दशैंमा घर जाने सडकको अवस्था दयनीय

दशैंमा घर जाने सडकको अवस्था दयनीय

भोलिदेखि दशैं शुरु हुँदैछ । राजधानी र ठूला शहरमा रहेका सर्वसाधारण कम्तीमा आगामी फूलपातीको दिनसम्म आफ्नो थातथलो पुग्ने तयारीमा छन् । तर, मुलुकभरका राजमार्ग र सडकको दूरावस्थालाई हेर्दा ‘दशैं यात्रा’ सहज र सुरक्षित हुने देखिँदैन । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारीलाई जुनसुकै रुटमा जानसक्ने गरी परमिट (इजाजत) खुला गरेको छ । 

योसँगै दशैंमा गाउँघर फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा विभिन्न नाका भएर बाहिरिने यात्रु र सवारीको संख्या बढेको छ । तर, दशैं लाग्दासम्म अधिंकाश राजमार्ग, सहायक राजमार्ग र सडकमार्गहरु भने मर्मत भएका छैनन् । 

दशैंमा काठमाडौं उपत्यकाबाट मात्रै २० देखि २५ लाखको हाराहारीमा सर्वसाधारण बाहिरिने अनुमान छ । यस्तै, विभिन्न सहरमा बसेकाहरु पनि गाउँघर फर्किने भएकाले दशैंमा ठूलो संख्यामा यात्रुको आवगमन हुन्छ । 

टीका लगाउनका लागि पनि त्यत्तिकै संख्यामा यात्रुहरु एक गन्तव्यबाट अर्को गन्तव्य पुग्छन् । तर, सामान्यभन्दा धेरै सवारीसाधन र तिनमा सवार यात्रुहरु चलायमान हुन आइसक्दा पनि राजमार्गको खाल्डा पुर्न तीव्रता दिइएको छ । 
मुलुकभरका सडक र मार्गहरुको अवस्था वर्षातका कारण दयनीय छ । कतिपय स्थानका सडकमा पहिरो खसेको छ भने कतिपय मर्मत नगरी सवारी चलाउन नसकिने अवस्थामा छ । यता, कतिपय स्थानमा बाढीले सडकको पुल बगाएर समस्या हुँदा कतिपय सडक सञ्चालनमा रहेपनि खाल्डाखुल्डीका कारण जोखिम बढेको छ । 

गत वर्ष दशैं टीकाका दिन नुवाकोटको विदुर नगरपालिकास्थित प्रदेश ३–०१–०२३ च ९०३८ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका थिए । एकै परिवारका उनीहरुमध्ये तीन जनाको अवस्था जटिल भएको थियो । त्यसको अघिल्लो वर्ष फूलपातीका दिन मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गयो । करिब ४५ यात्रु सवार बस भिरालो कच्ची बाटोबाट करिब दुई सय मिटर तल खस्दा ३२ जनाको मृत्यु भएको थियो । 

सोही अवधिमा कास्कीको पोखरामा भएको जीप दुर्घटनामा आठ जनाको निधन हुँदा एक जनाको भने ज्यान जोगिएको थियो । वर्षेनी चाडपर्वको समयमा सवारी दुर्घटनामा परेर अधिंकाशले आफ्नो ज्यान गुमाउँदै आइरहेका छन् । दशैं–तिहार मनाउन आफ्नो घर फर्किएकाहरुले बीच बाटोमै दुर्घटनामा परेर ज्यान गुमाउँदा पूरा गाउँघर नै शोकमा डुब्ने गरेको छ । 

सडकको दयनीय अवस्था, थोत्रा, पुराना सवारीसाधन र कोचाकोच यात्रुका लागि दशैंले दशा नित्याउने गरेको विगतका घटनाले पुष्टि गर्छ । सरकारले गत सोमबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ त खोलेको छ ।  

तर, जहिल्यै टिकट अभावका कारण यात्रुहरु दशैं मनाउन गाउँघर जाँदा समेत झुण्डिएर, कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ । अर्काेतिर, अवस्था ठीक नभएको गाडी चलाउँदा तथा चालकको लापरबाहीका कारण दुर्घटना हुने जोखिम पनि उत्तिकै रहिआएको छ । 

अहिले काठमाडौंका विभिन्न नाका जोड्ने सडकको अवस्था बिजोक छ । उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार गर्न चासो नदिइँदा नाकामै यात्रुहरु लामो जाममा बस्नुपर्ने समस्या बढेको छ । त्यसमाथि वर्षातका कारण ती सडकमा खाल्डा थपिएका छन् । तर, समन्वय र आपसी समझदारीसहित सम्बन्धित निकायहरुले नागरिकको सास्ती हटाउन पहल नगर्दा सवारी चलाउन समेत निकै मुश्किल हुने गरेको छ । 

सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेल राजमार्गका सडकमा परेका खाल्डा पुर्ने र पहिरो हटाउने काम धमाधम भइरहेको दाबी गर्छन् । तर, लगातार पानी परिरहेकाले धेरै सडकमा खाल्डा टाल्ने काम अलपत्र परेको उनले बताए । 

‘पानी परिरहेकै अवस्थामा सडक मर्मत गर्न सकिन्न, तर सम्भव भएसम्मका सडक मर्मत भइरहेका छन्,’ उनले भने ।

टिप्पणीहरू