राष्ट्रसंघ प्रमुख अन्तिममा किन रोकिए ?

राष्ट्रसंघ प्रमुख अन्तिममा किन रोकिए ?
सुन्नुहोस्

दशैंलगत्तै विश्व राजनीतिक रंगमञ्चसँगै क्षेत्रीय र राष्ट्रिय घटनाक्रममा एउटा तरंग उत्पन्न हुँदैछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेश नेपाल आउन लागेकै कारण यस्तो ठूलो चाडमा पनि सांसदहरूलाई छुट्टी छैन । वर्षे अधिवेशन जारी राखिएको छ । 

पूर्वनिर्धारित तालिकाअनुसार असोजको अन्तिम साता उनी नेपाल आउने कुरा थियो । तर, इजरायलमा भएको हमास आक्रमण, त्यसबाट नेपालसमेत शोकमा डुबेको ‘स्थितिलाई मध्यनजर गर्दै’ तालिका संशोधन भयो र कात्तिक १२ गते नेपाल आउने तय भएको छ ।

गुटेरेशको यो भ्रमणलाई विश्व राजनीतिक रंगमञ्चले विशेष अर्थसहित हेर्दैछ । किनभने, महासचिवले चीनलाई महत्व दिने कुरा आफैंमा पश्चिमा मुलुकका निम्ति पीडादायी विषय हुने गर्छ । त्यसमाथि उनी चीन छिर्ने कुराको अर्थ सानो रहँदैन । यसबीच चीनले अगाडि सारेको विश्वस्तरीय महत्वाकांक्षी परियोजना बिआरआई र अमेरिकाको एमसिसी हाराहारीमा अगाडि बढिरहेको छ । राष्ट्रसंघीय महासचिव नेपालबाट चीन पुग्ने र भोलिपल्ट त्यहाँ बिआरआईसम्बन्धी सम्मेलन हुने कुरा सानो संयोग मात्रै थिएन । नत्र, पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार, उनी १६ तारिख, अर्थात २९ गते चीन पुग्थे । त्यसबेला बिआरआई सम्मेलन (अक्टोबर १७–१८) चल्नै लागेको हुन्थ्यो । सम्भवतः गुटेरेश त्यसमा प्रमुख अतिथि बनाइन्थे, तर भ्रमण तालिका पछाडि सरेकोे छ । हुन सक्छ पश्चिमा मुलुकहरू रुष्ट हुने कारण उनले इजरायल–हमास युद्धको बहानामा बिआरआई छलेका हुन् ।

त्यसो त चीन राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र हो । त्यसमा अमेरिकासहित ब्रिटेन, रुस र फ्रान्सको उपस्थिति हुने गर्दछ । अमेरिकाका निम्ति गुटेरेशको यो भ्रमण किन पनि सह्य नहुन सक्छ भने, राष्ट्रसंघको मुख्यालय उसको देशमा छ । त्यसको कूल वार्षिक बजेटको २२ प्रतिशत हिस्सा उसैले व्यहोर्दै आएको छ, जुन रकम ६७ करोड डलरभन्दा बढी हुन्छ । यस्तो स्थितिमा राष्ट्रसंघीय महासचिवले चीनलाई महत्व दिनु र उसले सञ्चालन गरेको बिआरआईमा सहभागी हुनु निश्चयनै सुखद् विषय नहुनसक्छ । पृष्ठभूमिका हिसाबले गुटेरेश पोर्चुगलका पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता पनि हुन् । 

यता नेपाललाई दुई कारण यो भ्रमणले तरंगित पार्दैछ । मुख्य कारण हो, १४ वर्षपछि राष्ट्रसंघका महासचिवको भ्रमण हुनु । पहिलोपटक सन् १९५९ मार्च १६ मा तत्कालीन महासचिव तथा स्वीडेनका अर्थशास्त्री ड्याग ह्यामर्सोल्डले भ्रमण गरेदेखि पाँच महासचिव आइसकेका छन् । गुटेरेश भ्रमणको पुरानो तालिकाअनुसार, उनी असोज २६ मा काठमाडौं आइपुग्ने र संयुक्त संघीय सदनलाई संबोधन गर्ने गरी असोज २७ गतेको मिति तय भएको थियो । उनी आउने समयमा परिवर्तन भएपछि गर्नुपर्ने काम सिध्याइसकेको संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरिएको छैन ।

उनी नेपाल आउने दिन, अर्थात् कात्तिक १२ गते नेपालको ठूलो चाड दशैं विसर्जित हुने कोजाग्रत पूर्णिमाको भोलिपल्ट पर्छ । त्यो अवस्थामा संसदको संयुक्त बैठक राखिएको छ । संसदको अलग्गै बैठक बोलाएर महासचिवको संबोधन गराउनुभन्दा चालु अधिवेशनलाई नै लम्ब्याउनु उपयुक्त हुने नेपालको संसद प्रशासनले राय दिएको छ । 

टिप्पणीहरू