जर्साबहरुले पत्याउन थाले आफ्नै अस्पताललाई

जर्साबहरुले पत्याउन थाले आफ्नै अस्पताललाई

नेपाली सेना तथा तिनका आश्रित परिवारको स्वास्थ्योपचारका लागि छाउनीमा स्थापित वीरेन्द्र सैनिक अस्पतालको सेवासुविधा छिटोछरितो भएपछि भीआईपीहरू उपचारका लागि त्यतै धाउन थालेका छन् । 

सन् १९९० मा बनेको उक्त अस्पतालले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर बेलाबखत विभिन्न स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ भने निःशुल्क डायलायसिस सेवा पनि उपलब्ध छ । ६३५ शय्याको अस्पताललाई ९०० शय्याको बनाउने प्रक्रिया अगाडि बढेको छ । अस्पतालमा हाल ३५० चिकित्सक कार्यरत छन् । पूर्वरथी बालानन्द शर्माकी श्रीमती हाल यही अस्पतालमा उपचाररत छिन् । न्यूरोको समस्या देखिएकी उनी शिथिल अवस्थामा रहेकाले आइसीयुमा उपचारमा भइरहेको छ । 

उनलाई मुलुककै उत्कृष्ट मानिएको मेडिसिटी अस्पतालबाट ल्याएर यहाँ भर्ना गरिएको हो । त्यस्तै, पूर्व प्रधानसेनापति रुक्माङद कटवालले पनि सैनिक अस्पतालमै हप्ताको दुई पटक डायलाइसिस गराउँदै आएका छन् । हाल स्वास्थ्य अवस्थामा निकै सुधार आएका उनी आफैं हिँडडुुल गर्नसक्ने भएका छन् । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हालै सोही अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गराएका छन् । 

पूर्व प्रधानसेनापति प्यारजंग थापा, राजेन्द्र क्षेत्रीलगायत पनि उपचारका लागि सैनिक अस्पताल नै पुग्ने गरेका छन् । यस अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सञ्चालनमा ल्याएको छ । सेवा लिन दिनभर लाइन लाग्नुपर्ने बाध्यता हटेको छ । आधा घण्टामै औषधि पाइन्छ । 

बिरामी कुरुवाका लागि अस्पतालले छुट्टै बसोबासको व्यवस्थापनसमेत मिलाएको छ । नियमित सरसफाइ गर्न थालिएकाले अस्पताल चिटिक्क परेको छ । पहिलेभन्दा अस्पताल धेरै राम्रो भएको एक सैनिकले बताए । 

सैनिक अस्पतालमा विगतको तुलनामा धेरै सुधार भए पनि सानातिना कमजोरीमा भने ध्यान पु¥याउन आवश्यक देखिन्छ । एक साताअघि एक जना गर्भवतीको ज्यान गयो । सिपाही तहमा कार्यरत उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । मरेको बच्चालाई जन्म दिएकी उनको बेलैमा ध्यान पुर्‍याउन ​​​​​​नसक्दा प्राण गुम्यो ।

टिप्पणीहरू