झे होलान् कि अबका बाँकी दिन ? 

गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनका अन्तिम क्षणतिर राजा ज्ञानेन्द्रलाई लक्ष्यित गर्दै दिने गरेका धम्कीका शब्दहरू म अहिले पनि सम्झन्छु । ग्य्राण्ड डिजाइनका कुराहरू र त्यसलाई खोलिदिने धम्की । सायद गिरिजाप्रसादले ती शब्द यसै भने वा साँच्चै केही डिजाइन थियो । जेहोस्, उनका धम्कीले केही काम गर्‍यो नै होला वा अरु नै कारणहरूले ज्ञानेन्द्रले नारायणहिटी छाडे । अथवा माओवादीका बन्दुकका डरले ज्ञानेन्द्रले राजगद्दी त्यागे । यी सबै कुरा रहस्यकै गर्वमा छन् । न गिरिजाप्रसादले पोल खोल्न भ्याए, न ग्य्राण्ड डिजाइनबारे सत्य कुरा बाहिर आयो । 

अहिलेको सरकारको नेतृत्व गरिरहेको पार्टीले भर्खरै एउटा अभियान शुरु गरेको छ । पार्टी रुपान्तरण वा जागरणका नाममा गरिएको त्यो एकप्रकारको गाउँफर्के अभियानजस्तै नै हो । पञ्चायतले गाउँफर्के अभियान चलायो, त्यसपछि अलिअलि मिलेर नै काम गरिरहेका कांग्रेस–कम्युनिष्टहरू लखेटिए, अन्ततः पञ्चायत कमजोर बन्यो । सत्तामा रहँदा अनेक जुक्ति फुर्छन् । त्यो बेला लाग्छ, अब हामी सर्वशक्तिशाली हुनेछौं । अहिले पनि त्यही अभ्यास भइरहेको छ ।

 आफ्नो हातमा भएको चिज गुमाएर त्यही चिज खोज्दै हिँड्नुको के अर्थ छ ? घरमा सुरक्षित रुपमा राखिएको भकारीको घान छरपष्ट पारेर सोहोर्दै हिँड्नुको के मज्जा हुन्छ ? 

एमालेले यसअघि मिशन ग्रासरुट अभियान चलायो । त्यसको परिणाम के भयो ? एमाले अझ कमजोर प्रमाणित भयो । आधाजतिले मात्र पार्टी सदस्यता नवीकरण गरेको पत्ता लाग्यो । मिशन ग्रासरुटले एमालेको रोगको डाइग्नोष्टिक त गर्‍यो तर रोग पत्ता लागे पनि यसको उपचार विधि र औषधि पत्ता लागेन । त्यही भएर ऊ यतिबेला सर्रे अम्बासतिर मन डुलाउँदै छ । 

नेकपा विभाजन भएलगत्तै मैले एउटा भविष्यवाणी गरेको थिएँ, नेपालमा उस्तै विचार र व्यवहार भएका तीन ठूला कम्युनिष्ट पार्टी टिक्दैनन् । र, अहिले पनि यो वाक्य दोहोर्‍याएर लेख्छु, अब लामो समयसम्म एमाले, माओवादी वा समाजवादी जे नाम दिए पनि तीनै वटा पार्टी अस्तित्वमा रहन सक्दैनन् । किनभने एमाले बैचारिकरुपमा स्खलित छ, उसले अझै पनि बहुदलीय जनवाद नै भनिरेहको छ तर अग्रगामी सोच अगाडि सारिरहेको छैन । माओवादी क्रान्तिको ज्वालामुखीबाट निस्केर आएको छ तर ऊ एकैचोटी खलाँतीबाट निस्केको फलामलाई पानी चाबेजस्तो भएर चिसिएको छ । नेकपा विभाजन हुँदा महत्वपूर्ण भूमिका खेल्ने र संविधानको रक्षाका लागि जेहाद छेड्ने नेकपा एकीकृत समाजवादी कुहिरोको कागजस्तो भएको छ । उसले न फेद राम्ररी समातेको छ न टुप्पो । 

