यी भिआईपीबाट नेपालले के सिक्ने ?
विश्वका झण्डै दुई सय राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने र ती मुलुकमा शान्ति कायम गराउन सेनासमेत प्रयोग गर्न सक्ने स्वतन्त्र निकायका रूपमा दोस्रो विश्वयुद्धपछि अस्तित्वमा आएको हो, संयुक्त राष्ट्रसंघ (युएन) । त्यसका शक्तिशाली महासचिवलाई एकचोटी स्वागत गरिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसपालि पुनः त्यस्तै अर्को अवसर प्राप्त हुँदै छ ।
प्यालेष्टिनी अतिवादी समूह हमासले इजरायलमाथि गरेको आक्रमण र त्यसले निम्त्याएको दुईपक्षीय युद्धका कारण पूर्वनिर्धारित भ्रमण स्थगित गराएका एन्टोनियो गुटेरेस कार्तिक १२ गते नेपाल आइपुग्ने निश्चित भएसँगै प्रधानमन्त्रीका रूपमा युएनका महासचिवलाई दुईचोटी स्वागत गर्ने दुर्लभ अवसर प्रचण्डलाई मिल्न लागेको हो ।
बहुदल आएपछि नेपालमा युएनको महासचिव तहबाट दुईपटक भ्रमण भैसकेको छ । २०५७ साल फागुन २९ गते सोमबार कोफी अन्नानले तत्कालीन राजा वीरेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्नेगरी भ्रमण भएको थियो । उनी नेपाल यात्रा सकेर बंगलादेशको राजधानी ढाका गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएर सरकार बनाएपछि विश्वस्तरबाट भएको पहिलो उच्चस्तरीय भ्रमण चैं अर्का महासचिव बान कि मुनको थियो । मुन चार देशको भ्रमणका क्रममा भारतको नयाँदिल्ली हुँदै २०६३ कार्तिक २७ गते शुक्रबार काठमाडौँ ओर्लिएका थिए । यी दुवै महासचिव संयुक्त राष्ट्रसंघको विशेष विमानबाट सुरक्षा दस्तासहित नेपाल आएका हुन् ।
तर, यसपालि गुटेरेस विशेष विमान र सुरक्षा दस्तासहित नभई ७–८ जनाको सानो टोलीमा व्यावसायिक उडानबाट काठमाडौँ आउँदै छन् । पुरानो भ्रमण तालिकाअनुसार २६ गते शुक्रबार १३ अक्टोबरका दिन कतार एयरवेजको उडान नं. क्युआर ६४६ मा साँझ पौने ५ बजे काठमाडौँ आइपुग्ने तयारी थियो । तीनदिने भ्रमण सकेर उनी १६ अक्टोबर सोमबार बिहान चाइना एयरलाइन्सको उडान नम्बर सिए–४३८ बाट छङ्तु हुँदै चीन प्रस्थान गर्दै थिए ।
त्यसक्रममा उनका चारजना सुरक्षाकर्मी मात्रै नेपाल आउने तालिका बन्यो । रोजिलियो भिलालुज र मार्को पाल्जेभिक (यी दुवै अमेरिकन होइनन्) १० अक्टुबरकै दिन एयर इण्डियाको उडान नम्बर एआई २११ मा राति साढे ८ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम थियो भने अरु दुई जना महासचिवसँगै आउने तय भएको थियो । ती सुरक्षाकर्मीसँगै हतियार ल्याउने अनुमतिका लागि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय गौचरलाई जानकारी गराइसकेको छ । पत्रमा ती हतियार भन्सारको लकरमा सुरक्षितसाथ डिपोजिट गरेर राख्ने र महासचिव आउने केही समयअघि मात्रै निजहरूलाई उपलब्ध गराउने अनि महासचिव फिर्ता जाँदा सँगै लैजानेगरी अनुमति दिने असोज २२ गते सचिवस्तरबाट निर्णय भएको उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको विदेशस्थित मिसनमा शान्तिसेना खटाउने राष्ट्रको हिसाबले नेपाल दोस्रो मुलुकमा पर्छ । त्यसकारण उसले नेपाललाई विशेष प्राथमिकता दिँदै आएको छ । इजरायल युद्धले विश्व तनावमा रहेको बेला गुटेरेसको भ्रमण नरोकिने स्थिति बन्नुले पनि त्यसको पुष्टि हुन्छ । अर्कोतिर, राष्ट्रसंघको महासचिवजस्तो शक्तिशाली व्यक्ति बिना तामझाम नेपाल आउँदै छन्, जुन आफैँमा रोचक त छ नै त्यत्तिकै अर्थपूर्ण पनि छ । मितव्ययिताको चर्को नारा लगाउने तर राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च तहबाट हुने भ्रमणमा मात्र नभई एकजना मन्त्री विदेश जाँदासमेत ठूलो लावालस्कर लाग्ने खोक्रे चलन छ नेपालमा ।
अहिले अर्थतन्त्र डामाडोल भएकाले बजेटले साधारण खर्च धान्न पनि मुश्किल भएको भन्ने चर्चा चलिरहँदा विदेश घुम्ने तर राम्रा कुरा कहिल्यै नसिक्ने नेपाली नेताले राष्ट्रसंघका यी महासचिवको भ्रमणबाट केही सिक्लान् त ? महासचिव गुटेरेसलाई नेपालमा स्वागत गर्दै गर्दा प्रश्न यो पनि त छ ।
टिप्पणीहरू