इजरायल आक्रमणमा मारिएका नेपालीको शव ल्याउन विमान तयारी अवस्थामा

इजरायल आक्रमणमा मारिएका नेपालीको शव ल्याउन विमान तयारी अवस्थामा
सुन्नुहोस्

हमास विद्रोहीको आक्रमणमा इजरालयमा मारिएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन विमानलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने सरकारी निर्णय छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

हमासको आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन तेलअभिभस्थित नेपाली दूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गर्ने निर्णय पनि आजको बैठकमा गरिएको छ । एक जना विद्यार्थीको अवस्था अझै अज्ञात छ । 

बैठकले त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित रुपमा स्थानान्तरण गर्ने उपाय अवलम्बन गर्ने भनिएको छ । आज बिहान ९ बजे परराष्ट्र मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार शंकरदास बैरागी, गृहसचिव दिनेश भट्टराई, परराष्ट्र सचिव भरतराज पौड्यालको उपस्थिति थियो । 

त्यसैगरी नेपाली सेनाका रथी सरोजप्रताप राणा, उपरथी ताराध्वज पाण्डे, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललगायत पनि बैठकमा पुगेको बताइन्छ । हिजो बिहानसमेत परराष्ट्र मन्त्रालयमा सोही विषयमा बैठक डाकिएको थियो ।
 

टिप्पणीहरू