अचम्मैसित सहसचिव अलप

अचम्मैसित सहसचिव अलप
सुन्नुहोस्

नेपाल सरकारका एक सहसचिव बिना जानकारी १६० दिनदेखि सम्पर्कविहीन भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका सहसचिव डा.कमलराज गैरे आफूखुशी गैरहाजिर भएका हुन् ।

गत वैशाख २ गतेदेखि उनी कार्यालयमा छैनन् । पछिल्लो समय भुटानस्थित पुनाख डेजोङ भन्ने ठाउँमा खिचेको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । सोही फोटोका आधारमा गैरे विदेशमा रहेको तथ्य फेला परेको हो । बिदा स्वीकृत नगराई चार महिनादेखि अनुपस्थित भएपछि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।

स्रोतका अनुसार उनलाई ३५ दिनको समयसहित एकपल्ट सफाइ पेश गर्न मौका दिइएको छ । निजामती सेवा ऐन, २०४९ अनुसार बिना जानकारी कुनै सरकारी कर्मचारी लगातार ९० दिन पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेमा सफाइको मौका दिने र स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही प्रक्रिया अघि बढाउन बाटो खुला छ । ‘करिब–करिब कारबाहीमा जाने स्थिति हो । ऐनअनुसार प्रक्रिया अघि बढिसकेको छ,’ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयका सचिव र कर्मचारीले पनि गैरेको फेसबुकबाटै विदेशमा रहेको थाहा पाएको बताइएको छ । 

गैरेले हालसम्म मन्त्रालयलाई स्पष्टीकरणको जवाफ पनि फर्काएका छैनन् । निजामती सेवा ऐनअनुसार चित्त बुझ्दो प्रष्टीकरण नदिएमा वा सम्पर्कमा नआएमा जागिरबाटै बर्खास्त गर्न सकिने व्यवस्था छ ।
 

टिप्पणीहरू