अदालतले होइन भनेपनि कुलो र अदुवामा भ्रष्टाचार भएकै छ : अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषबाट विभिन्न मितिमा भएका फैसलामध्ये दुई वटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरिएको जनाएको छ ।
गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले काम गरेको र निर्माण रकम हिनामिना गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
अदुवाको बीउ खरिदमा १३ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले स्याङ्जाको गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतको गत फागुन २२ गतेको फैसलाले उनीहरुलाई पूर्ण रुपमा सफाई दिएको हो ।
यस्तै, मुगुको सोरु गाउँपालिका–९, स्थित सिड्डीखोला कुलो निर्माणको रकम हिनामिना गरेको भन्दै तत्कालिन जिल्ला प्राविधिक कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाउपर मुद्दा दर्ता गरिएको थियो ।
तर, विशेष अदालतको गत असार २६ गतेको फैसलाबाट प्रतिवादीहरुले सफाई पाएका हुन् । विशेष अदालतको दुवै फैसलाप्रति असन्तृष्ट अख्तियार त्रुटिपूर्ण फैसला बदर गर्नुपर्ने माग राख्दै सर्वोच्च पुगेको हो ।
टिप्पणीहरू