राजनीतिमा विचार र व्यवहारको सन्तुलन मिल्यो भने मात्र सफलता प्राप्त हुन्छ । चाहे त्यो पार्टीमा होस् वा व्यक्तिमा । एउटा कुरा पक्का हो कि अब विरासत र इतिहासले मात्र कसैको राजनीति टिक्दैन । यसो हुँदो हो भने यतिबेला भारतमा गान्धीहरूकै सत्ता हुन्थ्यो र नेपालमा कोइरालाहरूकै हालीमुहाली । दश वर्षसम्म बन्दुकको बलमा सत्ता कब्जा गर्न तम्सिएको माओवादी शान्तिपूर्ण बाटोमा न आउने थियो न २०६४ सालको विरासत जोगाउन ऊ अहिले तलतल पुग्नु पथ्र्यो । यसो हुन्थ्यो भने न एमाले दुईतिहाइको सत्ताबाट ओर्लन्थ्यो न उसले सर्रे अम्बासको खोजी गर्नुपर्ने थियो । न त सत्तामै भए पनि माओवादीले कार्यकर्ता खोज्ने अभियान चलाउनुपर्ने थियो । 

एक जना पुराना माओवादी विद्यार्थी नेता (अहिले वकिल) ले भनेको सम्झन्छु, जनता लोभीपापी भएसम्म यस्तै प्रवृत्तिले घर गरिरहन्छ । उनले शुरुको प्रसंग कोट्याउँदै भनेका थिए, मान्छे लोभी हुञ्जेलसम्म ठगहरूले ठगिरहन्छन् । यसको अर्थ आजको हाम्रो राजनीतिको सिद्धान्त मान्छेहरूलाई उल्लु बनाऊँ र शासन गर भन्ने छ । उनको तर्कलाई आधार मान्ने र चर्को स्वरमा धेरैपटक एउटा कुरा भनिरहने हो भने त्यो स्थापित सत्य बन्छ । राजनीतिको यो शैली नेपालमा मात्र होइन, दक्षिण एसियामा नै चलेको छ । भारतमा मोदी र बंगलादेशमा शेख हसिनाहरूले चाहेको शासन चल्छ । पाकिस्तानको राजनीतिक उतारचढाव र श्रीलंकामा आएको आर्थिक संकट जनतालाई उल्लु बनाएर गरिने शासनशैलीको परिणाम हो । 

सत्तामा रहँदा जनता नदेख्ने र सत्ता बाहिर हुँदा दुःख देख्ने पुरानो रोग राजनीतिमा छ । र, पटकपटक चुनावको परिणामले रोगको संकेत गर्दा पनि उपचार नगर्ने हाम्रो राजनीतिको जटिलता हो । मिशन ग्रासरुटले नसुध्रिएको एमालेले चलाएको पुरानाहरूको खोजी अभियान र बिलाएका कार्यकर्ता खोज्दै गाउँ पसेको माओवादीको मनोदशा एउटै हो । आफ्नो हातमा भएको चिज गुमाएर त्यही चिज खोज्दै हिँड्नुको के अर्थ छ ? शक्ति संघर्ष र सत्ता संकटको मारमा मुलुकलाई पारेर जनताको भावनामाथि कुठाराघात गर्दै दुईतिहाइको सरकार टिकाउन नसकेर फेरि जनतामा जानु एउटा बहाना मात्र हो । आफ्नो घरमा सुरक्षित रुपमा राखिएको भकारीको घान छरपष्ट पारेर सोहोर्दै हिँड्नुको के मज्जा हुन्छ ? 

आजको राजनीतिको क्रिडाले जनतालाई सताउँदै लगेको छ  किनभने आफ्नो सत्ता र विरासत जोगाउने चिन्ताले नेपाली राजनीतिज्ञहरूलाई जति चिन्ता छ, त्यो भन्दा बढ्ता जनतालाई नानीहरूको फिस तिर्न नपाएको र आफ्नी आमाको उपचारको छ । तसर्थ, चाहे त्यो एमालेले चलाएको मिशन ग्रासरुट होस् र त्यस वरपरबाट ल्याइएका सर्रे अम्बास र अरु त्यस्तै ठाउँको खोजी र इतिहासतिर फर्कने प्रयास भकारी फुटाएर धान सोरेजस्तो मात्र हो । त्यस्तै, माओवादीले जनतासँग जोड्ने नाममा चलाएको अभियान त झन् कुन्युमा आगो लगाएर धानको शिला खोजेजस्तो हो । 

किनभने फुटेको भकारी र खोजेको शिलाले न बोरा भरिन्छ, न वर्षभरि खान पुग्छ । यसरी बेलाबेला चलाउने अभियान वा मिशन त केवल कार्यकर्ता इन्गेज गराउने सोचहरू मात्र हुन् । र, सत्ताको भोक वा विरासतले भत्भती पोलेर वर्तमानमा चल्मलाउने प्रयास मात्र हुन् । यसरी चालिएका कदमले न एमालेलाई अब सत्तामा फर्काउनेछ न माओवादीलाई । न कांग्रेसलाई युवासँग जोड्नेछ न समाजवादी केन्द्रलाई ।
 

टिप्पणीहरू