बाहिर गाली,भित्र ताली: अर्थमन्त्रीको यसपालि
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापनबीच तालमेल मिलाउनुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज बिहान दुई घन्टासम्म चलेको एसएमटी (सिनियर मेनेजमेन्ट कोर टीम)को बैठकमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
अर्थमन्त्री पौडेलले करको दायरा विस्तार,बक्यौता असुली,कर प्रशासनको प्रभावकारिता,अन्तरमन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सृजना गर्न खोजिएका चुनौतीलगायतका पक्षमा ध्यान दिन कर्मचारीहरुलाई सजग गराउनु भयो । साथै, कर संकलनको 'सिष्टम ब्रेक' गर्न खोज्नेलाई कानुनबमोजिम हदैसम्मको कारवाही गर्ने उहाँको चेतावनी छ ।
मंसिर १ गते कर दिवसको अवसरमा लाजिम्पाटस्थित कर कार्यालयमा आयोजित विशेष समारोहमा उहाँले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार कर संकलनमा कर्मचारीहरु चुकेको आशयसहित खिन्नता व्यक्त गर्नुभएको थियो । औपचारिक समारोहमा राजनीतिक नेतृत्वबाट 'धन्यवाद'को अपेक्षा गरेका सयौं कर्मचारी अर्थमन्त्रीको अभिव्यक्तिबाट निराश भए । कर दिवसको सुखद् अवसरमा अर्थमन्त्रीबाट प्रोत्साहन र हौसलाको अपेक्षा राखेका उनीहरुका लागि त्यही विषय चित्त दु:खाई बन्न पुग्यो ।
तर, आज बन्द कोठामा एसएमटीको बैठकलाई अर्थमन्त्री पौडलले सम्बोधनको शुरुमै भन्सार तथा कर प्रशासनका पदाधिकारीलाई १६ प्रतिशत राजस्व संकलन वृद्धि गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कर दिवसको उपलक्ष्यमा व्यक्त असन्तुष्टि आज सच्याइएको रुपमा कतिपय कर्मचारीको बुझाई छ ।
मन्त्री पौडेलले ३० प्रतिशत राजस्व संकलनको लक्ष रहे पनि १६ प्रतिशतमा चित्त बुझाउने ठाउँ रहेको भन्दै कर प्रशासन धन्यवादको पात्र रहेको बताउनुभयो । ‘आखिर तपाईंहरुको प्रयासले नै यो वृद्धि हुन पुगेको हो ।’
मंसिर १ गतेको समारोहमा भने उहाँले सामान्य हिसाबले कार्यसम्पादन गरेर राजस्वको लक्ष्य भेट्न सम्भव नहुने बताउँदै कर प्रशासनका कर्मचारीप्रति घुमाउरो आक्रोश जनाउनु भएको थियो । कर संकलनमा केन्द्रित हुन कर प्रशासक र सोसँग सम्बन्धित निकायलाई निर्देशन दिँदै अगाडि भन्नुभएको थियो, 'राजस्व संकलन जसरी हुनुपर्ने हो, त्यो भएको मैले पाएको छैन । कार्य सम्पादन र लक्ष्य एवं प्रगतिको विगत आर्थिक वर्षसँग तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक छैन ।'
२०८० असोज र ०८१ असोजको कार्यसम्पादन, सूचकहरुको प्रगतिको अवस्थाबारे मूल्यांकन गर्दा प्राय: परिसूचक गत वर्षको यसै अवधिजति पनि प्रगति भएको उहाँको भनाई थियो । बजार अनुगमनको संख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्यून रहेको पनि अर्थमन्त्रीले सुनाउनुभयो ।
बक्यौता असुली, बेरुजु फछ्र्यौट, आन्तरिक, प्रशासनिक र पुनरावलोकनको प्रगति पनि सन्तोषजनक छैन भन्दै अर्थमन्त्री पौडेलको असन्तुष्टि रह्यो । त्यस दिन कार्यक्रममा उपस्थित एकजना सहसचिव मन्त्री पौडेलको आजको प्रस्तुति सुनेर अचम्ममा परेका छन् ।
एक हप्तासम्म चल्ने कर सप्ताह भोली विभिन्न कार्यालयका उत्कृष्ट करदातालाई सम्मान गरी समाप्त हुँदैछ ।
टिप्पणीहरू