दुर्गा प्रसाइको टिप्पणी - केपी ओलीभन्दा प्रचण्ड धेरै स्ट्याण्डर्ड

दुर्गा प्रसाइको टिप्पणी - केपी ओलीभन्दा प्रचण्ड धेरै स्ट्याण्डर्ड

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ 'मार्सी'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक चरित्र नदेखिएको बताएका छन् । 

आफूमाथि कालोमोसो दलिएको भोलिपल्ट आज बिहान पत्रकार सम्मेलन गर्दै उनले ओली आफ्नो हजुरबा भएपनि राजनीतिक चरित्र नदेखिएको टिप्पणी गरेका हुन् । प्रसाईंले राजनीतिक चरित्रका हिसाबले ओली भन्दा प्रधानमन्त्री प्रचण्ड धेरै माथि रहेको समेत बताए । 

देश सक्कियो भन्दा आफूलाई मोसो दलिएको भन्दै उनले भने, तपाईंभन्दा त धेरै स्ट्याण्डर्ड हुनुहुँदो रहेछ प्रचण्ड । प्रचण्डको विषयमा पनि बोलिएको थियो नि, तर आजसम्म प्रचण्डले जवाफ फर्काउनुभएको छैन । यसैबाट थाहा हुन्छ राजनीतिक चरित्र भएको मान्छे त प्रचण्ड नै देखिए नि त आज, नारायणकाजी श्रेष्ठहरु नै देखिएन नि । यस्तो पनि राजनीति हुन्छ ? गणतन्त्रमा बोल्न नपाउने ?' 

त्यसक्रममा उनले देश बचाउन युवाहरु आन्दोलनमा उत्रनुपर्ने बताए । आजैदेखि देशभर आन्दोलन गर्न अपील गर्दै प्रसाइले युट्युबरहरुलाई पनि सहभागी हुन आग्रह गरे । मूलधारका मिडियाले देश बचाउन नसक्ने उनको टिप्पणी छ ।  

हिजो कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलन गर्न पुगेका प्रसाईंलाई केही युवाले मोसो दलेका थिए । उक्त घटनापछि उनले त्यसमा एमाले कार्यकर्ताको संलग्नता रहेको बताएका थिए । पछि एमाले नेता महेश बस्नेतले युवासंघका कार्यकर्ताले मोसो दलेको स्वीकार गर्दै प्रसाईंलाई आफूहरुको क्षमता ननाप्न सार्वजनिक चुनौती दिएका थिए । 

त्यसको जवाफमा प्रसाईंले भने, ‘देश सिद्धियो भन्दा मलाई कालोमोसो दलियो, सफल भएछन् रे ! शुभकामना छ । महेश दाइलाई त झन् बढी शुभकामना दिन्छु, मलाई कुनै आपत्तिको कुरा होइन, तर महेश बस्नेतलाई म के भन्छु भने– यो तरिकाले तपाईंको राजनीति कहाँ जान्छ ?'

टिप्पणीहरू