सेनापतिलाई विशेष अधिकार सुम्पिइयो

सेनापतिलाई विशेष अधिकार सुम्पिइयो

सेनाले ‘मानार्थ बढुवा र विशेष बढुवा सिफारिस निर्देशिका, २०७६’ लागु गर्ने भएको छ । बाझिएका केही व्यवस्था संशोधनपश्चात् निर्देशिका कार्यान्वयनमा गएको छ । भदौ १३ गते प्रभुराम शर्माको अध्यक्षतामा बसेको बैठकले संशोधित निर्देशिकालाई स्वीकृति दिएको सेनाले जनाएको छ । ‘सैनिक सेवा नियमावली, २०६९ तथा मानार्थ बढुवा र विशेष बढुवा सिफारिस निर्देशिका, २०७६ मा बाझिएका केही व्यवस्था’ छलफलका लागि नीति तथा योजना निर्देशनालयले बैठकमा पेश गरेको थियो । 

उक्त निर्देशिकामा भएको ‘शर्तबमोजिमको तालिम पूरा गरेको’ प्रावधानलाई यथावत् राखिएको छ भने ‘तर, सकलदर्जाले सम्पादन गरेका कार्यले राष्ट्र र सैनिक संस्थाको हितमा पुर्‍याएको विशेष योगदानको मूल्यांकन गरी बढुवा समितिले विशेष बढुवाको लागि गरेको सिफारिस उपयुक्त लागेमा प्रधानसेनापतिले सरकारसमक्ष सिफारिस गर्न सक्नेछ’, थप गरिएको छ । 

त्यस्तै, ‘सैनिक स्वास्थ्य सेवा समूहका प्राविधिक पदिक तथा बिल्लादारको सरुवा तथा बढुवा निर्देशिका, २०८०’ फिर्ता पठाइएको छ । स्वास्थ्य महानिर्देशनालयले पेश गरेको निर्देशिकालाई अन्तिम स्वरूप दिएर पि.एस.ओज् समितिको बैठकमा पुनः पेश गर्ने निर्णय गरिएको छ । सैनिक मेडिकल कोरअन्तर्गत कार्यरत प्राविधिकतर्फका पदिक तथा बिल्लादारहरूको एकद्धार प्रणालीबाट वृत्तिविकास गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै महानिर्देशनालयले काज, सरुवा तथा बढुवा प्रक्रियालाई थप व्यवहारिक, व्यवस्थित, पारदर्शी तथा समयाअनुकूल बनाउनका लागि सो प्रस्ताव गरेको थियो । 

तर, त्यसमा थप राय–सुझाव समावेश गर्नुपर्ने र काज तथा सरुवा प्रक्रियामा देखिएका समस्या, त्यसले संगठन र कार्यसम्पादनमा पार्ने प्रभावबारे थप स्पष्ट रूपमा खुलाउनुपर्ने भन्दै बैठकले पुनरवलोकनका लागि पठाएको हो । 

पि.एस.ओजको बैठकमा बलाधिकृत सरोजप्रताप राणा, बलाध्यक्ष सीताराम खड्का, महानिर्देशक ताराध्वज पाण्डे, व्यवस्था नीति तथा योजना विभागका प्रमुख महानिर्देशक अशोकराज सिग्देलको उपस्थिति थियो । त्यस्तै, सैनिक तालिम महानिर्देशनालयका सन्तोषकुमार ढकाल, प्रबन्धरथी विभागका निरीक्षणाधिकृत उपरथी योगराज शर्मा, सैनिक ईण्टेलिजेन्स महानिर्देशनालयका सुदर्शन सिलवाल पनि बैठकमा सहभागी थिए । 

सैन्य लाइनबाट भागे सैनिक 

यसबीच सैनिक मिलन बाँस्तोला सैन्य लाइनबाट भागेका छन् । नम्बर २ तालिम केन्द्र, सैनामैना ब्यारेक, रूपन्देहीमा कार्यरत उनी गत भदौ ३ गतेदेखि सञ्चालन भइरहेको सि.सं. १४ सैन्य आधार तालिममा थिए । अस्थायी ब्याच नम्बर ४८३४० भएका उनी भदौ १३ गते दिउँसो साढे ४ बजे भागेका हुन् । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ का फणिन्द्रनाथ बाँस्तोलाका नाति एवं धु्रवका छोरा उनलाई सेनाले छ्याप्छ्याप्ती खोजिरहेको छ ।

टिप्पणीहरू